
काठमाडौं। मकालु हिमालको फेदी। २४०० मिटरभन्दा माथिको उचाइमा छ एउटा चिया बगान। त्यो हो सगरमाथा टीको बगान। मुलुकमा यो सम्भवतः सबैभन्दा उच्च स्थानमा अवस्थित चिया बगान हो। हिउँदमा चियाका बोटले हिउँ खप्ने उक्त बगानमा उत्पादित चिया बोरा-बोरामा विदेश निकासी हुन्थ्यो, त्यो पनि सस्तै भाउमा।
नेपालबाट बोरामा गएको चिया विभिन्न ब्राण्डमा आकर्षक प्याकमा प्रिमियम मूल्यमा बिक्री हुन्थ्यो। बोरामा निकासी भएको चिया प्रशोधन र प्याकेजिङ गरेर बजारमा पठाउने विभिन्न बहुराष्ट्रिय कम्पनीले नेपालमै पनि पठाउँथे। यो देखेपछि चिया बगानका सञ्चालकहरुले बोरामा चिया पठाउन रोक्ने निर्णय गरे।
आफ्नै ब्राण्डमा चियाको बजारीकरण गर्ने निष्कर्षमा पुगे। त्यसपछि दुई वर्ष अघिबाट सुरु भयो सगरमाथा टी। प्रिमियम ब्राण्डमा चियाको बजारीकरण गर्ने नेतृत्व भने २७ वर्षीय सुगम घिमिरेले लिएका छन्।
सगरमाथा टी सन् १९९८ बाट नै सञ्चालनमा थियो। करिब १० वर्षअघि मात्र यो बगानलाई एसजी ग्रुपले खरिद गरेको थियो। 'सगरमाथा चियाले चियाप्रेमीहरूका लागि संसारको सबैभन्दा अग्लो ठाउँको बगानबाट प्राकृतिक चिया ल्याएको छ,' एसजी ग्रुपका निर्देशक सुगम घिमिरे बताउँछन्, 'हाम्रो बगानमा उच्च गुणस्तरको अर्थोडक्स चिया उत्पादन गर्नको लागि हावापानी अनुकूल छ।'
कम्पनीले प्राय: विशेष प्रकारको चिया जस्तै ग्रीन टी, ब्ल्याक टी तथा ह्वाइट टी उत्पादन गर्दै आएको छ। घिमिरेका अनुसार उनीहरूले सन् २०२० देखि मात्रै चियालाई आकर्षक प्याकेजिङ गरेर खुद्रा बेचबिखन गर्न थालेका हुन्। यस अघि सगरमाथा टीलाई बोराका बोरा विदेश निर्यात गरिन्थ्यो। अहिले भने सगरमाथा टीको ६० प्रतिशत आम्दानीको हिस्सा भने खुद्रा व्यापारबाट नै हुने गरेको छ। सगरमाथा टी विभिन्न भाटभटेनी, सेल्सबेरी, बिगमार्ट जस्ता सुपर स्टोरहरूमा उपलब्ध छन्।
'धेरैजसो चिया उत्पादकहरूले बल्कमा उत्पादन गर्नु हुन्छ र बल्कमा नै बेच्नु हुन्छ। त्यसो गर्दा चाहिँ त्यो निर्यात गरिएको चिया नै प्याकेजिङ भएर फेरि नेपाल नै आयात हुन्छ,' सुगम सुनाउँछन्, 'यसो हुन नदिन तथा भ्यालु चेनमा काम गर्न हामीले नेपालमा नै त्यसको प्याकेजिङ गरेर नेपालीका घर-घरमा नेपालमा नै उत्पादन भएको चिया पुर्याउने उद्देश्यले पछिल्लो दुइ वर्षदेखि हामी खुद्रामा धेरै नै केन्द्रित भएका छौं।'
सन् २०२० अर्थात कोरोना महामारीको समय। निर्यात बजार र सिंगो अर्थतन्त्र नै निकै शिथिल भएको बेला सगरमाथा टीले खुद्रा व्यापार सुरु गरेको हो। नेपालको राम्रो हावापानीमा उत्पादित चिया जो सोझै बाहिर मात्रै जान्थ्यो, अब नेपालीले किनेर स्वाद लिन पाउने बनाइएको कम्पनीले जनाएको छ।
