भारतको ‘अमृत महोत्सव’: समाजवादबाट पुँजीवादसम्म, उकालो ओरालो चढ्दै शक्तिशाली मुलुक



२०७९ साउन २९ गते २०:३८ | Aug 14, 2022


भारतको ‘अमृत महोत्सव’: समाजवादबाट पुँजीवादसम्म, उकालो ओरालो चढ्दै शक्तिशाली मुलुक


काठमाडौं। भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको छ। यसलाई भारतले ‘अमृत महोत्सव’ का रुपमा मनाइरहेको छ। एउटा व्यवस्थित देश बन्नका लागि यी ७५ वर्षमा भारतले कठिनाइहरु पार गर्नु परेको छ।

Tata
Global Ime

अंग्रेजहरुको पाइला पर्नुअघि भारत राज्य समृद्धशील थियो। अंग्रेजहरु गएपछि भारत स्वतन्त्र त भयो तर धनी राज्यबाट गरिबमा परिणत भइसकेको थियो। भारतीयहरुको जीवनस्तर निकै कठिन र दुःखपूर्ण थियो। देशलाई अगाडि बढाउने रणनीति थिएन र योजना पनि थिएन। नयाँ आधार आफैंले तयार गर्नुपर्ने थियो।

तर आज भारत समृद्ध छ। शक्तिशाली मुलुकमा दरिएको छ। अंग्रेजको उपनिवेशदेखि आज स्वतन्त्र र समृद्ध भारतको यात्रा भने लोभलाग्दो छ। यो यात्रा अगाडि बढाउन धेरै खालका प्रयोग भएका छन्। त्यसमध्ये कतिपय असफल पनि भए।

नेहरुको समाजवादी युग

सन् १९४७ देखि १९५७ सम्मको समय जवाहरलाल नेहरुको समाजवादको युग थियो। भारतले निकै दुःखले स्वतन्त्रता पाएको थियो। दु:खका दिनहरु ताजा थिए त्यसैले अंग्रेजका नीतिहरुको छाप सुरुवाती दिनहरुमा परेको थियो।

भारतलाई अंग्रेजको उपनिवेशको समयबाट आफूलाई अलग गरेर हेर्न जरुरी थियो। उद्योगधन्दा थिएन। पुँजी निर्माण हुने वस्तु उत्पादन गर्ने खालका उद्योगै थिएनन्। छिटपुट उद्योग थिए तर तिनले ठूलो मात्रामा उत्पादन गर्न सक्दैनथे।

त्यसबेला भारतको व्यापारिक वर्गले एउटा सुझाव दिए- १९४५ को ‘बम्बे योजना’ अन्तर्गत ‘क्यापिटल गुड्स’ बनाउनका लागि ठूलो सार्वजनिक क्षेत्रका फर्म/कम्पनीको सुरुवात गर्ने निर्णय भयो। यो मोडेल अमेरिकाको ‘न्यू डिल’ र तत्कालीन सोभियत संघ (रुस)सँग प्रेरित थियो।

स्वतन्त्रतापछि यही नीतिका कारण उच्च दरले औद्योगिकरणको सुरुवात भयो। उत्पादनका हिसाबले यो दोस्रो सबैभन्दा ठूलो दशक साबित भयो।

अमेरिका छाडेर रुसतर्फ झुकाव

सन् १९५७ देखि १९६७ को दशक भारतका लागि निकै चुनौतीपूर्ण थियो। यो दशकमा भारतले दुई ठूला युद्ध लड्नु परेको थियो। सन् १९६२ मा चीनसँग र १९६५ मा पाकिस्तानसँग युद्ध लडेको थियो।

१९६५ देखि १९६६ सम्म भारतमा खडेरी परेको थियो। मूल्यवृद्धि एकदमै माथि पुगेको थियो भने ऋण तिर्नुपर्ने दबाब पनि उत्तिकै थियो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंक भारतीय मुद्रा अवमूल्यनका लागि दबाब दिइरहेका थिए। पाकिस्तानसँग युद्ध भएपछि अमेरिका रिसाएको थियो। उसले पीएल-४८० डिल नवीकरण गर्न अस्वीकार गरेको थियो। यसले गर्दा भारतीय रुपैयाँको भाउमा गिरावट आयो। यसले भारत पश्चिमबाट पूर्वतिर फर्किन बाध्य भयो। यही विन्दुबाट भारत र रुसको गहिरो सम्बन्ध स्थापना भयो।

राष्ट्रियकरण २.० को दशक

सन् १९६७ देखि १९७७ को दशक राष्ट्रियकरण २.० को दशक बन्यो। सन् १९५० मा राष्ट्रियकरणको पहिलो लहर आएको थियो। यसमा नागरिक उड्डयन, रेल सेवाजस्ता क्षेत्रको राष्ट्रियकरण भयो। सन् १९७७ सम्मको दशकमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९५० को समाजवादी नीतिलाई फेरि ब्यूँताइन्। बैंक र कोइला खानीलाई राष्ट्रियकरण गरिन्।

