सन् २०१९ तिरको कुरा हो, जापानको तीन वर्षको बसाईपछि फर्केकी थिइन् रचना राई। नेपालमा नै केही गर्ने हुटहुटी थियो। नेपालमा नै तयारी पोसाक (गार्मेन्ट) उत्पादन गरेर बिक्री गर्ने उनको पहिलो प्राथमिकता बन्यो।
रहर त गरिन् तर नेपालको गार्मेन्ट उद्योग बारेमा उनले खासै बुझेकी थिइनन्। उनी एक दुईटा गार्मेन्ट उद्योगहरूमा बुझ्न पनि हिडिन्। आफूले चाहेको जस्तो, चाहेको जति कपडा उत्पादन गर्दा निकै महंगो पर्ने उनले देखिन्। महँगो उत्पादन लिएर बजारमा उत्रिनु उनलाई ठिक लागेन।
केही समयको अलमलपछि उनले होलसेलबाट चिनियाँ बजारको रेडिमेड कपडा नै बेच्ने निधो गरिन्। अनि सुरु भयो मोड-२३। एक वर्षसम्म उनले मोड-२३ लाई न्यूरोडका थोक बिक्रेताहरूबाट सामान ल्याएर बेच्ने अनलाइन कपडा पसलको रूपमा सञ्चालन गरिन्।
मोड-२३ को स्थापनामा रचनालाई साथ दिए कुवेतबाट फर्केकी सरिता लामा र स्नातकको पढाई छोडेर व्यवसायमा होमिएका राजिव शाहीले। उनीहरूले काम त थाले तर बजारमा ठूलो प्रतिस्पर्धा थियो र निकै स्थापित क्लोदिङ लाइनहरू पनि। नयाँ भएकाले सुरुका केही महिना उनीहरुले ठूलो घाटा व्यहोर्नुपरेको तितो अनुभव पनि उनीहरुसँग छ।
बिस्तारै उनीहरुले ग्राहकको रुचि र नेपाली बजारलाई सूक्ष्म अध्ययन गर्दै अघि बढे।
कोरोना महामारी अघिसम्म सबै कुरा राम्ररी चलिरहेको थियो। महामारीलाई नियन्त्रण गर्न जब लकडाउन सुरु भयो, यो सँगै चीनबाट आयात असम्भव बन्यो। व्यापार पनि ठप्प सरी भइसकेको थियो। राजिवका अनुसार उनीहरू हार मान्ने अवस्थामा पुगिसकेका थिए।
सामान नआएर आफ्नो व्यापार दिनप्रतिदिन डुब्दै गइरहेको महसुस गरेपछि एकजना नजिकका साथीको सुझावलाई अनुसरण गर्दै रचनाले आफ्नै क्लोदिङ लाइन सुरु गर्ने निधो गरिन्।
राजिव भन्छन्, ‘त्यतिबेलासम्म हामीले हाम्रो अध्ययन पनि गरिरहेको थियौं, फ्याब्रिकहरू कहाँ कहाँबाट आउँछन्, कसरी आउँछ, कारखाना लाइन सेट-अप गर्दा के के गर्नुपर्छ, के के कुरा आवश्यक पर्छन्, कसरी गर्नुपर्छ भनेर धेरथोर अन्दाज र अनुभव पनि बटुलिसकेका थियौं।’
.jpg)
त्यसैअनुसार नै मोड-२३ ले १० लाख लगानीमा तीनवटा मेसिन खरिद गरेर आफ्नो कारखानाको श्रीगणेश गरेको थियो। पछिल्लो समय मोड-२३ युवाहरू माझ नेपालको ट्रेन्डी कपडा ब्रान्डको रुपमा स्थापित हुन सफल भएको छ।
राजिव सम्झन्छन्, ‘हामीले एकजना नमुना बनाउनेदेखि कटिङ, प्याटर्न बनाउने, सिलाउनेहरूमा पोख्त ‘मास्टर’लाई टिममा भित्र्यायौं र काम सुरु गर्यौं। सन् २०२० मा कोभिडको पहिलो लहर सकिएपछि हाम्रो इन-हाउस प्रोडक्सन सुरु भएको थियो।’
सुरुमा मोड-२३ ले आफ्नो प्रोडक्सन सीमित गर्यो। त्यस्तै स्थापनाको एक वर्ष पार गरेपछि उनीहरु फ्याब्रिकको गुणस्तरदेखि स्टाइल डिटेलिङ, मार्केटको बारेमा अझ गहन रूपले अध्ययन गर्नमा केन्द्रित भए।
सन् २०२२ मा आउँदासम्म मोड-२३ दिगो ब्रान्डको रूपमा परिणत हुँदै गयो। राजिव सुनाउँछन्, ‘हामी अहिले फ्याब्रिकलाई रिसाइकल तथा वातावरणमैत्री बनाउने तरिकाहरू, हाम्रो प्रोडक्टलाई भोलिको दिनमा कसरी रिसाइकल गर्न सकिन्छ भनेर रिसर्च एण्ड डेभलपमेन्टमा इन्भेस्ट गर्दै गयौं।’
उनका अनुसार हाल मोड-२३ का सबै कपडाहरू १०० प्रतिशत कटन नै हुन्छ। त्यो पनि नेपालकै विराटनगरस्थित एक कारखानामा बनेर आउने उनी दाबी गर्छन्। यो एजोफ्री र वातावरणमैत्री डाइजबाट बन्छ। यसो हुँदा मोड-२३ का कपडाहरु फेरि रिसाइकल गर्न मिल्छ।
