देशभर किन आयो इँटाको व्यापारमा मन्दी ? दौडाहा गर्दै महासंघको टोलीले खोज्दैछ कारण



२०७९ असार २९ गते १९:०८ | Jul 13, 2022


देशभर किन आयो इँटाको व्यापारमा मन्दी ? दौडाहा गर्दै महासंघको टोलीले खोज्दैछ कारण


विराटनगर। इँटा, बालुवा, ढुंगा-गिट्टी, सिमेन्ट र छड। यी वस्तुको व्यापार बढ्न निर्माण गतिविधिमा तीव्रता आउनुपर्छ। खुल्ला स्थानमा माटोको साँचोमा तयार गरेर भट्टीमा पोल्दै तयार गरिने इँटाको उत्पादन निर्माण सामाग्रीहरुमध्ये धेरै अप्ठ्यारोमा पर्छ। चालु आर्थिक वर्ष इँटाको बिक्री नै बढेन।

Tata
Global Ime

उद्योगीले नेपाल इँटा उद्योग महासंघलाई गुहारे। महासंघ अध्यक्ष शंकर चन्द यतिबेला कारोबारमा मन्दी आउनुको मुख्य मुख्य कारण खोज्दै टोलीसहित देशदौडाहामा छन्। सुदूरपश्चिमको महाकालीबाट निस्केको टोली रूपन्देही पुगेको छ। देशभरका इँटा उद्योगमा मन्दी आएको गुनासो बढेपछि स्थलगत जाँचबुझ गर्दै निस्किएका अध्यक्ष चन्दको टोलीले एक सातापछि मध्य तराई हुँदै पूर्वी नेपालको यात्रा गर्नेछ।

स्थलगत खोजीकै क्रममा अध्यक्ष चन्दले के पत्ता लगाएका छन् भने चालु आर्थिक वर्षमा इँटाको बिक्री ६० देखि ८० प्रतिशतले घटेको छ। यसअघि हरेक असार मसान्तका बेला सबै उद्योगले ८० प्रतिशत इँटा बिक्री गरिसकेका हुन्थे। तर चालु वर्ष ८० प्रतिशत इँटा मौज्दातमा छन्। 
चन्दका अनुसार कोभिडपूर्व अर्थात् २ वर्षअघि नेपालमा १ हजार ३ सय इँटा उद्योग सञ्चालनमा थिए। कोभिडपछि २ सय उद्योग बन्द गरिए।

यो वर्ष डिजल, कोइला, श्रमिकको ज्याला आदि सबै महँगो भएपछि थप २ सय उद्योग पूर्ण र १ सय आंशिक रूपमा बन्द गरिएका छन्।
यसप्रकार १३ सय उद्योगमध्ये हाल ८ सय मात्र सञ्चालनमा छन्। यही अवस्था विद्यमान रहिरहने हो भने आगामी आर्थिक वर्षका सिजनमा ४ सय उद्योग मात्र सञ्चालन हुने टोलीको निष्कर्ष छ।

अध्यक्ष चन्दले भने ‘मुख्य कारण चालु आर्थिक वर्षमा सरकारको पुँजीगत खर्च नै हुन सकेन। यसका कारण सरकारी पूर्वाधारका कामहरूमा ठूलो मन्दी छायो। यसैबीच निर्माणव्यवसायीबाट वर्क होलिडे गरियो। यसले पनि निर्माण सामग्रीको व्यवसायमा ठूलो असर गर्यो र इँटाको बिक्री घट्यो। इँटामा मात्र नभई फलामे डन्डी, सिमेन्ट, गिटी, बालुवाको पनि यही अवस्था छ।’

चन्दले जग्गाको कित्ताकाट बन्द हुँदा घडेरी उत्पादनमा कमी आएको र यसले घर बनाउने काममा प्रत्यक्ष असर पारेको उल्लेख गरे।
उनका अनुसार बैंकले 'घर कर्जा'मा कडाइ गरेका कारण नयाँ घरहरूको निर्माणमा उल्लेख्य कमी आयो, घरै बनाउन घट्दा सोझै असर इँटाको बिक्री परेको हो।

‘अर्कातिर यसै वर्ष इँटाका कच्चा र सहायक कच्चापदार्थको मूल्य आकासियो। डिजलको मूल्यमा लगातार वृद्धि भइरहँदा इँटा उद्योगमा ल्याइने माटोको मूल्य बढ्यो,' उनले भने, 'दुई वर्षअघि प्रतिकिलो २० रुपैयाँमा खरिद गरेको अमेरिका र इन्डोनेसियाको कोइलाको मूल्य चालु वर्षको इँटा पोल्ने सिजनमा ४५ रुपैयाँ भयो। आगामी आर्थिक सिजनमा ६० देखि ६५ पुग्ने अनुमान छ। कामदारको आतेजाते खर्च पनि दोब्बर भयो।

