वीरगंजका मेयर किसानका लागि पर्याप्त रासायनिक मल माग्न काठमाडौंमा, कोटा बढाउन आग्रह



२०७९ भदौ ८ गते १२:४५ | Aug 24, 2022


वीरगंज। वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्याप्त मल नपाएको भन्दै माग्न काठमाडौं आएका छन्।

Tata
Global Ime

कृषि सामाग्री कम्पनी लिमिटेडका कायम मुकायम संचालक राजेन्द्रबहादुर कार्कीसँग भेटेर उनले वीरगंजका किसानका लागि पर्याप्त रासायनिक मल सहज रुपमा उपलब्ध गराउन आग्रह गरे।

मेयर सिंहले वीरगंजका किसानलाई आवश्यक परिमाणमा रासायनिक मल सहज रुपमा उपलब्ध हुने प्रबन्ध मिलाइन दिन आग्रह गरेका हुन्।
उनले विदेशबाट आयात गरिएको मल भित्रिने मुख्य नाका भए पनि वीरगंजका किसानले मल नपाएर छट्पटिनुपर्ने अवस्थाबारे ध्यानाकर्षण गराएका थिए।

अहिले कम्पनीले वीरगंजका किसानका लागि छुट्याएको मलको कोटा अति नै अपुग रहेको भन्दै सिंहले त्यसका अतिरिक्त थप कोटा वीरगंजका किसानका लागि छुट्याइन दिन कार्कीसँग आग्रह गरे।

कार्कीले मल पर्याप्त उपलब्ध गराउन सक्दो पहल गर्ने आश्वासन दिएका थिए। मल भित्रिने मुख्य नाका वीरगंजका किसानको सहुलियतका लागि कोटा थप्ने विषयमा आफू गम्भीर रहेको उनले बताए।

यसअघि वीरगंजका किसानले मल नपाएको भन्दै एक साता अघि किसानले ४ ट्रक मल कब्जामा लिएका थिए।

पछि वीरगंज महानगरको ३२ वडामा २ सय बोराको दरले ६४ सय बोरा मल उपलब्ध गराउने सहमति पनि उक्त मलको ट्रक ढुवानी भएर अन्यत्र जान दिने सहमति भएको थियो।