प्रतिबन्धपछि ३ गुणाले बढ्यो मदिरा भित्र्याउन डलर खर्च, बजारभर बग्रेल्ती अवैध विदेशी रक्सी



२०७९ भदौ ८ गते १५:१७ | Aug 24, 2022


प्रतिबन्धपछि ३ गुणाले बढ्यो मदिरा भित्र्याउन डलर खर्च, बजारभर बग्रेल्ती अवैध विदेशी रक्सी



काठमाडौं। सामान्य समयमा विदेशी मदिरा आयातमा जति विदेशी मुद्रा विदेसिन्थ्यो अहिले त्योभन्दा ३ गुणा बढी अवैध मदिरा भित्र्याउन बाहिरिइरहेको तथ्य फेला परेको छ। आयात प्रतिबन्धले देशको विदेशी मुद्रा सञ्चिति बढेको खासै छैन। 

Tata
Global Ime

यसमा अवैध आयातलाई जोडेर बजारको अनुसन्धान गर्नुपर्ने देखिएको छ। सरकारले सूची नै बनाएर सवारी, मदिरा आयात रोकेको छ। तर 'डलर आउटफ्लो' भइरहेको तथ्यांक व्यवसायीहरुले प्रस्तुत गरेका छन्। 

अहिले बजारमा अवैध मदिरा छ्याप्छ्याप्ती भेटिन थालेको छ। यसले आयातमा प्रतिबन्ध लगाएर विदेशी मुद्रा जोगाउने सरकारको योजना असफल देखिएको छ। 

पर्यटकीय नगरी पोखराका लिकर स्टोरहरुमा भारत बेङ्गलुरुको युनाइटेड स्पिरिट्स लिमिटेडले स्कटल्याण्डबाट आयात गरेको जोनी वाकर ब्ल्याक लेबल सजिलै पाइन्छ। सरकारले सबै विदेशी मदिरा आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ।

पोखराको लिकर स्टोरमा भेटिएको अवैध रक्सी

नेपालमा जोनी वाकरको आधिकारिक वितरक ग्लोबल ट्रेडिङ कन्सर्न हो। आधिकारिक वितरकले मदिरा ल्याउनुको साटो भारतीय कम्पनीको लेबलसहितको विदेशी मदिरा पोखरा मात्रै नभएर देशभर भित्रिरहेको आरोप मदिरा व्यवसायीहरुको छ। 

२०७६ असारमा सरकारले इनर्जी ड्रिंक्स र फ्लेवर्ड सिन्थेटिक ड्रिंक्स (जुस) आयात माथि प्रतिबन्ध लगाएको थियो। स्वदेशी उद्योगलाई संरक्षण गर्न सरकारले त्यस्ता वस्तुको आयात रोक्यो। तर, प्रतिबन्धका बाबजुद बजारमा अहिले पनि ती वस्तुहरुको व्यापार निर्वाध भइरहेको देखिन्छ। यसले पनि प्रतिबन्ध निरर्थक भएको देखिन्छ। त्यही दृष्टान्त अहिले मदिरादेखि स्मार्टफोनमा देखिएको छ। जति वस्तुमा सरकारले प्रतिबन्ध लगायो ती वस्तु बजारमा छ्याप्छ्याप्ती भेटिएका छन्।  

आयातित वस्तुहरुको प्रतिबन्ध तत्काल नहटाए कार र मोटरसाइकलबाहेकका अन्य सबै सामग्रीहरुको चोरी निकासी थप मौलाउने चेतावनी व्यवसायीहरुको छ।   

नेपाल मदिरा पैठारीकर्ता संघले मदिरा आयातमा प्रतिबन्ध लगाएर राज्यले ठूलो राजस्व गुमाएको जिकिर गर्दै खोल्न माग गर्दै आएको छ।

