
काठमाडौं। अचेल तपाईंहरुमध्ये धेरैले नेपाल टेलिकम वा एनसेलको नेटवर्कबाट फोन गर्दा सुरुमै अनौठो कलर रिङ ब्याक टोन (सीआरबीटी) सुन्नु भइरहेको होला। यसअघि भित्रै फोन गर्दा सिधै ‘टुऽऽऽऽऽट टुऽऽऽऽऽट’ सीआरबीटी मात्रै सुन्ने गरिन्थ्यो। अहिले त्यो बज्नुअघि फरक टोन बज्ने गरेको छ।
अहिले फरक टोन बज्दा फोनकल लाग्ने समयलाई (कल सेटअप टाइम) इंगित गर्न बजेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
‘तपाईंहरुले कसैलाई फोन गर्दै हुनुन्छ नि, त्यो फोनकल लाग्ने पिरियड (कल सेटअप टाइम) त्यसमा फरक टोन बजिरहेको छ। कल सेटअप वा लागेपछि भने पहिलाकै रेगुटर टोन बज्छ,’ अधिकारीले बिजमाण्डूसँग भने।
यसअघि कल सेटअप टाइम र फोन लागिसकेपछि उस्तै टोन भएकाले फरक अनुभुति नभएको तर, अहिले फरक हुँदा धेरैलाई याद भएको उनले बताए।
केही महिनायता नियामक नेपाल दूरसञ्चार प्राधिकरणले समय समयमा दूरसञ्चार कम्पनीहरुको सेवाको गुणस्तार परीक्षण गरिरहेको छ। जसमा कल सेटअप टाइमलाई पनि प्राधिकरणले अध्ययनको एउटा सूचकको रूपमा राखेको छ। प्राधिकरणले कल सेटअप टाइम ५ सेकेन्ड वा त्योभन्दा कम समय हुनुपर्ने थ्रेसहोल्ड अपरेटरहरुलाई तोकेको छ।
जसका कारण नेपाल टेलिकम वा एनसेलका प्रयोगकर्ताहरुले फरक टोनका कारण अहिले कल लाग्न कति समय लाग्ने रहेछ भनेर सहजै हिसाब गर्न सक्छन्।