काठमाडौं। भन्सार र अन्त:शुल्क दुवै बढेर गाडी बिक्री नै गर्न नसक्ने अवस्था आएपछि पारामाउन्ट मोटर्सले किलोवाट घटाएर एमजीका विद्युतीय गाडी ल्याउने भएको छ।
चालु आर्थिक वर्षको बजेटबाट सय किलोवाटभन्दा माथिको विद्युतीय गाडीको भन्सार र अन्त:शुल्क दुवै बढाएको थियो। बढाइएको करले एमजीका विद्युतीय गाडी ल्याएर बेच्न नसक्ने भएपछि किलोवाट घटाएर ल्याउने भएको हो।
भन्सार र अन्त:शुल्क बढेपछि पारामाउन्ट मोटर्सले चिनियाँ उत्पादक कम्पनीलाई सय किलोवाट भन्दा कमका गाडी बनाउन प्रस्ताव गरेको थियो। 'कर बढेपछि हामीले उत्पादक कम्पनीलाई कम वाटको गाडी बनाउन आग्रह गरेका थियौ। उसले नेपालको बजार हेरेर बनाउन सहमत भएको छ,' पारामाउण्टका एक सञ्चालकले बिजमाण्डूलाई भने, 'सुरुमा हामी चारवटा जति गाडी ल्याउनेछौं। यातायात व्यवस्था विभागमा परीक्षणमा सफल भएपछि थप गाडी भित्रिनेछ।'
कम्पनीका महानिर्देशक सचिन अर्यालले कम किलोवाटको गाडी ल्याउने प्रक्रिया सुरु भइसकेको पुष्टि गरे। 'हामीले ९५ किलोवाटको एमजी बनाउन उत्पादकलाई आग्रह गरेका छौं,' उनले बिजमाण्डूसँग भने।
एमजीको स्ट्यान्डर्ड भेरियन्टको १३० किलोवाट र लङ रेन्ज मोडलको १ सय १५ किलोवाट छ। यी दुवै मोडलमा १५ प्रतिशत भन्सार शुल्क थप गरी ३० प्रतिशत पुर्याइएको छ भने अन्त:शुल्क ३० प्रतिशत लाग्छ। बजेट अघि एमजीका विद्युतीय गाडी ५१ लाख रुपैयाँबाट सुरु हुन्थ्यो। बजेटमा करको दर बढेपछि यही गाडीको मूल्य ७० लाख रुपैयाँभन्दा माथि पुगेपछि कम्पनीले आयात रोक्यो।
कम्पनीले पाँच सयभन्दा बढी गाडीको अग्रिम बुकिङ लिएको थियो। तर बजेटबाट करको दर बढेपछि कम्पनीले पुरानै मूल्यमा गाडी दिन नसकिने भन्दै बुकिङ फिर्ताका लागि आग्रह गरेको थियो। त्यसपछि झण्डै सय जनाले बुकिङ फिर्ता लिएका छन्।
कम वाटको पाँच सय गाडी ल्याउँदै
पारामाउन्टले १०० भन्दा कम गरेर ५०० वटा गाडी नेपाल ल्याउन प्रक्रिया थालेको छ। कम्पनी स्रोतका अनुसार पाँच सय गाडी ल्याउन एलसी खोल्ने प्रक्रिया सुरु भइसकेको छ।
'केही गाडी आएर यहाँ परीक्षण सुरु हुन्छ। त्यही भएर बुकिङ गरेकालाई दिने गरि गाडीको एलसी खोल्न लागेका हौं,' कम्पनीका एक संचालकले भने। पारामाउन्टले विद्युतीय गाडीको पाँच सय भन्दा बढी गाडीको अग्रिम बुकिङ लिएको थियो। प्रत्येकसँग एक लाख रुपैयाँ लिएर अग्रिम बुकिङ गरेकाले पनि कम्पनीले वाट घटाएरै भएपनि गाडी ल्याउनुपर्ने बाध्यता परेको हो।
उत्पादकले किलोवाट घटाउँछ ?
कम्पनीले किलोवाट घटाएर एमजीको विद्युतीय गाडी ल्याउन सम्भव नहुने केही व्यवसायी बताउँछन्।
'नेपालको बजारलाई मात्रै हेरेर उत्पादक कम्पनीले किलोवाट घटाएर गाडी बनाएर दिन्छ भन्ने कुरा विश्वसनीय लाग्दैन,' ती व्यवसायीले भने, 'पुरानै गाडी ल्याएर कागजपत्र मात्रै मिलाउने प्रपञ्च हुनसक्छ।'
तर कम्पनीका संचालकहरु व्यवसायीको आरोपमा कुनै सत्यता नभएको जिकिर गर्छन्। 'एमजीको गाडी सस्तो भएकाले बजेटमा हामी टार्गेटमा परेका हौं। अहिले पनि हामीले कागजपत्र मिलाएर मात्रै ल्याउँदा कति व्यापारिक घरानाको निशानामा पर्छौ,' उनले भने, 'करोडौं लगानी जोखिममा पारेर गाडी ल्याउन सम्भव छैन। त्यसमा पनि नेपालको नाम चलेका घरानाबाट त्यो कल्पना बाहिरको कुरा हो।'
पारामाउन्टमा विशाल ग्रुप र मुरारका समूहको लगानी छ।