‘आयातित मदिराजन्य पदार्थहरुमा यो निर्णय तत्काल फिर्ता नगरिए यसले प्रतिकूल प्रभाव पार्नेछ। होटल, रेस्टुरेन्ट र बारहरुले ठूलो आय आर्जनको क्षमता गुमाउँदैछन् र उत्तम स्थानका लागि तिनीहरुको दिगोपनमा प्रश्न उठेको छ,’ संघले भनेको छ,'बढ्दो लागतको दबाबले होटल रेस्टुरेन्टले कर्मचारीहरुलाई हटाउन बाध्य हुनेछन् र यसले व्यापकरुपमा बेरोजगारी निम्त्याउँछ।'

त्यस्तै, नेपालको तुलनामा भारतमा मदिराको कर कम भएकाले नेपाल तर्फ अवैध निकासी भइरहेको आरोप उनीहरुको छ। अवैध आयात भइरहेकाले सरकारले त्यसबाट पाउनुपर्ने राजस्व गुमाइरहेको छ भने वैध आयात गरेर बिक्री गर्ने व्यवसायीहरुको व्यापार झनै चौपट हुन पुगेको गुनासो उनीहरुको छ। 

अझ डरलाग्दो तथ्यांक त प्रतिबन्धको समयमा सामान्य अवस्थाभन्दा लगभग तीन गुणाले विदेशी मुद्रा बाहिरिइरहेको व्यवसायीहरुले बताएका छन्। ‘विदेशी मुद्रा बाहिरिनुका साथै प्रतिबन्ध जारी रहे सामानको झन् अभाव हुन्छ। बजारभरी अवैध रुपमा भित्रिरहेका नक्कली सामानको संख्या बढ्दा र त्यसले जनस्वास्थ्यमा समेत गम्भीर जोखिम सिर्जना हुने देखिन्छ,’ एक मदिरा व्यवसायीले भने। 

सामान्य अवस्थामा प्रति लिटर मदिरा आयात गर्दा १५ अमेरिकी डलर बाहिरिन्थ्यो। तर, प्रतिबन्धका कारण प्रति लिटर मदिरा आयात गर्दा ४१.५ डलर बाहिरिइरहेको व्यवसायीहरुले उपलब्ध गराएको तथ्यांकबाट देखिन्छ। 

आयातित मदिरा रोक्दा विदेशी मुद्रा सञ्चिति करिब १ अर्ब ५० करोड रुपैयाँ जोगिने अपेक्षा सरकारको छ। भारतसँगको खुला सीमाका कारण प्रतिबन्धका बाबजुद नेपाली बजारमा विदेशी ब्राण्डका मदिरा छ्याप्छ्याप्ती छन्। 

सामान्य अवस्थामा विदेशी मदिरा आयात गर्दा सरकारले वार्षिक तीन अर्ब ३० करोड रुपैयाँ हाराहारी कर संकलन गर्थ्यो। तर, अवैध आयात मौलाउँदा त्यो शून्यमा झरेको छ। वैध रुपमा विदेशी मदिरा आयात गर्न नपाउँदा अहिले अवैध रुपमा वार्षिक ४ अर्ब १४ करोड रुपैयाँ हाराहारी विदेशी मुद्रा उपयोग गरी अवैध मदिरा भित्रिरहेको तथ्यांक छ। 

प्रतिबन्धका कारण भारतको पश्चिम बंगाल, उत्तर प्रदेश, हरियाणा, नयाँ दिल्लीलगायतका क्षेत्रहरुबाट अवैध रुपमा विदेशी मदिरा नेपाल आइरहेको व्यवसायीहरुले जनाएका छन्।

आयात प्रतिबन्धका कारण अवैध मदिरा आयात बढ्न गइ सरकारले राजस्व गुमाउनु पर्ने अवस्था आएको छ। साथै, विदेशी मुद्रा सञ्चिति घटेको बहानामा वैध आयात रोकिँदा अवैध आयातमा विदेशी सञ्चिति उपयोग हुँदै गएको देखिन्छ। व्यवसायीहरुका अनुसार अवैध रुपमा मदिरा भित्र्याउँदा विदेशी मुद्रा सञ्चिति झन् २.७६ गुणाले घट्ने दाबी गर्दै आएका छन्। 