डिजलको मूल्यवृद्धिले तयारी इँटाको ढुवानीदर वृद्धि भयो। यसरी यस वर्ष देशभरिका इँटा उद्योग चारैतिरबाट संकटको घेराबन्दीमा परिरहे।’
चन्दका अनुसार इँटा उद्योगहरूले आर्थिक संकट, अनि कच्चा पदार्थको महँगी र अभाव सँगसँगै भोगिरहेका बेला बैंकहरूले ऋणमा कडाइ गरे। उद्योगीले भनेजति ऋण पाएनन्। यसका कारण उद्योगी थप लगानी र उत्पादन घटाउन बाध्य भए।

सरकारले निर्माण व्यवसायीका समस्या बुझेर बेलैमा समाधान गरिदिएको भए ८० का ठाउँमा ५० प्रतिशत मात्र मन्दी आउँथ्यो भन्ने दाबी उनको छ। 

‘आगामी मंसिरदेखि नयाँ इँटा पकाउने सिजन सुरु हुन्छ। इँटा नबिकेर यति बेला उद्योगीका हातमा तरलता छैन। अब पनि बैंकले ऋण पत्याएनन् भने ठूलो संकट हुने हामीले देखिरहेका छौं,' उनले भने। 

महासंघको प्रदेश नम्बर १ का अध्यक्ष एवम् सुनसरीको सोनापुरस्थित जयबाबा इँटा उद्योगका सञ्चालक खगेन्द्र श्रेष्ठले पनि चालु आर्थिक वर्षमा पूर्वमा इँटाको बिक्री ६० देखि ८० प्रतिशतले घटेको बताए। 

‘हामी चालु वर्ष कुन उद्योगले कति इँटा उत्पादन गरेको थियो र कति बेच्यो भन्ने तथ्यांक मागिरहेका छौं। प्रारम्भिक अध्ययनमा ६० देखि ८० प्रतिशतले मन्दी आएको देखिएको छ।’

श्रेष्ठले चालु आवमा उनको जयबाबा इँटा उद्योगले १ करोड इँटा उत्पादन गरेकोमा ८० लाख इँटा अहिले पनि मौज्दातमा रहेको जिकिर गरे।
‘हाम्रा उद्योगबाट दुई–तीन महिनायता त १० हजार इँटा पनि बिक्री भएको छैन,’ उनको भनाइ थियो, ‘यस्तो मन्दी मैले अहिलेसम्म जानेको थिइँन।’

कोभिडकालका २ वर्ष प्रदेश भरिका करिब एक सय उद्योगमा आधा मात्र सञ्चालनमा आएको भए पनि चालु आवमा सबै उद्योग चलेको उनले बताए।

महासंघका प्रदेश महासचिव एवम् सुनसरीको रामधुनी इँटा उद्योग प्रालिका सञ्चालक राजन तिम्सिनाको दुखेसो थियो, ‘चालु आर्थिक वर्षमा हामीले ६० लाख काँचो इँटा बनाएका थियौं। त्यसमध्ये २० लाख पोल्न सकेनौं। कोइलाको ठूलो अभाव भयो। पाइएको कोइला पनि अत्यन्त महँगो थियो। त्यसैले सबै इँटा पोल्ने हिम्मत आएन । पोलेका ४० लाख इँटामा अहिलेसम्म १० लाख बिक्री भए होला। बाँकी ३० लाख उद्योग परिसरमै हाँसिरहेका छन् भनौं कि रोइरहेका छन् भनौं ?’

नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ का अध्यक्ष एवम् सुनसरीको एबी इँटाका सञ्चालक भीम घिमिरेले चालु आवमा १ करोड इँटा उत्पादन गरेको तर हाल ८० लाख इँटा बोक्री हुन नसकेर थन्किरहेको जानकारी दिए ।

‘धेरैजसो इँटा उद्योगले कोइला र माटो खरिद गर्न अनि भारतीय श्रमिकलाई अग्रिम रकम पठाउन लिएका हुन्छन् । उनीहरूले कुनै हालतमा एक वर्षमा ऋण चुक्ता गर्नैपर्ने हुन्छ नभए ब्याजले आकाश छुन्छ,' उनले भने, 'त्यसैले ऋण र त्यसको ब्याज तिर्न प्रायः उद्योगले मूल्य घटेर इँटा बिक्री गरिरहेका छन् । एउटा उद्योगले २२ माबिक्री गर्‍यो भने अर्काले २१ मै दिइरहेको छ।’

उनले हाल पूर्वमा १ नम्बर इँटा १९ देखि २३, २ नम्बर १८ देखि २० र मिठापाक १७ देखि १८ रुपैयाँमा बिक्री भइरहेको बताए।

पूर्वकै सबैभन्दा ठूलो इँटा उद्योग आनन्द इँटाका सञ्चालक अशोक बगडियाले उनका आनन्द, अनन्त र आँगन गरी ३ ब्रान्डका मिलाएर साढे ३ करोड इँटा उत्पादन गरिएको उल्लेख गरे। साढे ३ करोड इँटामा २ करोडभन्दा बढी अहिले पनि नबिकेर स्टकमा रहेको दाबी उनले गरे।

मोरङको एसीसी इँटाका सञ्चालक रमेश भगतले आफ्नो उद्योगले चालु आवमा १ करोड इँटा उत्पादन गरेकोमा ७५ लाखभन्दा बढी अहिले पनि उद्योग परिसरमै रहेको स्पष्ट पारे।