भारतको गहुँ निकासी प्रतिबन्धको इफेक्ट, केही मैदा उद्योग भए बन्द, केही बन्द हुने बाटोमा



२०७९ साउन १३ गते १५:४१ | Jul 29, 2022


भारतको गहुँ निकासी प्रतिबन्धको इफेक्ट, केही मैदा उद्योग भए बन्द, केही बन्द हुने बाटोमा


विराटनगर। विगत ७ वर्षयता मोरङको बुढीगङ्गा गाउँपालिकामा मैदा, आँटा, सुजी र चोकर उत्पादन गर्दै आएको गोपाल फ्लोर मिललाई बिहिबारदेखि सञ्चालकले बन्द गरेका छन्।

Tata
Global Ime

कच्चा पदार्थ गहुँको अभावका कारण गोपाल फ्लोर मिल बन्द गरिएको हो। उद्योगका सञ्चालक भावेश राठीका अनुसार उद्योग पूर्ण क्षमतामा चल्दा दिनमा २५० टन गहुँ प्रशोधन गर्ने क्षमता राख्छ। उद्योगले बुधबारसम्म दैनिक ३० टन गहुँ प्रशोधन गरिरहेको थियो। तर गोदाममा गहुँ नभएपछि उद्योग बन्द गर्नुको विकल्प भएन। 

उनले पूर्ण स्वचालित प्रविधिको भएको हुँदा २५ श्रमिकमात्र राखिएको बताए। राठीले भने, ‘सबै श्रमिकहरू ठेक्का प्रणालीका थिए। हामीले उहाँहरूलाई तत्कालका लागि बिदा गरेका छौँ। कच्चा पदार्थ आएपछि उत्पादनका लागि फेरि बोलाउने बताएका छौँ।’

उनका सञ्चालनमा सुनसरीको इटहरीमा बाबा फ्लोर मिलन ामको अर्को मैदा उद्योग पनि छ। उनले बाबा फ्लोरको क्षमता पनि दैनिक २५० टन गहुँ प्रशोधन गर्ने रहेकामा हाल ७० टनको मात्र काम भइरहेको स्पष्ट पारे। ‘बाबाका गोदाममा ४–५ दिनलाई पुग्ने गहुँ होला’, उनको भनाइ छ, ‘नयाँ गहुँ आएन भने त्यो पनि एक हप्तापछि बन्द हुनेछ।’ 

भारत सरकारले वैशाख ३० गते भारत सरकारले गहुँको निर्यात बन्द गरेको सूचना सार्वजनिक गरेको थियो। नेपाल मैदा मिल एसोसिएसनका सचिव एवम् विशाल मैदा मिलका सञ्चालक विशाल बेगवानीले भारतले गहुँको निर्यात बन्द गरेसँगै नेपालका मैदा उद्योगलाई कच्चा पदार्थका अभाव सुरु भएको बताए।

सचिव बेगबानीका अनुसार नेपालमा ठूला लगानीका मैदा मिल ३७ वटा छन्। सबैलाई गरेर वार्षिक १० लाख टन गहुँ चाहिन्छ। तर नेपालको उत्पादन भनेको ३ देखि साढे ३ लाख टनमात्र हो। बाँकी साढे छ–सातलाख टन गहुँ भारतबाटै आयात गर्नुपर्छ।

बेगबानीले सबै उद्योगमा गहुँको समस्या भएको उल्लेख गर्दै अब बढीमा ८–१० दिन मात्र उद्योग चलाउन सकिने जिकिर गरे। उनले भने, ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले यही साउन १ गते सरकारले गहुँ आयातका लागि भारतसँग पत्राचार गरेको जानकारी हामीलाई दिनुभएको छ। पत्र पठाएको दुई हप्तापछि पनि देखिने गरी परिणाम आउननसक्नु दुःखको कुरा हो। सरकारले परिणाममुखी पहल गर्नु जरुरी छ।’