काठमाडौं। फेब्रुअरी, २०१८ मा नेपालबाट भारत जाँदै गरेको सुपारी भारतको जोगवनी भन्सारले समात्यो। जोगवनी भन्सारलाई यो सुपारी 'नेपालमै उत्पादन भएको' भन्नेमा शंका थियो।
जोगवनी भन्सारका डेपुटी कमिश्नरले नियन्त्रणमा लिएको सुपारीको परीक्षण गर्न कर्नाटकको एरेकानट रिसर्च एण्ड डेभलपमेन्ट फाउण्डेसनमा पठाए। फाउण्डेसनले फेब्रुअरी २३ मा सुपारी नेपाली नभएर इन्डोनेसियाको भएको प्रमाणित गर्दै जवाफ पठायो।
यसरी चार वर्ष अघि नेपाली सुपारीको नाममा नेपालबाट इन्डोनेसियाको सुपारी जसले आयात गरेको थियो, अहिले पनि त्यही कम्पनीले नेपालबाट नेपाली सुपारीको नाममा इन्डोनेसियाको सुपारी आयात गरिरहेको पाइएको छ।
त्यतिबेला भारतको कोलकाता गुलाम जिलानी खान रोडमा ठेगाना राखेर दर्ता गरेको आयशा एक्स्पोर्ट प्रालिले नेपालबाट सुपारी आयात गरेको थियो। त्यही कम्पनीले यसपटक मनकामना ट्रेडर्सबाट सुपारी आयात गरेको छ।
आयशा एक्सपोर्ट कम्पनी भारतको आयशा मन्जिल, नवाबगंज किसानगंज विहारमा बस्ने फरहात मजार र मजरुल हकको नाममा दर्ता छ। उनीहरुले आवरणमा चियाको कारोबारलाई देखाए पनि सुपारीको तस्करी धन्दामा संलग्न भएको देखिन्छ।
उनीहरुको सुपारी तस्करी धन्दामा नेपालका सुपारी तस्करहरुले ब्याकबोनको काम गरेको देखिन्छ। 'आयशा एक्सपोर्टका फरहात र मजरुल आवरणमा देखिए पनि यो कारोबारमा नेपाली व्यापारीको प्रत्यक्ष संलग्नता छ,' इन्डोनेसिया-नेपाल र भारतबीच हुने सुपारी कारोबारलाई नियालिरहेका एक व्यापारीले बताए।
'कतिपय अवस्थामा नेपालबाट इन्डोनेसियामा सुपारी खरिदको एलसी जान्छ, इन्डोनेसियाबाट सुपारी पनि नेपालका लागि निर्यात हुन्छ तर त्यो सुपारीको कन्साइन्मेन्ट नेपाल आइपुग्दैन,' उनले भने।
![]()
'त्यो सुपारी कोलकाताबाटै भारतका विभिन्न ठाउँमा पुग्छ, नेपालको भन्सारमा कागजात मात्रै आउँछ। कतै केही गरी आयो भने मात्रै त्यो सुपारी निर्यात हुने हो,' उनले भने।
गत आर्थिक वर्षमा इन्डोनेसियाबाट झण्डै तीन अर्बको सुपारी आयात भए पनि जम्मा एक अर्बको मात्रै निर्यात भएको छ। र, त्यो एउटा मात्रै कम्पनी हो मनकामना ट्रेडर्स।
स्रोतका अनुसार मनकामना ट्रेडर्सको दर्ता १५ वर्ष पहिले भएको हो। विराटनगर-१४ भानुटोल ठेगाना राखेर दर्ता गरिएको उक्त फर्मले पछिल्ला १५ वर्षमा कुल दुई करोड रुपैयाँको मात्रै कारोबार गरेको थियो।
तर गत आर्थिक वर्षमा भने नेपालबाट सुपारी भारत निर्यात गर्नेमा यो एक्लो कम्पनी छ, जसले एकै वर्षमा ९० करोडभन्दा बढीको कारोबार गरेको छ।
बिजमाण्डूलाई प्राप्त विवरण अनुसार मनकामनाले आर्थिक वर्ष २०६४/६५ देखि २०७१/७२ शून्य कारोबार देखाएको छ। यो अवधिको नवीकरण एकैपटक २०७१ असार ३ गते गरेको छ। जसअनुसार ०६४ सालको ६९ सय रुपैयाँ कर तिरेको छ। कम्पनीले एकै पटक आर्थिक वर्ष २०७२/७३ मा ४६ लाख ३७ हजार कारोबार भएको देखाएको छ। जसमा करयोग्य आय ५६ हजार देखाएर २ हजार कर तिरेको छ।
यसैगरी २०७३/७४ मा ५ लाख ६८ हजार कारोबार देखाएको छ। जसमा कर योग्य रकम २१ हजार ४ सय हुन आउँछ। यसको कुनै पनि कर दाखिला गरेको छैन।
कम्पनीले एकै पटक आर्थिक वर्ष २०७४/७५ मा १ करोड ६१ लाखको कारोबार गरेको छ। जसको करस्वरुप ७३ सय ८७ रुपैयाँ आन्तरिक राजस्व कार्यालय विराटनगरमा तिरेको छ। यसपछि भने आर्थिक वर्ष २०७७/७८ सम्म शून्य कारोबार देखाएको छ।
