
काठमाडौं। एप्पलले आइफोन १४ भारतमै उत्पादन थाल्ने योजनाअघि सारेको छ। चीनमा अझै पनि कोरोना महामारीका कारण लकडाउन जारी रहेकाले उत्पादनमा अवरोध आएको र सी प्रशासनसँग वासिङ्टनको सम्बन्ध राम्रो नभएपछि अमेरिकी टेक जाइन्ट एप्पलले भारतलाई विकल्पको रुपमा अघि सारेको छ।
अहिले एप्पलले आफ्ना सप्लायरहरुसँग भारतमा आइफोन उत्पादनका लागि आक्रमक तयारी गरिरहेको बुझिएको छ। फोन लन्च भएको छोटो समयमै उपभोक्ताहरुमा हातमा पुर्याउने गरी आइफोनले आफ्ना सप्लायरहरुलाई भारतमा सोहीअनुरुप उत्पादन छिटो गराउन ताकेता गरिरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार एप्पलको ताइवानको सप्लायर फक्सकनले भारतमा प्लान्ट राख्ने बारे अध्ययन गरिसकेको छ। फक्सकनले भारतमा आइफोन १४ उत्पादन गर्न चीनबाट आवश्यक उपकरणहरु सिपिङ गर्ने प्रक्रियाबारे अध्ययन गरेको हो। एप्पलले भारतको दक्षिणी सहर चेन्नईमा एसेम्ब्ली प्लाउन लगाउने तयारी गरिरहेको छ।
भारतमा आइफोन १४ को उत्पादन अक्टोबर अन्तिम वा नोभेम्बरसम्म सकिने गरी काम भइरहेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उक्त विषयबारे कम्पनीलाई सोध्दा एप्पलले कुनै प्रतिक्रिया नदिएको उल्लेख गरेको छ।
एप्पलले चीनका क्षेत्रहरुबाट आइफोन उत्पादन प्लान्ट अन्य देशहरुमा सार्दै लगेको छ। त्यही क्रममा एप्पलले विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा प्रवेश गर्दैछ। एप्पलले भारतमै आइप्याड ट्यब्लेस्ट पनि एसेम्बल गर्ने योजना बुनेको छ। एप्पलले सन् २०१७ देखि भारतमा आइफोन एसेम्ब्लिङ गर्दै आएको छ। यसअघि चौथो मोडलको रुपमा आइफोन १३ भारतमा उत्पादन गरेको थियो।