कृषिमा सम्भावना थुप्रै
एसजी समूह सम्भावना देखेरै व्यवसायिक कृषिमा उद्यम आकर्षित भएको हो। 'हामी एलपीजी ग्यास, अटो मोबाइल, हाइड्रो जस्ता विभिन्न खालको व्यवसायमा छौं। कृषि एउटा चाहिँ महत्त्वपूर्ण क्षेत्र थियो, जुनमा हामीले काम गरेको थिएनौं,' सुगम भन्छन्, 'कृषिमा पनि चिया भनेको निर्यात हुने वस्तु हो। जसले देशमा उब्जिएको उत्पादन विदेशमा पुर्याउन सक्ने सम्भावना बोकेको भएर यसमा हात हालेका हौं।'
सुरुवातमा आफ्नो पाँच जनाको प्राविधिक समूहको सहयता तथा कृषकहरूको सीपले गर्दा बगान खरिदको पहिलो वर्ष कम्पनीले १००० किलो चिया उत्पादन गरेको थियो। अहिले बर्सेनि ५ हजार किलो उत्पादन गर्दै छ। अहिले २ हजार ४ सय रोपनीमा फैलिएको बगानमा चिया मात्र नभएर विभिन्न जडीबुटी तथा अकबरे खुर्सानी पनि उत्पादन गर्दै आएको उनले बताए।
बगानको उत्पादकत्वमा राम्रो सुधार ल्याउन नै सबैभन्दा ठूलो चुनौती रहेको सुगम बताउँछन्। उनका अनुसार सगरमाथा टीमा अहिलेसम्म २५ करोड लगानी भइसकेको छ। यसको मासिक आम्दानी ७ लाख रुपैयाँसम्म हुन थालेको उनी बताउँछन्। अहिले खुद्रा बजारमा बिक्री भइरहेको ग्रीन टीको मूल्य ७ सय ५० पर्छ भने ब्ल्याक टी रु ५ सय ५० पर्छ। अरु स्पेसियालिटी टी बल्कमा भारत तथा युरोप निर्यात गर्छन्।
यस बाहेक बजारबाट पैसा नउठ्नु, सही ग्राहककहाँ नपुग्नु,, उत्पादकभन्दा बिचौलियाहरूले बढी मार्जिन पाउनु जस्ता विभिन्न समस्याहरू भोगेको उनी खुलाउँछन्। तर बजारमा असल मानिसहरू पनि रहेको उनको बुझाइ छ। जसकारण सही मान्छेहरूकोमा पनि उत्पादन पुगेको उनी बताउँछन्।
उनी सम्झन्छन्, 'हामीले चिया बगान लिँदा अहिलेको जस्तो व्यवस्थित थिएन। अहिलेको अवस्थासम्म आउने धेरै मिहिनेत लागेको छ। बगानमा दार्जिलिङबाट उच्च भेगमा खेती गर्न सकिने प्रिमियम खालका चियाका प्रजातिहरू ल्याएर लगाइएको छ।'
नेपालमा चिया संस्कृति सयौं वर्ष पुरानो छ। तर धेरैजसोले दूध, पानी, चिनी तथा चियापत्तीको धुलोबाट बनेको चिया पिउने हुँदा चियाको वास्तविक स्वाद कतिलाई थाहै छैन। परम्परागत सीटीसी र दूध हालेको चिया खानेहरूलाई चियाको खास स्वाद थाहा हुँदैन। तर चिया पिउने यो जमात ठूलो छ।
तर हिजोआज बिस्तारै स्वास्थ्य सचेतना बढेको छ। उनका अनुसार सगरमाथा चिया तिनै सतर्क रहेकाहरुले मन पराउने स्वादमा पर्छ। अहिले घर, अफिस, जता पनि ग्रीन टी र दूध नहालेको चिया पिउनेहरु बढ्दा सगरमाथाको स्वाद चिन्ने बढेका हुन्।
