११ वर्षसम्म कम्प्युटर नदेखेका सम्भव सिलिकन भ्याली पुगे, १ अर्ब डलरको कम्पनी जेबेक हाँक्दै



२०७९ साउन ४ गते १०:३१ | Jul 20, 2022


काठमाडौं। चितवनको बरमपुर भन्ने गाउँमा जन्मिएका सम्भव थपलियाले सहरी क्षेत्रका बालबालिकाभन्दा केही ढिला कम्प्युटर देख्न पाएका हुन्। बुबाआमा पनि खासै पढेलेखेका थिएनन्। खेतीपातीबाटै घर चल्थ्यो। ११ वर्षको उमेरमा कम्प्युटर देखेका उनले चलाउन भने अझै दुई वर्ष कुर्नु पर्‍यो।

Tata
Global Ime

६ कक्षामा नयाँ विद्यालय भर्ना भएपछि बल्ल उनले कम्प्युटर चलाउन पाए। तर चलाउन थालेको एक वर्ष नपुग्दै उनले सफ्टवेयर बारेमा स्व-अध्ययन गरेर इआरपी सफ्टवेयर बनाइसकेका थिए।

प्रोग्रामिङ तथा आर्टिफिसियल इन्टेलिजेन्सप्रतिको लगावका कारण अहिले २३ वर्षका सम्भव नवीनतम प्रविधिमा आधारित कम्पनीहरूको थलो मानिने सिलिकोन भ्याली पुगेका छन्। त्यहाँ उनले आफ्नो कम्पनी जेबेकको संस्थापक तथा सीइओको रूपमा पहिचान बनाइसकेका छन्। उनले अघि बढाएको कामकै कारण सन् २०२० को उद्यमशीलता तथा नवप्रवर्तन अवार्ड सम्भवको पोल्टामा पर्‍यो।

१३ वर्षको उमेरमै बनाए सफ्टवेयर 

सानो छँदा सम्भव खुद्रा पसलमा पुग्दा कागजका टुक्राहरूमा बिल बनाइरहेको देख्थे। कहीँ कतै बजार तिर भने बिलिङ सफ्टवेयर प्रयोग गरेको पनि देख्थे तर त्यो निकै नै महँगो हुने गर्थ्यो। जम्मा १३ वर्ष पुगेका उनलाई आफुले सो सफ्टवेयर धेरै सस्तो मूल्यमा बनाउन सक्छु भन्ने विश्वास थियो।

‘स्कूलका धेरै जसो साथीहरूको कम्प्युटर थियो। मैले चलाउन पाउने भनेको कम्प्युटर कक्षामा मात्र हुन्थ्यो र म त्यतिबेला कोडिङ मात्रै गर्ने गर्थे र मेरो शिक्षिका पनि मलाई त्यही गर्न लगाउनु हुन्थ्यो,’ उनी सम्झन्छन्।

जति जनासँग कम्प्युटर थियो त्यो पनि अन्य प्रयोजनमा प्रयोग भइरहेको हुन्थ्यो। केहीमा त गीत बजिरहेको हुन्थ्यो भने धेरैले गेम खेल्नका प्रयोग गर्थे, काम भने धेरैजसो कागजका टुक्रामा।

'मलाई लाग्यो कि उनीहरूको अगाडि केही अलग काम गर्न पाए हुन्थ्यो। मलाई त्यतिबेला अरु भन्दा भिन्दै बन्नु थियो र अरुले गरिरहेका कामहरू भन्दा अलग्गै काम गर्नु थियो,' उनले सुनाए।

त्यसपछि उनले साना व्यवसायका लागि बिलिङ (इआरपी) सफ्टवेयर बनाए। केही व्यवसायीहरुले त्यो सफ्टवेयर प्रयोग गरे। तर कसैले पनि उनलाई त्यो सफ्टवेयर प्रयोग गरेबापत पैसा तिरेनन्।

त्यसको दुई वर्ष पछि उनले जब सफ्टवेयर बेच्ने व्यक्तिहरुसँग छलफल गरिरहेका थिए। त्यसबेला मात्र उनले महसुस गरे-'यस्ता कामहरुबाट पनि पैसा कमाउन सकिने रहेछ।'

डिस्कोर्ड रिलिज हुनुभन्दा एक वर्ष पहिलै नै १५ वर्षीय सम्भवले आफ्नो पहिलो कम्पनी, 'ग्रुप इन' विकसित गरिसकेका थिए, जुन मूलतः डिस्कोर्ड जस्तै गेमरहरूका लागि स्ल्याक (म्यासेजिङ प्याटफर्म) थियो। तर त्यो कसैले पनि प्रयोग नगरेको सम्भव बताउँछन्।

‘जहिले पनि डिस्कोर्डले नयाँ फन्डिङ उठाउँछ, मलाइ लाग्छ कि मैले सही प्रोडक्ट निर्माण गर्ने प्रयास गरे तर गलत ठाउँमा। ग्रुप इनको नेपालमा कसैलाई पनि वास्तवमै यसको आवश्यकता छैन भन्ने महसुस गरेँ। नेपालमा कसैले पनि चलाउँदै चलाएनन्,’ उनले भने।

