भारतबाट बढेर आयो पेट्रोल र डिजलको मूल्य, ग्यासमा भने घट्यो, निगमको घाटा मासिक १ अर्ब पुग्ने



२०७९ भदौ १६ गते १७:३७ | Sep 1, 2022


काठमाडौं। कच्चा तेलको भाउ बढेपछि भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।

Tata
Global Ime

इन्डियन आयल कर्पोरेसनले नेपालका लागि सेप्टेम्बर १ तारिखमा पठाएको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १ रूपैयाँ ३९ पैसा र डिजल प्रति लिटर ६ रुपैयाँ १२ पैसाले बढाएर पठाएको छ। निगमका अनुसार अब निगमलाई मासिक लगभग एक अर्ब रुपैयाँ घाटा हुने देखिएको छ। 

निगमका अनुसार अहिले पेट्रोलमा २ रुपैयाँ नाफा र डिजलमा लगभग १० रुपैयाँ घाटा छ। यसपटक ग्यासको मूल्य भने घटेर आएको छ। ग्यासमा यसपटक १२१ रुपैयाँले घटेर आएपछि नयाँ मूल्यमा निगमलाई ३७५ रुपैयाँ मात्र घाटा हुने भएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो। यसभन्दा अघि पेट्रोलियमको मूल्य घटेर आएका थिए। अगष्ट १६ मा आइओसीले पेट्रोल प्रतिलिटर १ रुपैयाँ ८० पैसा, डिजेल प्रतिलिटर ४ रुपैयाँ ८० पैसा र हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटाएर पठाएको थियो।

त्यो समय भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि निगमले नेपाली बजारमा समायोजन गरेको थिएन। १५ दिनमा निगमलाई ३२ करोड रुपैयाँ घाटा थियो। नेपाली बजारमा अहिले प्रतिलिटर पेट्रोलको १८१ र डिजेलको १७२ रुपैयाँ छ। मूल्य बढेर आएसँगै अब निगमको घाटा फेरि बढ्ने देखिएको छ। आइओसीलाई ४ महिनादेखि सम्झौता अनुरुप भुक्तानी दिन नसकेको रकम अझै २३ अर्ब बाँकी रहेको छ।