'हामीले प्राय: अफिस जाने, विद्यार्थीहरू तथा उच्च मध्यम वर्गकालाई लक्षित गर्दै सगरमाथा टि ल्याएका हौं। बजारीकरण गर्न विभिन्न सुपरमार्केट तथा एक्सपोहरूमा सानो सानो चियाको पाउचेजहरू/स्याम्पलहरू राखेर चिया चाख्न लगायौं। त्यसरी नै हामीले हाम्रो ब्रान्डको उपस्थिति बढाउँदै आएका छौं,' उनी सुनाउँछन्।
त्यसै अनुसार प्रतिक्रिया एकदमै राम्रो आएको छ। साथै विभिन्न प्रकारको चिया बजारमा ल्याउन पनि माग आएको छ। सगरमाथा टीले नेपालका सुपर मार्केटहरू बाहेक विदेशहरूमा पनि निर्यातको वातावरण बनाउँदै छ।
'हामीले विभिन्न देशहरूमा स्याम्पलहरू पठाएका छौं। तर अहिलेको अवस्थामा निर्यात भइसकेको छैन। खुद्रामा पनि हाम्रो लक्ष्य भनेको निर्यात नै गर्ने हो,' उनले भने, 'त्यसका लागि हामीले नेपाली प्याकेजिङलाई अवलम्बन गर्नेछौं। सुरुमा त्यो नगरेको चाहिँ पर्यटकहरूको फ्लो शून्यजस्तै भएकाले हामीले सुरुमा प्याकेजिङ निर्यातका लागि आधिरित भएर गरेनौं।'
उत्पादन लक्ष्य वार्षिक १५ हजार किलो
नेपाली बजारमा स्वदेशी ब्रान्ड देखिँदा उनी हतास छैनन्। बरु गुणस्तरमा प्रतिष्पर्धा हुने भन्दै खुसी व्यक्त गर्छन्। भन्छन् 'चियाको मार्केट यति ठूलो छ कि यसमा सबै ब्रान्डहरू मज्जाले अटाउन सक्छन्।'
सगरमाथा चियाको बगान भएकै ठाउँमा कारखाना पनि छ। चिया टिप्नेदेखि प्रशोधन गर्ने कामदेखि प्याकेजिङसम्म सबै कारखानामा हुन्छ। यस कारखानामा २० जना कार्यरत छन्, जसमध्ये ८० प्रतिशत संख्या महिलाको छ।
'हामीले चिया टिप्नदेखि प्रशोधन गर्न त्यहाँको महिलाहरूलाई नै प्रोत्साहन गर्छौं। साथै हामी त्यहाँको स्थानीयहरूलाई चिया रोप्नको लागि प्रोत्साहन गर्छौं। साथै उनीहरूलाई चियाको बिउ दिन्छौं। उनीहरुको चिया किन्छौं पनि,' उनले भने, 'अहिलेसम्म हामीले बगान वरिपरिका १४ जना किसानलाई सहायता गर्न सफल भएका छौं।'
आलु तथा अरू परम्परागत शैलीको खेतीमा फाइदा नदेखेर काम गर्न छोडिसकेका, कृषिबाट अरु काममा लागेका किसान साथै युवाहरूलाई चिया खेतीतर्फ रूपान्तरण गर्न सफल भएका उनी दाबी गर्छन्।
उनी भावी योजना खुलाउँछन्, 'अबको तीन वर्षमा वार्षिक १५ हजार किलो चिया उत्पादन गर्ने लक्ष्य छ। साथै धेरैभन्दा धेरै किसान तथा स्थानीयलाई चियाखेतीतर्फ आकर्षित गर्नेछौं। अझै धेरै प्रकारको चियाहरू उत्पादन गर्ने, किफायती चिया पनि बजारमा ल्याउने र नेपालमा मात्रै पाइने जडिबुटी, फूल तथा केसर उत्पादनको पनि तयारी गर्दैछौं।'