उनले जेभियर्स कलेजबाट 'ए' लेभल गरेपछि करिब दुई वर्ष औपचारिक पढाई अगाडि बढाएनन्। त्यो क्रममा उनले एमआइटी, हार्वर्ड, एडेक्स लगायतका शैक्षिक संस्थाहरुमा उपलब्ध एआई तथा प्रोग्रामिङ सम्बन्धी सबैजसो फ्री पाठ्यक्रमहरू अध्ययन गरेका थिए।

यो सँगै उनले केही प्रोजेक्टहरू पनि गरेका थिए। साथै उनले अर्को बीटुबी ई-कमर्स कम्पनी ‘सेल्काउथे’ सुरु गरेका थिए। जसमा २० हजार व्यवसायहरू जोडिएका थिए। भारतमा विस्तार गर्ने योजनामा काम गर्दै जाँदा सीमित स्रोतका कारण त्यो विस्तार हुन पाएन। भारतमा पनि उडान आइसकेको थियो। त्यसपछि सम्भवले त्यो कम्पनी अरूलाई नै सुम्पिएर आफू त्यहाँबाट बाहिरिए।

सपना पूरा गर्न अमेरिकाको यात्रा

यी सबै अनुभवले उनलाई कुनै पनि प्रोडक्ट वा सेवा, सही समयमा, सही ठाउँमा, विकास हुनु निकै महत्त्वपूर्ण छ भन्ने पाठ पढायो। आफ्ना सपनाहरू पूरा गर्न उनी सिलिकन भ्याली तथा स्ट्यानफोर्ड कलेज नजिकै मेन्लो कलेजमा छात्रवृत्ति प्राप्त गरि भर्ना भए र नेपालबाट उत्तरी क्यालिफोर्नियाको यात्रा तय गरे। यो सन् सन् २०१७ को कुरा हो।

उनी अमेरिकामा सुरुवाती दिनहरू सम्झन्छन्, ‘म अमेरिका पुग्दा मेरो साथमा जम्मा ५०० अमेरिकी डलर थियो। चिनजानको पनि कोही थिएनन्। म बिहान ६ बजे उठेर राति १२ बजे मात्र ओछ्यानमा जान्थे। एक समय यस्तो थियो म तीन ठाउँमा काम गर्थे, सँगै पढ्थे पनि।’

त्यहाँ आफ्नो काम र पढाई सँगसँगै उनले नयाँ मानिसहरूलाई भेट्न थाले। उनी आफ्नो वरपरको वातावरणमा अभ्यस्त हुन थाले, जसले उनको नयाँ उद्यमलाई आकार दिँदै गयो।

त्यसै वर्ष टिकटक सोसल मिडिया पावरहाउस बन्ने क्रममा थियो। 'एक दिन जब म भिडियोहरू स्क्रोल गर्दै थिएँ, मलाई यी भिडियोहरूको मोनिटाइजेसन कस्तो हुनुपर्छ र यी भिडियोहरूको भविष्य कस्तो हुनुपर्छ भन्ने लाग्यो। जसले मलाई अग्मेन्टेड तथा सेग्मेन्टेड मिडिया इन्टरफेस कर्पोरेसन (अस्मी) सुरु गर्न प्रेरित गर्‍यो,' उनी सुनाउँछन्।

१० देखि ६० सेकेन्डको भिडियो बीचको मोडेललाई उपयोग गर्दै विज्ञापनमा अर्को ठूलो सफलता उजागर गर्न सकिने सम्भवको विश्वास थियो। उनको अवधारणा थियो- भिडियोहरूमा विज्ञापनहरू इम्बेल्ड गर्ने, लयबद्ध स्क्रोलिङबाट ब्रेक नलिइ कन्टेन्ट र प्रचारलाई एकै जस्तो हुन दिने। यही अवधारणाबाट नै अस्मीको जन्म भयो।

प्रत्येक व्यक्तिको रुचिमा आधारित सटिक, चाखलाग्दो विज्ञापनहरू सुनिश्चित गर्न पहिले नै प्रयोगकर्ता कुकीहरूको प्रयोग गरेर, अस्मीले विज्ञापन सामाग्री उपभोग गर्ने पूर्ण रूपमा नयाँ तरिका सिर्जना गर्दछ। सम्भवले अस्मीमा तीन वर्ष लगानी गरेको थिए। यसका लागि उनले दुई मिलियन फण्ड पनि संकलन गर्न सफल भएका थिए। अहिले उनी अस्मीबाट बाहिरिइसकेका छन्।

विगत आठ महिनादेखि उनी आफ्नो तेस्रो स्टार्टअप जेबेकमा व्यस्त छन्। जेबेक एउटा ब्लक चेन प्रविधिमा आधारित कम्पनी हो, जसले अरू कम्पनीहरूलाई यसमा आबद्ध गरेर, ती कम्पनीहरूको कर्मचारीहरूलाई रियल टाइम भुक्तानी सेवा दिन्छ।

