
विराटनगर। पूर्वका व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माले मुलुकका आम उद्योगीलाई झुक्याएको आरोप लगाउँदै फेरि आन्दोलनमा जाने चेतावनी दिएका छन्।
संसदबाट औद्योगिक भ्रमणमा आएको एक टोलीसँग पूर्वका व्यवसायीले बजेटले विभेदमा पारेका उद्योगको संरक्षणका लागि दोस्रो आन्दोलन गर्ने चेतावनी दिएका हुन्। संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवसँगको बैठकमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले यस्तो चेतावनी दिएका हुन्।
अध्यक्ष रिजालले पूर्वका तीनवटा व्यवसायिक संगठन सडकमा भएका बेला मन्त्री शर्माले मन्त्रालयमा बोलाएर सबैलाई बेइज्जती गरेको भन्दै रोष प्रकट गरे। रिजालले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका अध्यक्षसहित भएको वार्तामा गरेको सहमति पनि अर्थमन्त्रीले पूरा नगरेको आरोप लगाए।
संगठनका अध्यक्ष प्याकुरेलले अर्थमन्त्री शर्माले आफ्नै प्रतिबद्धता पूरा नगरेको बताए। प्याकुरेलले अर्थमन्त्री शर्माको व्यवहारबाट राजनीतिक नेतृत्वप्रति व्यवसायीको विश्वसनीयता गुमेको बताए।
‘हामीलाई बेवकुफ भन्ठानेर मन्त्रीज्यू कति दिन राजनीति गर्नुहुन्छ ?’, उनले आक्रोश पोखे, ‘अर्थमन्त्रीका पदमा बसेर अब मुलुकभरिका व्यवसायीसँग अब कसरी फेस गर्नुहुन्छ? हामीलाई यतिविधि डिमोरलाइज र ह्युमलेट गर्नुभएको छ। देशभरिका उद्योगीका सामुन्ने तपाईहरूको साख गुमेको अवस्था छ।’