
काठमाडौं। विश्वभर सन् २०२२ को दोस्रो त्रैमासमा स्मार्टफोन सिपमेन्ट ९ प्रतिशतले ओरालो लागेको छ। बजार विश्लेषण गर्ने कम्पनी क्यानालिसका अनुसार अप्रिल-जुन महिनामा स्मार्टफोन सिपमेन्ट घटेको देखिएको हो।
तर सिपमेन्ट घटेको अवस्थामा समेत सामसङले २१ प्रतिशत बजार हिस्सा कब्जा गरेको छ। सामसङले आफ्नो पछिल्लो स्मार्टफोन 'ए सिरिज' का ह्यान्डसेटको उच्च माग तथा आपूर्तिबाट यो बजार हिस्सा हासिल गर्न सकेको हो। लो इन्ड ए सिरिज ह्यान्डसेटहरुको आपूर्तिमा सामसङले उल्लेखनीय सुधार गरेसँगै २०२१ को पहिलो त्रैमासमा १८ प्रतिशत रहेको बजार हिस्सा २०२२ को दोस्रो त्रैमासमा २१ प्रतिशत पुर्याएको जनाइएको छ।
यससँगै सामसङले बजार हिस्सामा पहिलो नम्बरको आफ्नो ठाउँलाई दोस्रो स्थानको ब्रान्डसँग अझ फराकिलो बनाएको छ। दोस्रोमा एप्पलको बजार हिस्सा अधिक छ। एप्पलसँग यसअघि १ प्रतिशतको अन्तर रहेको बजार हिस्सा सामसङले अब ४ प्रतिशत पुर्याएको छ।
यस्तै, आइफोन १३ को उच्च मागका कारण एप्पलले पनि स्मार्टफोन बजारको १७ प्रतिशत हिस्सा ओगट्न सफल भएको क्यानालिसले जनाएको छ। वर्ष दिनअघि एप्पलको बजार हिस्सा १४ प्रतिशत थियो।
चिनियाँ शीर्ष स्मार्टफोन ब्राण्डहरुको बजार हिस्सा भने पछिल्लो समय दोहोरो अंकसम्मले घटेको छ। चिनियाँ ब्रान्ड साओमीको बजार हिस्सा २०२२ को दोस्रो त्रैमासमा १४ प्रतिशतले घटेको छ। ओप्पोको बजार हिस्सा १० प्रतिशतले घट्दा भिभोको पनि नौ प्रतिशतले घटेको छ।
प्रतिवेदनअनुसार ओप्पो, भिभो र साओमी चीनमा निकै संघर्ष गरिरहेका छन्। साओमीको बजार हिस्सा १७ प्रतिशतबाट १४ प्रतिशत, ओप्पोको ११ प्रतिशतबाट १० र भिभोको १० प्रतिशतबाट नौ प्रतिशतमा झरेको छ।
काउन्टरपोइन्टले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनका अनुसार भारतमा निर्माण भएका स्मार्टफोन (मेड इन इन्डिया) को सिपमेन्ट २०२२ को पहिलो त्रैमासमा सात प्रतिशतले बढेको छ। भारतमा बनेका स्मार्टफोनहरुको सिपिङ चार करोड ८० लाख युनिट कटिसकेको छ।