त्यसैगरी, एयरपोर्टबाट यात्रुहरुमार्फत ड्युटी फ्रि मदिरा मापदण्डभन्दा बढी भित्रिरहेको भन्दै यसले अनधिकृत रुपमा डलरको खपत बढ्नुका साथै राजस्वमा ठूला धक्का पुग्ने बुझाइ व्यवसायीहरुको छ।

आयातित तयारी मदिराबाट कुल विदेशी मुद्रा बहिर्गमन एक अर्ब ५३ करोड रुपैयाँ रहेको देखिन्छ। सामान्य अवस्थामा आयातबाट सरकारले तीन अर्ब ३० करोड रुपैयाँ हाराहारी राजस्व संकलन गर्ने गरेको छ। 

व्यवसायीहरुका अनुसार आयातित बोतलबन्द तयारी मदिरा भित्र्याउँदा आव २०७८/७९ को नौ महिना (साउनदेखि चैतसम्म) एक करोड २१ लाख ४९ हजार अमेरिकी डलर मात्रै विदेशी मुद्रा खपत भएको बताएका छन्। राज्यको कुल विदेशी मुद्रा सञ्चिति खपतमा आयातित बोतलबन्द तयारी मदिरामा ०.१३ प्रतिशतभन्दा कम विदेशी मुद्रा मात्रै खर्च भइरहेको व्यवसायीहरुले बताएका छन्। 

गत आवको नौ महिनामा ३९ लाख २६ हजार ६८० लिटर स्पिरिट्स आयात भएको थियो। जसका लागि ९९ लाख ८८ हजार ३७७ अमेरिकी डलर (एक अर्ब २१ करोड ८५ लाख ८२ हजार रुपैयाँ) विदेशी मुद्रा विदेशिएको भन्सार विभागको तथ्यांक छ।    

प्रतिबन्ध बाबजुद किन ४१.५ डलर प्रति लिटर बाहिरिरहेको छ?
जोनी वाकर ब्ल्याक लेबल १२ वर्ष दिल्लीमा (ड्यूटी पेड) प्रति ७५० एमएलको एमआरपी २८०० भारु पर्छ। तर, तस्करहरुले ७५० एमएलको ब्ल्याक लेबल २५ सय भारुमा नेपाल भित्र्याइरहेका छन्। प्रति लिटर ५३ सय रुपैयाँमा अवैध ब्ल्याक लेबल बिक्री गर्दा प्रति लिटर ४१.५ डलर सोझै बाहिरिरहेको व्यवासायीहरुले बताए। 

नेपालमा ब्ल्याक लेबलको एमआरपी प्रति लिटर ८६५० रुपैयाँ पर्छ। यही परिस्थिति ज्याक ड्यानियल र सिवास रिगल १२ वर्षमा भइरहेको उनीहरुले बताएका छन्। 

त्यसैगरी, रेड लेबलको हकमा दिल्लीमा (ड्यूटी पेड) प्रति ७५० एमएलको एमआरपी १५ सय भारु पर्छ। तस्करहरुले प्रति ७५० एमएलको १३ सय भारुमा रेड लेबल नेपाल अवैध रुपमा ल्याउँदा प्रति लिटर २७७५ रुपैयाँमा बिक्री गर्ने बताइएको छ। जुन २१.८५ डलर बराबर हुन आउँछ। 

नेपालमा एक लिटर रेड लेबलको एमआरपी ६८५० रुपैयाँ पर्छ। यही अवस्था अर्को मदिरा ब्राण्ड ब्यालेन्टाइन्समा पनि उही रहेको व्यवसायीहरुको भनाइ छ। 

यो पनि पढ्नुहोस्

विदेशी मदिरामा प्रतिबन्धले तारे होटलको व्यापारमा धक्का, पर्यटन उद्योगमै असर पर्ने चिन्ता