पहिचान ढाँटेर फेसबुक चलाउनेहरु बढेपछि उनीहरुलाई पनि समेट्ने योजनामा फेसबुकले परीक्षण गरिरहेको छ। मेटाले बिहीबार आफ्नो प्रमुख सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताहरूका लागि एउटै खातामा पाँचवटासम्म अलग-अलग प्रोफाइल जोड्ने सुविधा छिटै ल्याउने घोषणा गरेको छ।
मेटाद्वारा जारी विज्ञप्तिअनुसार यो परिवर्तनपछि प्रयोगकर्ताहरूले रुचिका विषय तथा सम्बन्धको आधारमा छुट्टाछुट्टै प्रोफाइलहरू चलाउन सक्नेछन्। जस्तै- एउटा फेसबुक फिड उनीहरूका साथीहरूका लागि मात्रै, त्यस्तै अर्को प्रोफाइल उनीहरूका सहकर्मीहरूका लागि मात्रै बनाउन सकिनेछ।
परीक्षणको हिस्सा भएका प्रयोगकर्ताहरूले केही ट्यापहरूमा उनीहरूको फरक प्रोफाइलहरू बीच स्विच गर्न सक्नेछन्। यो प्रोडक्ट परिवर्तनले फेसबुक प्रयोगकर्तालाई उनीहरूको रुचि र सम्बन्धमा आधारित अनुभवलाई अनुकूल बनाउन मद्दत गर्दछ। परिवार र साथीहरूलाई लक्षित विभिन्न प्रकारका सामग्री छुट्टाछुट्टै पोस्ट गर्न सकिने मेटाको विज्ञप्तिमा उल्लेख छ।
प्रोफाइल बनाउनका लागि कम्पनीले आफ्नो स्थापनादेखि नै कायम गरेको प्रयोगकर्ताहरूको 'वास्तविक नाम' को अनिवार्य आवश्यकतालाई हटाउँदै अतिरिक्त प्रोफाइलहरूले व्यक्तिको वास्तविक नाम समावेश गर्न नपर्ने हुनेछ।
यद्यपि फेसबुकले प्रत्येक प्रयोगकर्तासँग व्यक्तिको वास्तविक नाम भएको मुख्य प्रोफाइलको साथ एउटा मात्र फेसबुक खाता हुनपर्ने नियम भने कायम नै राखेको छ। प्रयोगकर्ताहरूले सो खातामा लग इन गरेपछि आफ्नो कुनै पनि अरू अतिरिक्त प्रोफाइलहरू पहुँच गर्न सक्नेछन्।
मेटाका प्रवक्ताका अनुसार कम्पनीले केही देशहरूमा यो परीक्षण गरिरहेको जनाइएको छ।