गत नोभेम्बरमा सुरु भएको जेबेकमा अहिले नेपालीसहित विभिन्न देशहरूका ५० जना युवाहरू काम गर्दै छन्। यस कम्पनीका करिब सात हजार टोकन होल्डरहरू छन्। जेबेकमा अहिले १०० भन्दा बढी कम्पनीहरू आबद्ध भइसकेका छन्। रियल टाइममा कर्मचारीहरूले काम गरेको पैसा आफ्नो खातामा आउने, हरेक पलको काम गरेको पैसा अटोमेटिक कर्मचारीको खातामा अपडेट हुँदै जाने सम्भव बताउँछन्।

जेबेकको स्थापना

‘चार वर्ष अगाडि मैले एउटा आर्टिकल लेखेको थिएँ, त्यसमा के भनेको थिएँ भने भविष्यमा कुनै समयमा संसारमा सेल्फ-ड्राइभिङ कार भने जस्तै सेल्फ-ड्राइभिङ मनि (पैसा) पनि आउँछ। अहिले हामीसँग पैसा हुँदा त्यो पैसा कहाँ कसरी लगानी गर्ने, खर्च गर्ने कुरा सबै आफैंले सोच्नु पर्छ,’ उनी बुझाउँछन्, ‘तर भविष्यमा चाहिँ यस्तो समय आउँछ की त्यो पैसा अटोमेटिकल्ली म्यानेज हुन्छ स्मार्ट कनट्याक्ट प्रयोग गरेर र पैसा पनि रियल टाइममा नै आउँछ र त्यसको रिटर्न पनि रियल टाइममा नै आउँछ। यही कन्सेप्टमा काम गर्दै जाँदा जेबेकको जन्म भएको हो।’

कम्पनीहरूलाई अहिले कर्मचारी पाउन निकै गाह्रो भइरहेको छ। यसरी रियल टाइममा पैसा भुक्तानी गर्ने बित्तिकै उनीहरू उत्साहित हुँदै काम गर्न थाल्ने साथै उनीहरूको कार्य कौशल पनि वृद्धि हुने सम्भव मान्दछन्।

जेबेकले पहिलो राउण्डमा नै करिब ३० मिलियन अमेरिकी डलर फण्ड उठाएको थियो। अहिले कम्पनीको मूल्यांकन एक बिलियन डलरमा गरिएको सम्भव दाबी गर्छन्। सम्भवका अनुसार जेबेकले प्रत्येक कारोबारमा त्यसको ०.२५ प्रतिशत प्राप्त गर्छ।

अमेरिकामा घण्टाको हिसाबले तलब त दिइन्छ। तर तलब कर्मचारीले पाउन दुई हप्ता कुर्न पर्छ। पैसा नहुँदा महँगो ब्याज दर दिएर पैसा सापटी लिन बाध्य छन्। अमेरिकामा सर-सापटी तथा ऋण दिने सिस्टम नेपालको भन्दा पनि नराम्रो रहेको सम्भवको बुझाइ छ।

‘अहिले काम गरेको पैसा अहिले, आज काम गरेको पैसा आजै आउँदा सर-सापट लिन पर्दैन। त्यस्तै त्यो पैसा कतै लगानी पनि गर्न सकियो, कुनै राम्रो ब्याज आउने ठाउँमा राख्न पनि सकिन्छ। यसका अनगिन्ती फाइदाहरू छन्,’ उनी भन्छन्।

उनी बुझाउँछन्, 'यदि कसैले महिनाको ३ लाख रुपैयाँ कमाइरहेको छ भने, दिनको हिसाबले उसको कमाइ १० हजार पर्न आउँछ। जब महिनाको हिसाबले तलब आउँछ, त्यो व्यक्तिले आफ्नो दिनको कमाइ त अरूलाई चलाउन दिएको जस्तै भयो की भएन। यदि त्यो पैसा दिनको हिसाबले पाउने हो भने २४ प्रतिशत ब्याजदरमा मार्केटमा राख्दा हजारौं रुपैयाँ कमाउन सकिन्छ। तर यसो नहुँदा धेरै कर्मचारीहरूले वार्षिक हजारौं रुपैयाँ गुमाइरहेका छन्।'

नेपालमा त झन् एक महिना काम गरेपछि बल्ल-बल्ल तलब आउँछ। आज काम गरेर कमाएको पैसा एक महिना पछि हातमा पर्दा त्यो पैसाको टाइम भ्यालु कम भइसकेको हुन्छ। यही समस्याहरूलाई समाधान गर्न सम्भवले जेबेकलाई जन्माएका हुन्। अहिले उनी यसलाई विभिन्न देशहरूमा फैलाउन काम अगाडि बढाउँदै छन्।

चितवनको सानो गाउँमा जन्मेहुर्केका सम्भव अहिले सिलिकन भ्याली तताएका छन्। उनी क्षमतावान नेपाली युवाहरूलाई हौस्याउँछन्- ‘सपना देख्नुहोस्, त्यसलाई साकार पार्न मिहिनेत गर्नुहोस्। यदि मैले गर्न सक्छु भने तपाईंहरू पनि सक्नुहुन्छ।’