देवचुलीमा लगानी गर्न निजी क्षेत्रलाई मेयरको आग्रह, भने – ‘लगानीको वातावरणका लागि हामी तयार छौं’



२०७९ साउन १५ गते १९:२८ | Jul 31, 2022


देवचुलीमा लगानी गर्न निजी क्षेत्रलाई मेयरको आग्रह, भने – ‘लगानीको वातावरणका लागि हामी तयार छौं’


काठमाडौं। नवलपरासीको देवचुली क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई आग्रह देवचुली नगरपालिकाले आग्रह गरेको छ।

Tata
Global Ime

नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेको नेतृत्वमा आएका नगरपालिकाको टोली र  देवचुली उद्योग वाणिज्य संघका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले आइतबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूलाई भेटेर यस्तो आग्रह गरेका हुन्।

देवचुलीको भौगोलिक अवस्थिति, प्राकृतिक स्रोत साधन र स्थानीय तहमा स्थानीय सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य रहेका कारण देवचुलीमा लगानी गर्न प्रतिनिधिमण्डलले आग्रह गरको छ। 

उद्योग स्थापना, पर्यटन विकास, सार्वजनिक स्थल तथा विकास पूर्वाधार निर्माण लगायतका लागि देउचुलीमा लगानीको प्रचुर सम्भावना रहेको प्रतिनिधिमण्डलले महासंघका अधिकारीहरुलाई अवगत गराएका थिए। 

मेयर न्यौपानेले देवचुलीमा लगानी गर्न आउने लगानीकर्तालाई स्थानीय सरकारकातर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोग गर्न आफूहरु तयार रहेको बताए। 

महासंघको राष्ट्रिय तथा अन्तर्राष्ट्रियतहमा बलियो प्रभाव रहेकाले महासंघमार्फत स्वदेशी एवं विदेशी लगानी भित्र्याउने कार्यमा सहयोग गरिदिन मेयरले आग्रह गरेका थिए।

‘महासंघका पदाधिकारीज्यूहरू आफैं पनि ठूला लगानीकर्ताहरू हुनुहुन्छ। तपाईंहरूको सहयोग हाम्रो क्षेत्रले खोजेको छ। लगानीको वातावरण निर्माणसहित सबै सहजीकरणका लागि हामी तयार छौं,’ मेयर न्यौपानेले भने। 

महासंघका अध्यक्ष गोल्छाले देवचुलीमा स्थानीय सरकार र निजी क्षेत्रको संस्था उद्योग वाणिज्य संघबीचको सहकार्यबाट आफू अत्यन्त प्रभावित भएको भन्दै देवचुलीमा रहेको सम्भाव्यताका सम्बन्धमा विज्ञको सहयोगमा ठोस अध्ययन गराइ त्यसका आधारमा उक्त क्षेत्रको विकासमा अगाडि बढ्न सुुझाव दिए।

‘महासंघको तर्फबाट सहयोग गर्न हामी तयार छौं। तर एउठा ठोस अध्ययनका आधारमा लगानी प्रवद्र्धनसहित आर्थिक विकासका कुरालाई अगाडि बढाउन पाइयो भने त्यसले छिटो मूर्त रुप लिन सक्नेछ,’ गोल्छाले भने।

महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईले स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्यको यो प्रयासले नै त्यस क्षेत्रमा अर्थिक विकासको बलियो सम्भावना देखाएको धारणा राखे।

स्थानीय सरकार र निजी क्षेत्र बीचको सहकार्यलाई स्थानीय ऐनले पनि महत्वपूर्ण प्राथमिकता दिएकाले राजस्व संकलन, बस पार्क, मनोरज्जन पार्क, केवलकार निर्माण, सरसफाई लगायतका क्षेत्रमा काम गर्न सकिने उनीहरुले बताए।

नगरपालिका र संघ मिलेर आफ्ना क्षेत्रका सम्भाव्यता पहिचान गरी त्यसैको आधारमा दिगो रुपमा सहकार्य गर्न सहमतीपत्र हस्ताक्षर गरेर जानपनि उपाध्यक्षहरूले सुुझाव दिनुु भयो । 

देवचुली उवांघका अध्यक्ष सूूर्यप्रसाद दवाडीले समृद्ध देवचुलीको भोक स्थानीय सरकार र निजी क्षेत्र दुवैलाई भएकाले देवचुलीमा लगानीको अभियानलाई अगाडि बढाइएको बताए। 

भेटमा महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाई सहभागी थिए। 

यस्तै, देवचुलीका मेयर नेतृत्वको प्रतिनिधिमण्डलमा नगरपालिकाका उपमेयर पार्वता तिवारी, वडाध्यक्षहरु, देवचुली उद्योग वाणिज्य संघका अध्यक्षसहितका पदाधिकारीहरू थिए। 

देवचुलीलाई लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य रहेको मेयर मेयर नेतृत्वको प्रतिनिधिमण्डलले सन्देश दिएको थियो।