
वीरगंज। भारतबाट हुने गहुँ आयात रोकिएपछि वीरगंज-पथलैया औद्योगिक कोरिडोरका आँटा–मैदा उद्योगहरु प्रभावित भएका छन्।
बारा-पर्सा जिल्लाको वीरगंज-पथलैया औद्योगिक करिडोरमा आधा दर्जन आँटा मैदा उद्योग छन्। जसमध्ये कलैयाको मनोज अग्रवालको श्रीराम मैदा मिल पारिवारिक विवादको कारण करिब ५ वर्षदेखि बन्द छ भने बाँकी ५ वटा उद्योगहरु संचालनमा छ।
वीरगंजका खाद्यान्न व्यवसायी सुरेश रुगटाले गहुँ आयात रोकिँदा उद्योग समस्यामा परेको बताउँदै सरकारी निकायले बेवास्ता गरेको बताए। आफ्ना माग सुनाउन जाँदा वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वदेशमै २७ लाख टन गहुँ उत्पादन हुने गलत तथ्यांक पेस गरेको उनले गुनासो गरे।
वीरगंज खाद्य उद्योगका संचालक प्रदीप केडियाका अनुसार गहुँको स्टक कम हुँदै गएकाले केही दिनमै उद्योग बन्द हुन थाल्ने अवस्था देखिएको छ। वीरगंजका पाँच मैदा मिलबाट दैनिक तीन सय टन आँटा-मैदा प्रशोधन हुन्थ्यो भने अहिले डेढ सय टन मात्रै भइरहेको छ।