८ ट्रक सुपारीका बारेमा इन्डियन ल्यान्ड कस्टम अफिसको सोधिखोजी, किन पक्राउ गरिएको हो?



२०७९ साउन १६ गते १८:०९ | Aug 1, 2022


८ ट्रक सुपारीका बारेमा इन्डियन ल्यान्ड कस्टम अफिसको सोधिखोजी, किन पक्राउ गरिएको हो?


विराटनगर। मोरङ प्रहरीले यही साउन ५ गते पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको ८ ट्रक सुपारीका बारेमा इन्डियन ल्यान्ड कस्टम अफिस जोगबनीले चासो देखाएको छ।

Tata
Global Ime

जोगबनी कस्टमले दुबै भन्सार कार्यालयबाट जाँचपास भई भारतीय भूमिमा आइपुगेको सुपारी किन पक्राउ गरियो र थन्क्याइयो भन्दै चासो देखाएको हो।

विराटनगर भन्सार स्रोतका अनुसार जोगबनी कस्टमले विराटनगर भन्सारलाई पत्र लेख्तै भारतीय भूमिमा आइपुगेको सुपारी किन पक्राउ गरिएको हो र किन थन्क्याइएको हो भन्ने प्रश्न गरेको छ।

विराटनगर भन्सारले उक्त प्रश्नको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाल प्रहरी, राजस्व अनुसन्धान, भन्सार विभाग र अर्थ मन्त्रालयमा पठाइएको जनाएको छ।

उक्त सुपारीका क्लियरिङ एजेन्ट किशोर शाहीले जोगबनीदेखि ४ किलोमिटर दक्षिणको मीरगञ्जको पुल भत्किएको बताए।

एजेन्ट शाहीले पुल भत्किएका कारणले उक्त सुपारी मोरङ विराटनगरबाट सुनसरीको इटहरी हुँदै भन्टाबारीबाट भारतीय भूमिमा पुर्याइँदै गरेका अवस्थामा प्रहरीले गैरकानुनी ढङ्गले पक्राउ गरेको जिकिर गरे।

‘त्यो सुपारीलाई त प्रहरीले विराटनगर भन्सारदेखि एस्कर्टिङ गरेर भन्टाबारी नाका कटाउनुपर्ने थियो’, शाहीको भनाइ थियो, ‘तर प्रहरीले आफ्नो दायित्व र कर्तव्यबाट बाहिर गएर पक्राउ गरेर राजस्व अनुसन्धानमा बुझाउने काम गरेको छ।’

‘सुपारी छाडिदेऊ’/विराटनगर भन्सार
विराटनगर भन्सार कार्यालयले पनि राजस्व अनुसन्धान कार्यालय इटहरीमा पत्र लेख्तै मोरङ प्रहरीले पक्राउ गरेर त्यहाँ बुझाएको ८ ट्रक सुपारी छाडिदिन आग्रह गरेको छ।

पत्रमा उक्त सुपारी दुबै भन्सारबाट जाँचपास भई भारतीय भूमिका लागि प्रस्थान भइरहेको अवस्थामा पक्राउ परेको उल्लेख छ।

पत्रमा मीरगञ्ज पुलको क्षतिका कारणमात्र नेपाली भूमि हुँदै उक्त सुपारी भारत लगिएको हुँदा प्रहरीले पक्राउ गर्न नमिल्ने तर्क प्रस्तुत गरिएको छ।

अनुसन्धान सुस्त
यसैबिच राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले समेत अनुसन्धानमा चासो देखाएर निर्देशन दिएपछि राजस्व अनुन्धानले गरिरहेको अनुसन्धान प्रक्रिया लम्बिएको छ।

समितिका सभापति रमेशजङ्ग रायमाझीले आफू राजस्व अनुसन्धान कार्यालय इटहरीमै पुगेर निर्देशनसहितको पत्र दिएको बताए।

सभापति रायमाझीका अनुसार पत्रमा नेपालका कुन/कुन जिल्ला र पालिकामा कति/कति सुपारीको उत्पादन गरिन्छ भनेर सोधिएको छ।
पत्रमा निर्यात गर्न लागिएको र नेपालमा उत्पादित सुपारी दुबैको डिएनए परीक्षण गर्न निर्देशन दिइएको छ।

‘इन्डोनेसियाबाट सुपारी पैठारी गरेर नेपालमा उत्पादन गरिएको भन्ने झुठो कागज बनाएर धेरै समय अगाडिदेखि भारत पैठारी गर्ने गरिन्छ’, रायमाझीले बिजमाण्डूलाई भने, ‘यस विषयमा दुबै संसदमा बारम्बार प्रश्नहरू उठिरहेका छन्। त्यसैले सुपारीका सवालमा संसद् गम्भीर छ र संसद् गम्भीर तथा बृहत् ढङ्गले यसको अनुसन्धान गरिनुपर्छ भन्ने दृष्टिकोण राख्छ।’