आज मोड-२३ सँग २६ वटा मेसिन छ। दुईजना कामदारबाट सुरु भएको कारखानामा प्रोडक्सन टिम मात्रै २० जनाको छ। अपरेसन टिममा आठ जना र मार्केटिङमा ६ जना छन्। मोड-२३ सञ्चालन गर्ने विभाग रिसर्च एण्ड डेभलपमेन्ट, मार्केटिङ, प्रोडक्सन र अपरेसन गरी चारवटा छन्। यसमध्ये रिसर्च एण्ड डेभलपमेन्टको जिम्मेवारी सीइओ रचना राईले लिएकी छन्। सरिता लामाले कम्पनी सञ्चालनको काम हेर्छिन् भने राजिव शाहीले मार्केटिङको जिम्मा लिएका छन्।
मोड-२३ ले इन-हाउस प्रोडक्सन सुरु गर्दा वर्षमा जम्मा ५२ थरी डिजाइनहरूमा जम्मा २६ सय पिसमा सीमित थियो। अहिले यसले समर, विन्टर, अटम र स्प्रिङ गरी वर्षमा चार किसिमका कलेक्सन निकाल्छ। तिनै चार कलेक्सन भित्रका सब कलेक्सनहरु हरेक महिना एक एक गरी सार्वजनिक हुने गर्छ।
.jpg)
एउटा कलेक्सनमा आठवटा डिजाइन आउँछ। वर्ष भरी मोड-२३ ले जम्मा ९६ डिजाइन निकाल्छ र एउटा डिजाइनमा थोरैमा पनि दुई सयदेखि ६ सय पिससम्म कपडा बन्छ।
पेप्सीकोलाको सानो कोठाबाट सुरु गरेको मोड-२३ को नेपालमा पोखरा, लबिम मल, बौद्ध लगायतका स्थानमा आउटलेटहरू छन्। माग र बिक्री दुवै बढ्दै गएको राजिव सुनाउँछन्, ‘हाम्रो आम्दानी २ वर्षमा १० गुनाले बढेको छ। सुरुवातका महिनाहरुमा १ लाख जतिको बिक्थ्यो। अब हामीले वर्षमा ३ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेका छौं।’
यस क्लोदिङ ब्राण्डको लक्षित ग्राहक भनेकै विशेषगरी १८ वर्षदेखि २५ सम्मका युवा हुन्। करिब ७० प्रतिशत ग्राहक भनेकै युवाहरु रहेको र तीन प्रतिशत जति १८ वर्ष भन्दा मुनिका भएको राजिवले बताए।
त्यसैले पनि कम्पनीले सधैंजसो प्रयोग हुने प्राय: क्याजुअल तथा स्ट्रिट वेयर उत्पादन गर्दै आएको छ।
ग्राहकको विश्वास कायम राखी भएका उत्पादन तथा टिमले गरिरहेको मेहनतका कारणले नै छोटो समयमै कम्पनी स्थापित हुन सकेको राजिवको भनाइ छ।
उनी भन्छन्, ‘कुनै पनि ग्राहकले लुगाको विषयमा कुनै पनि कम्प्लेन गर्नुभयो भने तुरुन्तै त्यसलाई सम्बोधन गरिन्छ। हाम्रो रिफण्ड `र एक्सचेन्ज पोलिसी सजिलो छ। जसले एकपटक हाम्रो कपडा प्रयोग गर्नुहुन्छ वहाँहरुकै सकारात्मक प्रचारले पनि हाम्रो बजार तथा ग्राहकको दायरा फराकिलो बनाइदिएको छ।’
अहिलेको फास्ट फेसनलाई कसरी दिगो रूपमा परिणत गर्न सकिन्छ भने लक्ष्यका साथ मोड-२३ अगाडि बढिरहेको छ। फास्ट फेसन कुनै पनि हालतले वातावरणमैत्री हुँदैन। यही समस्यालाई केही हदसम समाधान गर्न मोड-२३ ले काम गरिरहेको उनी बताउँछन्। ग्राहकहरूले भनेको जस्तो डिजाइन पनि होस्, जुन ट्रेन्डी पनि होस्। तर त्यसलाई नै दिगो बनाउन तिर तत्पर छ मोड-२३।
.jpg)
दिगो फेसनको अर्को पाटोबारे राजिव भन्छन्- ‘यस उद्योगमा हुने श्रम शोषणबारे धेरै कुरा उठ्ने गर्छ तर हामीले कामदारलाई राम्रो तलब दिइरहेका छौं, बीमा, संचयकोष सबै सुविधाहरू दिइरहेका छौं। हामीले खेर गएको कपडाहरूबाट कपास निकालेर डस्नाहरू बनाएर आवश्यक परेको ठाउँहरूमा वितरण पनि गरिरहेको हुन्छौं। यसो हुँदा हाम्रो वेस्ट कुनै ल्याण्डफिलमा जाँदैन।’
हाल मोड-२३ अर्गानिक कटनमा, फ्याँकिएका बोतलहरुलाई रिसाइकल गरेर त्यसको पोलिस्टर धागो बनाएर त्यसबाट फ्याब्रिक बनाउने प्रशिक्षण समेत गर्दैछ। यसका लागि उनीहरू भारतीय कम्पनीसँग कुराकानीमा रहेको राजिवले जानकारी दिए।


