भदौ २ देखि अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै, निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने



२०७९ साउन २४ गते १६:०० | Aug 9, 2022


काठमाडौं। छैटौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला आयोजना हुने भएको छ। महिला उद्यमी महांसघ नेपालले भदौ २ देखि ६ गतेसम्म सानेपाको हेरिटेज गार्डेन मेला आयोजना गर्ने भएको हो।  

Tata
Global Ime

व्यापार मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरुको सहभागिता रहने छ। नेपालमा उत्पादित वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्द्धन गर्न मेला आयोजना गरिने भएको हो।

महिला उद्यमी महांसघ नेपाल, नेपाल सरकारको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सानिमा बैंक,ज्योति विकास बैंक, कृषि विकास बैंक, सिप्रदी ट्रेडिङ प्रालिले संयुक्तरूपमा मेला प्रायोजन गरेका छन्।

मेलामा हस्तकलाका सामानहरु जस्तैः प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु, कृषिजन्य उत्पादन, पुष्प सामाग्री, जडिबुटी, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रदर्शनीमा राखिनेछन्। 

यस मेलामा जिल्ला,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरुका उत्पादनहरुको गरी जम्मा १ सय ६ वटा स्टलहरु रहने आयोजकले जनाएको छ। व्यापार मेलाले उद्यमी महिलाको सीप र सृजनालाई बजारमा पहिचान बनाउन सघाउ पुर्‍याउनुका साथै अगाडि बढ्न प्रोत्साहित गर्ने विश्वास लिइएको महासंघले जनाएको छ।