वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेकै निरन्तरता, कांग्रेस-माओवादी परिवर्तनको आशामा



२०७९ असार २२ गते १३:४२ | Jul 6, 2022


वाग्मतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेकै निरन्तरता, कांग्रेस-माओवादी परिवर्तनको आशामा


हेटौंडा। वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डले नै निरन्तरता पाउने भएका छन्। सत्ता गठबन्धनको भागबन्डामा ६ महिना एकीकृत समाजवादी र अर्को ६ महिना कांग्रेसबाट आलोपालो मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्ने सहमति कार्यान्वयनको माग भइरहँदा त्यो सहमतिको कुरा हाललाई टरेको हो।

Tata
Global Ime

गत ११ कात्तिकमा मुख्यमन्त्री हुँदा वाग्मतीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो। त्यही सहमति अनुसार प्रदेशमा सरकार पुनर्गठन गर्न सत्तारुढ गठबन्धनको कांग्रेस र माओवादीले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको थियो।

तर, प्रदेशमा सरकार पुनर्गठन गर्दा अन्य प्रदेशमा पनि विकल्प खोज्नुपर्ने भएपछि तत्कालको लागि वाग्मती प्रदेशमा सरकारको नेतृत्व फेरबदलको सम्भावना घटेको हो।

एकीकृत समाजवादीका संसदीय दलका उपनेता कृष्णप्रसाद खनालले गठबन्धन केन्द्रको निर्णयअनुसार चल्ने भएकाले प्रदेशमा भएको सहमतिको कुनै तुक नरहेको बताए। खनालले ७ वटै प्रदेश सरकारमा नेतृत्वको भागबन्डाबारे गठबन्धन दलबीच केन्द्रमै सहमति भएका कारण कुनै एक प्रदेशमा मात्र मुख्यमन्त्री परिवर्तन सम्भव नभएको बताए।

‘वाग्मती प्रदेशमा सरकार पुनर्गठन हुने बितिक्कै अन्य प्रदेशमा पनि यही कुरा उठ्न थाल्छ। वाग्मती छोडे पनि सुदूरपश्चिमको चर्चा चलेको थियो तर, सुदूरपश्चिम माओवादी केन्द्रको नेतृत्व छ। उहाँले छाड्नेबित्तिकै माओवादी एउटा मात्रै सरकार हुन्छ फेरि कांगेसले कहाँ छोड्ने? त्यसैले अहिले अहिलेको लागि वाग्मती प्रदेश सरकार पुनर्गठन नगर्ने शीर्ष नेतृत्वमा सहमति भएको छ,’ उनले भने।

प्रदेश र संघीय चुनावको मिति घोषणा हुन लागेकाले गठबन्धनका शीर्ष नेताहरुले सरकार परिवर्तन  गर्नु उचित नहुने बताएको उनको दाबी छ। कांग्रेसले सहमतिअनुसार सहजै आफूले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको भए पनि मुख्यमन्त्री पाण्डेले गठबन्धनको शीर्ष नेताहरुको निर्णयअनुसार आफू चल्ने बताउँदै आएका थिए। उनले शीर्ष नेताहरुको निर्णय अनुसार नै आफू मुख्यमन्त्री बनेको भन्दै सोही अनुसार सरकार पुनर्गठन हुने बताउँदै आएका थिए।

तर,गठबन्धन भित्रको कांग्रेस र माओवादीले आफूविरुद्ध हस्ताक्षर नै संकलन गरेपछि मुख्यमन्त्री पाण्डेले काठमाडौंमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको संसदीय दलको बैठक राखेका थिए। बैठकमा अध्यक्ष नेपालले सरकार पुनर्गठनको विषय गठबन्धनको शीर्ष नेताहरुले टुंग्याउने बताएका थिए। सोही अनुसार गठबन्धनको शीर्ष नेताहरुले छलफलपछि तत्काल वाग्मतीमा सरकार पुनर्गठन नगर्ने निष्कर्ष निकालेको नेताहरुको दाबी छ।  

तर, माओवादी केन्द्रको संसदीय दलको नेता शालिकराम जम्कट्टेलले भने हालसम्म वाग्मती सरकार पुनर्गठनको सम्भावना हटिनसकेको बताए। ‘सरकार परिवर्तनको लागि अहिले अरु कुनै पनि तयारी भएको छैन। सम्भावना पुरै टरेको पनि भन्न मिल्दैन,’ उनले भने। गठबन्धनको शीर्ष नेताहरु बीच सरकार पुनर्गठनको विषयमा छलफल भएको पनि आफूले थाहा नपाएको उनले बताए।

उनले विगतको भएको लिखित सहमति कार्यान्वयन हुनुपर्नेमा आफूहरु स्पष्ट रहेको पनि बताए। गठबन्धनलाई मजबुत बनाउन सहमति कार्यान्वयन हुन आवश्यक रहेको उनको भनाइ छ।

कांग्रेसले पनि पछिल्लो समय सरकारको नेतृत्वको लागि मरिहत्ते नगर्ने अभिव्यक्ति दिएको छ। कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्रीका दाबेदार बानियाँले केही दिनअघि कांग्रेसले मुख्यमन्त्रीको लागि मरिहत्ते नगर्ने बताएका थिए। कांग्रेसको लागि लोकतन्त्र, विधि र पद्धति महत्वपूर्ण भएको उनको भनाइ थियो। यद्यपि, बानियाँले लिखित रूपमा गरेको सहमति कार्यान्वयन गर्नु एकीकृत समाजवादीको दायित्व भएको बताएका थिए। 

हाल प्रदेशमा गठबन्धनको नेतृत्व गर्दै एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री छन्। पाण्डे गत कात्तिक ११ मा ६ महिनापछि नेतृत्व छाड्ने गरि कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए। उनलाई माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सहित ५९ सांसदको समर्थन छ।