उनले केही महिनापहिले सुपारीका कारोबारका विषयमा संसदमा आफ्नै संयोजकत्वमा पाच सदस्यीय छानबिन समितिको गठन गरिएको जानकारी दिए।

समितिले ओली सरकारले चार/पाँच व्यापारीलाई एकलौटी ढङ्गले पोस्ने गरी सुपारीको पैठारीको अनुमति दिइएको निष्कर्ष निकालेको रायमाझीको भनाइ छ।

राजस्व अनुसन्धान विभाग बबरमहलले पक्राउ गरिएको सुपारीको अनुसन्धानलाई तीव्र बनाइएको दाबी गरेको छ।

अनुसन्धानले सुपारी निर्यातकर्ता मनकामना ट्रेडर्सलाई पत्र लेख्तै उक्त सुपारी कहाँकहाँबाट कति/कति परिमाणमा खरिद गरिएको हो भन्ने प्रश्न सोधेको छ।

त्यस्तै अनुसन्धानले उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि गरी २ मन्त्रालयमा पत्राचार गरेको छ। वाणिज्यलाई नेपालमा सुपारीको उत्पादन, व्यापार, गुणस्तर र निर्यातसम्बन्धी जिज्ञासा राखिएको छ। त्यस्तै कृषिलाई नेपालका कुन/कुन ठाउँबाट कति/कति परिमाणमा सुपारीको उत्पादन र प्रशोधन गरिन्छ भन्ने प्रश्न गरिएको छ।

भारत लैजान लगिएको ८ ट्रक सुपारी नेपालकै उत्पादन भएको प्रमाण बनाउने निकाय नेपाल सुपारी खेती विकास संस्था हो। संस्थाले जिल्ला कृषि कार्यालय झापाअन्तर्गतको कृषि ज्ञान केन्द्रलाई प्रभाव र प्रलोभनमा पारेर नेपालमा उत्पादन गरिएको कागज बनाउँदै आएको छ। संस्थामा विगत डेढ दशकदेखि देवीप्रसाद खतिवडामात्र अध्यक्ष छन्।

स्रोतका अनुसार संस्थाले नेपालमा उत्पादन गरिएको सुपारी भन्ने कागज बनाइदिएबापत निर्यातकर्ता पार्टीसित प्रति किलो १५ रुपैयाँका दरले अनधिकृत रूपमा कमिसन लिने गर्छ। उक्त रकम संस्थाका पदाधिकारी र सदस्यलाई भाग लगाइन्छ तथा केही अंश संस्था सञ्चालन गर्न भनेर राखिन्छ।

एक कृषिविज्ञले सुनाए, ‘झापामा सुपारी पाक्ने सिजन जेठ/असार महिना हो। तर पाकेको सुपारी टिपेर त्यसलाई काटेर सुकाउने तथा प्रशोधन गर्ने प्रविधि यहाँ छैन। त्यसैले त्यसलाई पुसमाघ महिनामै कलिलैमा टिपेर उसिनेर प्रशोधन गरिन्छ। उक्त सुपारी गुणस्तरीय र स्वादिलो पनि भएका कारणले महँगोमा विक्री गरिन्छ। विज्ञले हेर्नेबित्तिकै कुन सुपारी नेपालमा उत्पादन गरिएको र कुन चाहिँ इन्डोनेसियाबाट पैठारी गरिएको भनेर सहजै छुट्याउन सक्छन्।’

९० करोडको निर्यात
विराटनगर भन्सार नाका हुँदै गत आर्थिक वर्षमा ९० करोड रुपैयाँको सुपारी निर्यात गरिएको तथ्याङ्क प्राप्त भएको छ। कार्यालयले उक्त आवमा ९० करोड ६ लाख बराबरको २ हजार २४९ टन सुपारी निर्यात गरिएको जनाएको छ।

त्यस्तै विराटनगर नाका हुँदै गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ६६ लाख बराबरको ५ हजार ७४८ टन सुपारी इन्डोनेसियाबाट पैठारी गरिएको छ।

त्यस्तै अघिल्लो आव २०७७/७८ मा २० करोड ७२ लाखबराबरको १ हजार १६५ टन र आव २०७६/७७ मा ७९ करोड ५७ लाख बराबरको ५ हजार ७७७ टन सुपारी विराटनगर भन्सार हुँदै आएको छ।

मेची भन्सार कार्यालय काँकडभिट्टा पनि सुपारीको पैठारीका लागि एक मुख्य नाका हो। यस नाकाबाट गत आवमा ४ अर्ब ३७ करोड १ लाख मूल्यको १५ हजार ३१८ टन सुपारी पैठारी गरिएको छ।

त्यस्तै आव २०७७/७८ मा ९९ करोड ९७ लाख मूल्यको ६ हजार ३९१ टन र आव २०७६/७७ मा १ अर्ब ४८ करोड ५ लाख मूल्यको ११ हजार ४८ टन सुपारी काँकडभिट्टा नाकाबाट पैठारी गरिएको छ।