
काठमाडौं। यसपाली दसैंका लागि मुस्ताङबाट १० हजार च्याङ्ग्रा काठमाडौं ल्याइने भएको छ। कोभिड संक्रमण रोकथामका लागि भन्दै तिब्बत नाका बन्द भएकाले मागभन्दा निक्कै कम च्याङ्ग्रा बजारमा आउने भएको हो।
पोहोरदेखि नै देश भित्रका हिमाली जिल्लामा पालिएका च्याङ्ग्राले दसैं धान्ने गरेको छ। अत्यधिक मागका अनुपातमा निकै कम च्याङ्ग्रा बजारमा आइपुग्ने भएकाले मूल्य आकासिने गरेको छ।
हरेक वर्ष दसैंतिहारमा खसीबोकासँगै च्याङ्ग्राको माग धेरै हुन्छ। सरकारी संस्थानहरुले नै काठमाडौंमा आवश्यक खसी-बोका र च्याङ्ग्राको आपूर्ति गर्दै आएका थिए। पोहोरदेखि यसमा ब्रेक लागेको छ।
अन्य समयभन्दा चाडपर्वमा काठमाडौं र पोखरा लगायतका ठुला सहरहरुमा च्याङ्ग्रा बढी खोजिन्छ। केही समयअघि बजारमा स्वदेशी र चिनियाँ च्याङ्ग्रा खरिदबिक्री हुँदै आएको थियो।
दसैंमा करिब ८ देखि १० हजार च्याङ्ग्रा बजारमा आउने भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी ऋषिराम पोखरेलले बताए। 'गत वर्षकै हाराहारीमा च्याङ्ग्रा उत्पादन भएको छ,' उनले भने। जिल्लाभरी करिब ५३ हजार च्याङ्ग्रा पालन भइरहेकोमा बजारमा किनबेचका लागि पठाउन ८ देखि १० हजार च्याङ्ग्रा तयार भएको उनले जानकारी दिए।
एउटा च्याङ्ग्रा तयार हुन ४ वर्ष लाग्छ। यही कारण च्याङ्ग्राको आपूर्ति माग अनुसार गर्न सकिँदैन।
पछिल्लो समय स्वदेशी उत्पादन पनि घट्दो क्रममा रहेको छ। ''स्वदेशी उत्पादन कम भएकाले च्याङ्ग्रा गत वर्षभन्दा महँगो हुने छ,' मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए। युवाहरु विदेश पलायन हुन थालेपछि च्याङ्ग्रा पाल्न छाडेका छन्। नयाँ पुस्ताले यस पेसालाई अपनाउन नसक्दा मुस्ताङमा च्याङ्ग्रा उत्पादन कम हुँदै गएको उनको भनाइ छ।
मुस्ताङमै च्याङग्रा प्रतिकेजी २ हजार
चिनियाँ च्याङ्ग्रा नआउँदा स्वदेशीले राम्रो मूल्य पाउन थालेको छ। केही समयअघि खसीबोकाको सरह मूल्य रहेको च्याङ्ग्राको पोहोरदेखि भाउ छोइनसक्नु भएको छ।
हाल मुस्ताङमै च्याङ्ग्राको मूल्य प्रतिकेजी २ हजार रुपैयाँ रहेको सूचना अधिकारी पोखरेलले बताए। पोहोर साल च्याङ्ग्रा प्रतिकेजी एक हजार देखि १२ सय रुपैयाँमा बिक्री भएको थियो। काठमाडौंमा १६ सय रुपैयाँ केजीमा मजाले च्याङ्ग्रा पाइन्थ्यो।
मूल्य महँगो भएपछि सरकारी कम्पनीले खसीबोका मात्र बिक्री गरेको थियो। पोहोर निजी क्षेत्रले थोरै परिमाण मात्र ल्याएर बेचेको थियो।
अहिले मध्यम खालको च्याङ्ग्राको मूल्य नै ३५ हजार रुपैयाँभन्दा माथि पर्ने पोखरेलले जानकारी दिए।
केही वर्ष अघिसम्म चाडपर्वको बजारमा स्वदेशीसँगै तिब्बतबाट च्याङ्ग्रा आउँदा प्रतिकेजी ७ सय रुपैयाँमा बिक्री हुन्थ्यो।
दसैंका लागि मुस्ताङ जाने तरखरमा व्यापारी
यतिबेला वर्षायाम छ। बाटो कतै-कतै अवरुद्ध छ। तैपनि व्यापारीहरु च्याङग्राको भाउ र आपूर्ति बुझ्न मुस्ताङ जाने तयारीमा छन्। नेपाल चौपाया खरिद बिक्री कृषि समूहका अध्यक्ष दीपक थापाले दसैंका लागि च्याङ्ग्राको कारोबार गर्न आगामी सातादेखि व्यापारीहरु मुस्ताङतिर जान लागेको सुनाए।
'मूल्य बढे पनि माग घटेको छैन। त्यसैले पनि ल्याउनु पर्छ,' उनले भने।
उत्पादन थोरै भएकाले मूल्य धेरै यसै पनि धेरै पर्छ। त्यसमाथि ढुवानी भाडा अचाक्ली महँगिएको छ। त्यसैले पनि काठमाडौंसम्म आइपुग्दा च्याङ्ग्रा महँगो पर्नु स्वाभाविक हुने उनले बताए।
दसैंका लागि किसानहरुले च्याङ्ग्रा बजारमा झारिसकेका छैनन्। अबको १५ दिनपछिबाट मात्र मुस्ताङमा च्याङ्ग्राको खरिद बिक्री हुने केन्द्रले जनाएको छ।