काठमाडौं। विशाल व्यवसाय र बीमाशुल्क आर्जनले इन्डस्ट्री लिडर भनेर चिनिने जीवन बीमा कम्पनीहरुको व्यापार भने खस्किन थालेको छ।
इन्डस्ट्रिका टप टायर जीवन बीमा कम्पनीहरुको व्यवसायमा नै अस्वभाविक गिरावट देखिएको हो। नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन तीन वटाको व्यवसाय खुम्चिरहेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले देखिएको छ।
मुख्यतया बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीहरुले आफ्नो बजार हिस्सा गुमाउँदै छन्। बीमा समितिले २०७४ मा एकसाथ १० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएपछि जीवन बीमा व्यवसाय थप टफ भएर गएको हो। पुराना कम्पनीको नेटवर्कका बाबजुद पछिल्लो पुस्ताका जीवन बीमा कम्पनीको ग्रोथ उल्लेख्य देखिन्छ।
यस कारण पनि पुरानाले आफ्नो स्थापित ट्र्याक रेकर्ड बचाउन एग्रेसिभ व्यवसाय विस्तार गरे। व्यवसाय बढाउँदा खराब पोलिसीको बोझ समेत थपिएको छ। व्यवसाय बढाउने क्रममा नियन्त्रण र जोखिम न्यूनीकरण उपायहरू सेटअप गर्दा नाफामा दबाब परेको हो।
त्यहि कोर बिजनेश मात्र नभएर सेयर बजार जस्तो जोखिम भएका क्षेत्रमा समेत कम्पनीहरुको लगानी उल्लेख्य भएको हो। सेयर बजारले ओरालो लाग्न थालेपछि फराकिलो लगानीको आकार खुम्चिँदो अवस्थामा छ।
यसले गर्दा जीवन बीमा कम्पनीहरुको नोक्सानी व्यवस्थापनको रकम पोहोको तुलनामा उल्लेख्य बढेको पनि छ। व्यवसाय बढाउन बढ्दो प्रतिस्पर्धाले औसत जोखिम नै बढाएर लगेको जीवन बीमा व्यवसायी बताउँछन्।
‘बिजनेश बढाउने दाउमा जोखिमपूर्ण तरिकाले प्रिमियम कलेक्सन हुँदैछ। उधारोमा पोलिसी बिक्री भएका छन्। मौज्दात बिनाको ब्ल्यांक चेक काट्ने र अग्रिममै प्रिमियम उठाइएको भुक्तानी रसिद समेत काटिए,’ जीवन बीमा कम्पनीका एक संचालकले बिजमाण्डूसँग भने।
व्यवसायको बढ्दो ग्राफ देखाउने चक्करमा अभिकर्तालाई अस्वभाविक किसिमका कमिसन समेत दिइने गरेको उनको बुझाइ छ। व्यवसायिक कुशलता विनै प्रलोभन देखाएर पोलिसी बिक्री गर्ने र बबल भएको प्रिमियम संकलनको फिगरले पछिल्लो समय अस्वभाविक जोखिम बीमा क्षेत्रमा देखिएको ती संचालकले बताए।
जीवन बीमाले अघिल्लो आव २०७७/७८ मा नोक्सानीको लागि ९ करोड ८९ लाख व्यवस्था गरेका थिए। गत आव २०७८/७९ मा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम बढेर १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।
एक आवको अन्तराल मै उल्लेख्य परिमाणको रकम कम्पनीहरुले नोक्सानी व्यवस्थापनको शीर्षकमा छुट्याउनु परेको देखिन्छ। छुट्याएको रकम मध्ये नेपाल लाइफले एक्लैको करिब ७८ करोड रुपैयाँ छ। त्यसै गरि लाइफ इन्स्योरेन्स कर्पोरेसनले पनि २९ करोड ५९ लाख रुपैयाँ नोक्सानी व्यवस्थापनको लागि छुट्याएको छ।
त्यहि पोलिसी सरेन्डरको चपेटामा पनि यीनै तीन बीमा कम्पनी परेका छन्। गत आव मात्रै १२ अर्ब १८ करोड रुपैयाँ बराबरको कुल ८१ हजार ८३० वटा बीमालेख सरेन्डर भए। जसमध्ये ७२ प्रतिशत रकम बराबरको बीमालेख नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनबाट सरेन्डर भएका हुन्। नेपाल लाइफ इन्स्योरेन्सको मात्रै ५ अर्ब रुपैयाँको पोलिसी सरेन्डर भएको देखिन्छ।
यद्यपी प्रिमियम संकलन र मार्केट सेयरको हिसाबले इन्डष्ट्रीका जायन्ट्स नै नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन हुन्। गत आवको अन्त्यसम्म जीवन बीमा व्यवसायको करिब आधा हिस्सा नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको देखिन्छ। जीवन बीमा कम्पनीहरुले गत आवमा एक खर्ब ३९अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरे। जसमध्ये करिब ६८ अर्ब रुपैयाँ बीमा शुल्क नेपाल, नेशनल र लाइफ इन्स्योरेन्स कर्पोरेसनको व्यवसायबाट संकलन भएको हो। सो अवधिमा नेपाल लाइफ एक्लैले ३५ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क उठायो।
