
काठमाडौं। वैशाखमा विद्युतीय माध्यमबाट हुने भुक्तानी केही घटेको छ। लोकप्रिय विद्युतीय भुक्तानी माध्यमहरु कनेक्ट आइपीएस र इन्टरनेट बैंकिङको कारोबार संख्या र भुक्तानी घटेको छ।
वालेट र क्यूआर कोडबाट हुने कारोबार संख्या र भुक्तानी भने बढेको छ। मोबाइल बैंकिङको भने कारोबार संख्या बढ्दा भुक्तानी भने घटेको छ। राष्ट्र बैंकका अनुसार वैशाखमा कनेक्ट आइएपीएसबाट ३१ लाख १५ हजार बढी कारोबारबाट दुई खर्ब ५९ अर्ब रुपैयाँ भुक्तानी भएको छ। चैतमा कनेक्ट आइपीएसबाट ३६ लाखभन्दा बढी कारोबारबाट दुई खर्ब ९१ अर्ब रुपैयाँ भुक्तानी भएको थियो।
इन्टरनेट बैंकिङको हकमा दुई लाख ५२ हजार भन्दा बढी कारोबारबाट ११ अर्ब ९१ करोड रुपैयाँ भुक्तानी भएको छ। चैतमा दुई लाख ७४ हजार वटा कारोबारबाट १३ अर्ब रुपैयाँ भुक्तानी भएको थियो।
यस्तै, मोबाइल बैंकिङको कारोबार संख्या बढेर एक करोड ७७ लाख ९१ हजार बढीको कारोबारबाट एक खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी भएको छ। चैतमा एक करोड ६४ लाखभन्दा बढी मोबाइल बैंकिङ कारोबाटबाट एक खर्ब १५ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी भएको थियो।
मोबाइल वालेटबाट हुने कारोबार संख्या बढेपनि भुक्तानी भने वैशाखमा घटेको छ। राष्ट्र बैंकका अनुसार मोबाइल वालेटबाट एक करोड ४८ लाख ८४ हजारभन्दा बढी कारोबारबाट १४ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी भएको छ।
चैतमा पनि कारोबार संख्या बढी भएपनि भुक्तानी रकम भने फागुनको भन्दा केही घटेको थियो। चैतमा मोबाइल वालेटबाट एक करोड ४४ लाख कारोबार हुँदै १५ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी भएको थियो।
त्यसैगरी, क्यूआरमा आधारित भुक्तानी भने बढेको छ। वैशाखमा ३० लाख ७१ हजार बढी कारोबारबाट १० अर्ब १९ करोड रुपैयाँ नाघेको राष्ट्र बैंकले जनाएको छ। चैतमा क्यूआर कोड प्रयोग गरी २७ लाख २३ हजारभन्दा बढी कारोबारबाट करिब नौ अर्ब रुपैयाँ भुक्तानी भएको थियो।