
काठमाडौं। इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ। योसँगै अब इसेवा प्रयोगकर्ताहरुले इसेवा मार्फत सहजै होटल बुक गर्न सक्ने छन्। इसेवा एप मार्फत नेपालका कुनैपनि क्षेत्रका होटल बुक गर्न सकिने कम्पनीले जनाएको छ। इसेवामा हाल देशभरका होटलहरु सूचीकरण गर्ने कार्य भइरहेको छ। इसेवाले अनलाइन मार्फत होटल बुक गर्ने भएमा इसेवामा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
इसेवामा भएका होटलहरुको सूची इसेवा होटल डटकममा गएर हेर्न सकिनेछ। इसेवा मार्फत शुक्रबार साँझ ६ बजेसम्म होटल बुक गरेमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको कम्पनीले जनाएको छ। हाल यो सेवा एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भएपनि केही दिनमा एप्पलको आइओएसमा समेत उपलब्ध हुने बताइएको छ।
‘विविध सेवाहरुलाई एकै ठाउँमा ल्याएर डिजिटल नेपाल र कारोबारलाई बढवा दिने परिकल्पना अनुसार हामीले अब होटलको सेवा सुरुवात गरेका छौँ। यसबाट ग्राहक र होटललाई सेवा मिल्नेछ भन्ने विश्वास लिएका छौं। साथै कोभिडपछिको पर्यटन क्षेत्रको मन्दीलाई पनि यसले केही हदसम्म टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौं। साथै भविष्यमा अन्तर्राष्ट्रिय होटलसँग पनि सहकार्य गरि अन्तर्राष्ट्रिय प्रयोगकर्ता र यहाँबाट बाहिर जाने व्यक्तिहरुलाई अनलाइनबाटै होटल बुक गर्ने व्यवस्था मिलाउनेछौ,’ इसेवामा होटल सेवा सुरु भएसँगै इसेवाका होटल विभाग प्रमुख अनुज विष्टले भने।
इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप मार्फत सेवा प्रदान गरिरहेको छ। इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सुविधा दिइरहेको छ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाइल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।