यसबाहेक कसैको एकछत्र सर्वोच्चता नहोस् भनेर छुट्टै कानुन पनि बनाइन्। यसको नाम थियो- एकाधिकार एवम् अवरोधक व्यापार र व्यवहार अधिनियम। त्यसबेला खुलेका कतिपय उद्यम अहिले पनि नाफामा छन् भने बीएसएनएल, एमटीएनएलजस्ता कम्पनी असफल भए।

सेयर बजार र रंगिन टीभीको समय

सन् १९७७ देखि १९८७ को दशक भारतका लागि खास दशक हो। यसबीचमा धितोपत्र कारोबार गर्ने बम्बे स्टक एक्सचेञ्ज (बीएसइ) र सेन्सेक्स स्थापना भए। टीभीमा पनि पहिलोपटक सप्तरंगी चित्रहरु खेल्न थाले। यी दुवै कारणले मध्यम वर्गलाई पैसा खर्च गर्न र लगानी गर्न बाटो दियो। सेन्सेक्स १९८६ बाट सुरु भयो। यसको आधार वर्ष १९७९ लाई निर्धारण गरियो।

भारतमा कलर टीभी १९८२ बाट सुरु भयो। यो दशकमा कयौं लोकप्रिय कार्यक्रम बने। ‘हम लोग’, ‘बुनियाद’, ‘चित्रहार’, ‘रामायण’ देखि ‘महाभारत’ सम्म यही दशकबाट बन्न सुरु भएका हुन्।

उदारीकरण युगको सुरुवात

सन् १९८७ देखि १९९७ को दशक उदारीकरणको दशक हो। सरकारले हडपेका कयौं उद्योगहरु निजी क्षेत्रलाई जिम्मा लगाइयो। लाइसेन्स राजको अन्त्य गरेर खुला र प्रतिस्पर्धी बजारको आधार दिइयो।

यो दशकमा कार कम्पनीहरु प्रशस्त खुले। मारुती कम्पनी यही दशकमा खुलेको हो। सस्तो कार उत्पादन गर्न सरकारले सुजुकीसँग संयुक्त लगानीको हात अगाडि बढाएको थियो। सरकारले ठूला ठूला उद्योग खोल्न निजी क्षेत्रलाई आह्वान गर्‍यो। उनीहरुले जस्तो कानुन चाहन्छन् त्यस्तै कानुन निर्माण गरिदियो।

आर्थिक वृद्धिमा लाग्यो पखेटा

सन् १९९७ देखि २००७ को दशक भारतले उच्च आर्थिक वृद्धि हासिल गरेको थियो। १० वटा वर्षहरुमध्ये ६ वटा वर्ष भारतले ८ प्रतिशत माथिको आर्थिक वृद्धि हासिल गर्‍यो।

एउटा वर्ष ९ प्रतिशत माथिको आर्थिक वृद्धि हासिल भयो। उच्च आर्थिक क्रियाकलापसँगै मोबाइल फोन बोक्नेको संख्या बढेर गयो। यद्यपि मोबाइलको प्रयोग त्यही दशकबाट सुरु भएको थियो। यसले इन्टरनेटको पहुँच बिस्तारका लागि सरकार र निजी क्षेत्रलाई दबाब दियो।

अन्तरिक्षमा भारत

सन् २००७ देखि २०१७ को दशकमा भारतले अन्तरिक्षमा पनि आफ्नो पहुँच बढायो। सन् १९८० मा भारतले रोहिणी सेटेलाइट आविष्कार गरेको थियो।

यसले भारतप्रति सबैको आँखा सोझिएको थियो। सन् २००७ देखि २०१७ का बीचमा भने भारतले संसारलाई अन्तरिक्ष यानमा बलियो चुनौती दियो। यस बीचमा भारतले ३४० भन्दा बढी सेटेलाइट अन्तरिक्षमा पठायो।

मोदी युग

हुन त नरेन्द्र मोदी सन् २०१४ बाट प्रधानमन्त्री बनेका हुन्। तर उनको काम भने सन् २०१७ बाट देखिएको छ। सन् २०१७ देखि २०२२ मा मोदी वित्तीय पहुँच अभिवृद्धिमा काम गरेका छन्। प्रधानमन्त्री जनधन योजनाबाट यसलाई अगाडि बढाइएको छ। यो पाँच वर्षमा तीव्ररूपमा बैंक खाताहरु खुले। सरकारी स्किम तथा सुविधाहरु बैंक खातामार्फत सोझै सर्वसाधारणसम्म पुग्यो। (एजेन्सीको सहयोगमा)