बीमाशुल्क आर्जन मात्र नभएर दाबी भुक्तानीमा पनि कम्पनीहरुको पर्फमेन्स बलियो देखिन्छ। गत आवको अन्त्यसम्म कम्पनीहरुले खुद २९ अर्ब रुपैयाँ बराबरको दाबी बापत भुक्तानी गरेका हुन्। आम्दानीको करिब ४३ प्रतिशत अंश परिपक्वता र दाबी बापतको भुक्तानीमा अग्रणी तीन जीवन बीमाले खर्चेका हुन्।
परिपक्वता र दाबी बापतको भुक्तानीमा बाबजुद व्यतित बीमालेख र सरेन्डरको बढ्को ग्राफले इन्स्योरेन्सको नाफा प्रतिकुल प्रतिक्रया दिएको देखिन्छ। आकर्षक बोनस दरका रेट समेत व्यवसायिक वृद्धिमा बेअसर रह्यो।
जीवन बीमाहरु मध्यकै प्रतिस्पर्धी बोनस दर प्रस्ताव गरेका टप टायर लाइफ इन्स्योरेन्समा बीमा गर्नेहरुको चार्म त्यति देखिदैन। नेशनल लाइफले अघिल्लो आवको तुलनामा ३३ प्रतिशत धेरै पोलिसी बिक्री गरेपनी बाँकी दुईको बीमालेख बिक्रीमा त्यस्तो उत्साह छैन। लाइफ इन्स्योरेन्स कर्पोरेसनको पोलिसी बिक्रीमा झन् ४ प्रतिशत अधिकको गिरावट देखिन्छ।
सो अवधिमा इन्डष्ट्री मै आकर्षक मानिएको प्रति हजार ६३ देखि ८५ रुपैयाँ बोनस दर नेशनल लाइफले प्रस्ताव गरेको हो। त्यहि बीमालेखको संख्यामा ३ प्रतिशतको वृद्धि देखिएको नेपाल लाइफले प्रति हजार ५६ देखि ८२ रुपैयाँ दिँदै छ। पोलिसी बिक्रीमा ४ प्रतिशत अधिकको गिरावट देखाएको लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस दर ५४ देखि ७० रुपैयाँ प्रति हजार मात्र छ।
पोलिसी बिक्रीमा यिनीहरुलाई पछिल्लो पुस्ताका रिलायन्स लाइफ र रिलायबल लाइफले उछिन्न थालेका हुन्। गत आवको अन्त्यसम्मको तथ्यांक अनुसार रिलायन्स लाइफसँग ११ लाख अधिक कायम बीमालेखको संख्या छ। सो अवधिमा इन्डष्ट्री मै सर्वाधिक बीमालेख बिक्री गरेको रिलायबल लाइफ हो। यो कम्पनीले ५० लाख ७५ हजार बीमाका पोलिसी बिक्री गरेको छ।
बाँकी रहेको दाबी भुक्तानी रकमले पनि बीमितको मसाय नयाँ बिमकहरु प्रति मोडिएको हो। गत आवको अन्त्यसम्म एक अर्ब ७१ करोड रुपैयाँ बापतको दाबी रकम नेपाल लाइफले भुक्तानी गर्न बाँकी छ। यस्तै, एक अर्ब १० करोड रुपैयाँ नेशनल लाइफले भुक्तानी गर्न बाँकी छ। यो जीवन बीमाहरु मध्येकै सर्वाधिक हो। ३३ करोड रुपैयाँ लाइफ इन्स्योरेन्स कर्पोरेसनले पनि दिन बाँकी छ।
त्यही कारण यी कम्पनीको नाफामा परेको असरले इन्डष्ट्री प्रभावित भयो। अघिल्लो आवको तुलनामा ३३ प्रतिशत जीवन बीमा इन्डष्ट्रीको नाफा घट्यो। जीवन बीमाले अघिल्लो आव २०७७/७८ मा ३ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा गरेका थिए। जुन गत आव २०७८/७९ मा २ अर्ब ५१ करोड रुपैयाँमा सीमित छ।
नेपाल लाइफ इन्स्योरेन्स ३५ करोड नोक्सानीमा जाँदा करिब ८९ करोड रुपैयाँ बराबरले नाफा घटेको छ। अघिल्लो आवमा इन्स्योरेन्स ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफामा थियो। सो आवको कुल नाफामा १४ प्रतिशत भन्दा बढिको योगदान कम्पनी एक्लैको थियो। यस्तै, १९ करोड रुपैयाँ खुद नाफा कमाएको लाइफ इन्स्योरेन्स कर्पोरेसनले गत आवको अन्त्यसम्म झन्डै ९ करोड रुपैयाँ घाटा बेहोरेको हो।
त्यस्तै घट्दो बजार हिस्सेदारीसँगै नयाँ क्यापिटल इन्जेक्सनले जीवन बिमामा चुनौती खडा गरेको छ। सम्भवतः नेट वर्थमा अपेक्षित तीव्र वृद्धिका कारण आगामी केही वर्षहरूका लागि पुँजीगत प्रतिफल दबाबमा रहनेछ। जसको परिणाम हाल नेपाल लाइफले महशुस गरिरहेको छ।
८ अर्ब अधिकको चुक्ता पुँजीको स्रोत परिचालन कुशलता पूर्वक नहुँदा कम्पनीको सम्पत्तिगत रिटर्न र पुँजीगत प्रतिफल दुवै ऋृणात्मक छन्।


