चौधरी समूहको पाल्पा सिमेन्टको निर्माण अन्तिम चरणमा, पौने १५ अर्ब लगानी, साढे १२ अर्ब ऋणलाई रेटिङ



२०७९ भदौ १९ गते ०९:३४ | Sep 4, 2022


चौधरी समूहको पाल्पा सिमेन्टको निर्माण अन्तिम चरणमा, पौने १५ अर्ब लगानी, साढे १२ अर्ब ऋणलाई रेटिङ


काठमाडौं। चौधरी समूहको सिजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालिले १४ अर्ब ७३ करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको सिमेन्ट उद्योगको निर्माण अन्तिम चरणमा आइपुगेको छ।

Tata
Global Ime

दुई महिनाअघि अर्थात् जुलाई २०२२ बाटै व्यावसायिक उत्पादन थाल्ने कम्पनीको तयारी भए पनि अझैसम्म त्यो काम सकिएको छैन।जुलाइमध्ये अप्रिल २०२२ सम्म कम्पनीको भौतिक र वित्तीय प्रगति ८५ देखि ९० प्रतिशत छ। अबको केही समयमै उद्योगबाट व्यवसायिक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ। 

कम्पनीले १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ एजेन्सी इक्रा नेपालबाट रेटिङ गराएको छ। ९ अर्ब ५४ करोड ७० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल बी प्लस र तीन अर्ब रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ। 

भर्टिकल रोलिङ मिल (भिआरएम) प्रविधिमा आधारित सिमेन्ट उद्योगको क्षमता दैनिक २९ सय ५० टन र सिमेन्ट भने दैनिक २८ सय टन छ। कम्पनीले ओपीसी र पीपीसी सिमेन्ट बिक्री गर्ने योजना बनाएको छ। 

चौधरी समूहले सन् २०१३ देखि सिजी सिमेन्ट पनि उत्पादन गरिरहेको छ। जसको क्षमता दैनिक १५ टन रहेको रेटिङ विवरणमा उल्लेख छ। सिजी पाल्पाको ग्राइन्डिङ युनिट सञ्चालनमा नआएसम्म सिजी सिमेन्टकै क्लिंकर प्रयोग गर्ने योजना चौधरी समूहको छ।  

सिजी पाल्पाको चुनढुंगा खानी फ्याक्ट्रीबाट ४ देखि ५ किलोमिटरको दूरीमा छ। प्लान्ट भने पाल्पाको सर्देवामा पर्छ।