
काठमाडौं। धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने भएको छ।
सरकारले कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएकोमा गाउँपालिकाले थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको बीमा समितिले जनाएको छ।
बीमा समितिले बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने क्रममा शनिबार गाउँपालिका अध्यक्ष जयकुमार यादवले थप अनुदान दिने बताएका हुन्।
'गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने कार्यक्रम समावेश गरिएको छ,' उनले भने। यसलाई आगामी बजेटमा राखेर कार्यान्वयनमा लैजाने जानकारी समेत दिएका छन्।
किसानहरूले अझै पनि कृषि तथा पशुपन्छी बीमा गर्न नपाएको र बीमा गरेका किसानले पनि दाबी पाउन नसकेको गुनासो गरेका छन्।
उनले गाउँपालिकामा बीमा कम्पनीका शाखा कार्यालयहरु विस्तार गर्न तथा बीमा दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो तुल्याउनका लागि आवश्यक व्यवस्था गर्न बीमा समितिसँग आग्रह गरेका छन्।
कार्यक्रममा बीमाको परिचय, महत्त्व, बीमा गर्ने तथा दाबी भुक्तानी पाउने तरिका, बीमाको पहुँच विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषयमा बीमा समितिका निर्देशक दिनेशकुमार लालले जानकारी गराएका छन्।
किसानहरुले गाउँपालिकामा नै सहज किसिमले कृषि तथा पशुपन्छी बीमा गर्न पाउने र बीमा दाबी भुक्तानी ढिला नगरि समयमै पाउने व्यवस्था गर्न बीमा समिति प्रतिबद्ध रहेको उनले बताए।
साथै, दाबी भुक्तानी समयमै नपाए वा बीमा सम्बन्धी कुनै समस्या परे समितिलाई जानकारी गराउन आग्रह गरेका छन्।
कार्यक्रममा मुखियापट्टी मुसहरनिया गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य तथा कर्मचारी, विभिन्न बीमा कम्पनीका शाखा कार्यालय र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूका साथै कृषक, सर्वसाधारणको सहभागिता रहेको समितिले जनाएको छ।