कम्पनीले एकैपटक आर्थिक वर्ष २०७८/७९ मा भने चमत्कारिक व्यवसाय गरेको देखिएको छ। तथ्यांक अनुसार २०७८ फागुन ५ गते एकैदिन तीन पटक सुपारीको ट्रक भारत पठाएको देखिएको छ। एकैदिन ४ करोड ८५ लाख बराबरको सुपारी निर्यात गरेको छ। त्यसपछि चैत २५ गते ९ करोड ४१ लाखको सुपारी भन्सार जाँचपास गराएको छ।
यसपछि २०७९ जेठ २५ गते दुई पटक गरी ३६ करोड १४ लाखको सुपारी निर्यात गरेको छ। यसैगरी साउन १२ गते एकैदिन २ पटक गरेर ४० करोड १५ लाख बराबरको सुपारी निर्यात भएको छ। यस हिसाबले गत वर्षको फागुनदेखि चालु वर्षको साउनसम्म ६ महिनामै ९० करोडभन्दा बढीको सुपारी यही कम्पनीले निकासी गरेको छ।
| कम्पनीको नाम | निर्यात वर्ष | निर्यात (रुपैयाँमा) |
| मनकामना ट्रेडर्स | २०६४/०६५ | ० |
| मनकामना ट्रेडर्स | २०६५/०६६ | ० |
| मनकामना ट्रेडर्स | २०६६/०६७ | ० |
| मनकामना ट्रेडर्स | २०६७/०६८ | ० |
| मनकामना ट्रेडर्स | २०६८/०६९ | ० |
| मनकामना ट्रेडर्स | २०६९/०७० | ० |
| मनकामना ट्रेडर्स | २०७०/०७१ | ० |
| मनकामना ट्रेडर्स | २०७१/०७२ | ० |
| मनकामना ट्रेडर्स | २०७२/०७३ | ४६ लाख ३७ हजार |
| मनकामना ट्रेडर्स | २०७३/ ०७४ | ९लाख ६८ हजार |
| मनकामना ट्रेडर्स | २०७४/०७५ | १ करोड ६१ लाख |
| मनकामना ट्रेडर्स | २०७५/०७६ | ० |
| मनकामना ट्रेडर्स | २०७६/०७७ | ० |
| मनकामना ट्रेडर्स | २०७७/०७८ | ० |
| मनकामना ट्रेडर्स | २०७८/०७९ | १४ करोड २७ लाख |
| मनकामना ट्रेडर्स | २०७९/०८० | ७६ करोड २९ लाख |
| जम्मा | ९२ करोड ७२ लाख |
सेन्टर कलेक्सन मनकामना ट्रेडर्स
२१ ट्रेडिङ फर्मले ल्याएको सबै सुपारी मनकामनाले सेन्टर कलेक्सन गरेको खुलेको छ। आयात गर्ने फर्म २१ भए पनि निर्यात गर्ने फर्म एक मात्रै देखिएको हो। १५ वर्षदेखि मनकामनाले मात्रै सुपारी निर्यात गरिरहेको भन्सार विभागले पुष्टि गरेको छ। भन्सार नाकामा सेटिङ मिलाएर निर्यात गर्न सक्ने फर्म मनकामना मात्रै हो। सुपारी निर्यातका लागि निकै झन्झट छ।
यसका लागि उत्पतिको प्रमाणपत्र देखी भन्सार जाँचपास सम्म ठूलै शक्ति लगाउनुपर्छ। त्यो शक्ति यसका संचालक नवीन घिमिरेसँग छैन। तर घिमिरेका भिनाजु दीपक पोखरेल जो सुपारी कारोबारमा सक्रिय छन्, उनले सबै शक्ति केन्द्र रिझाएर सुपारी आयात-निर्यात गर्न सक्छन्। पोखरेल सौर्य एयरलाइन्सका अध्यक्ष समेत हुन्।
घिमिरे आयात–निर्यात व्यापारमा सक्रिय व्यवसायी होइनन्। मूलतः उनी खेलाडी हुन्। उनी नेपाल क्रिकेट संघको प्रदेश नम्बर १ का उपाध्यक्ष र मोरङका अध्यक्ष समेत हुन्। यसअघि प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे भएका बेला विराटनगर-१९ स्थित खेलकुद रंगशालामा उपभोक्ता समितिबाट निर्माण गरिएको क्रिकेट मैदानमा भ्रष्टाचार भएको भन्दै घिमिरे विवादमा तानिएका थिए।
नवीनको पुर्ख्यौली पेसा होटल व्यवसाय हो। उनका पिता स्वर्गीय टीकाराम घिमिरे विराटनगरका पायोनियर होटल व्यवसायी मानिन्छन्। उनले २० का दशकमा 'बाजेको होटल' नामले विराटनगरमा होटल खोलेका थिए। एक दशक अघिसम्म बाजेको होटल संचालनमा थियो। अहिले बन्द छ। तर नवीन विराटनगर बसपार्कअगाडिको धनकुटा लज भने चलाइरहेका छन्। नवीन कुनै वेला एक प्लाइउड उद्योगमा पनि संलग्न थिए। तर त्यसबाट सफलता हात लाग्न सकेन र होटल व्यवसायमै फर्किए। (अर्को स्टोरी केपी शर्मा ओली: जसले कोटा तोकेर सुपारी तस्करीलाई प्रोत्साहित गरे)


