काठमाडौं। चाडपर्वमा संचालन गर्ने सहुलियत पसलको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बजेट गत वर्ष भन्दा बढेको छ । बजेट बढेपछि कम्पनीले खाद्यान्नको परिमाण बढाउने तथा सहुलियत पसलमा च्याङग्रा समेत उपलब्ध गराउने बताएको छ ।
पछिल्लो समय च्याङग्राको मूल्य महंगिँदै गएकोले गत वर्ष कम्पनीले च्याङ्ग्रा किन्न सकेको थिएन। गत वर्ष च्याङ्ग्रा किन्न नसकेपछि कम्पनीले नसक्दा खसीबोकाको परिमाण बढाएर बिक्री गरेको थियो ।
यो वर्ष खाद्य कम्पनीले थोरै भएपनि च्याङ्ग्रा ल्याउने जनाएको छ । यसका लागि कम्पनीको बोर्डबाट कार्ययोजना स्वीकृत भएपछि च्याङग्रा खरिदका लागि मुस्ताङका सरकारी अधिकारीसँग समन्वय गर्ने तयारी कम्पनीले गरिरहेको बुझिएको छ।
चाडपर्वका समयमा साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका विभिन्न स्थानमा सहुलियत पसल संचालन गर्छन्। कम्पनीहरुले उक्त पसलबाट अत्यावश्यक खाद्यान्न सस्तो मूल्यमा बिक्री गर्छन्।
यस वर्षको सहुलियत पसलमा खाद्यान्न परिमाण पनि बढ्ने भएको छ। बजेट धेरै भएकोले पोहोर सालको भन्दा धेरै खाद्यान्न राख्ने तयारी भैरहेको बताइएको छ। यस अघि सहुलियत पसलमा कम्पनीले २५ हजार क्विन्टल खाद्यान्न बिक्री गरेको थियो । यसपाली खाद्यान्न परिमाण यो भन्दा धेरै हुनेछ।
खाद्य कम्पनीले हरेक वर्ष सहुलियत पसलमा दाल, तेल, चामल, गेडागुडी, आँटा ,फापर लगायतका वस्तुमा १० रुपैयाँसम्म छुट दिएर बेच्दै आएको छ।
मन्त्रालयले यो वर्ष खाद्य कम्पनीलाई मात्र २ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष कोभिडको असरले गर्दा खाद्य कम्पनीलाई एक करोड ७५ लाख रुपैयाँ रकम छुट्याइएको थियो । गत वर्षको भन्दा यसवर्ष यो रकम ६१ लाख रुपैयाँले बढी हो ।
साल्ट ट्रेडिङ कर्पोरेशसनको बजेट भने गत वर्षभन्दा घटेको छ । साल्ट ट्रेडिङका अनुसार सहुलियत पसलको लागि वाणिज्य मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको छ । गत वर्ष साल्ट ट्रेडिङलाई एक करोड ५० लाख रुपैयाँ छुटाएको थियो ।
चाडपर्वमा यी दुवै कम्पनीले उपभोक्तालाई छुट दिएर बिक्री गर्ने भएकाले अनुदानका रुपमा सरकारले यी कम्पनीहरुलाई रकम उपलब्ध गराउँदै आएको छ।


