
काठमाडौं। दसैंका लागि अग्रिम टिकट काट्न बसपार्कमा रातीदेखिनै लाइन बस्नुपर्ने बाध्यता पछिल्लो समय कम हुँदै गएको छ। अग्रिम टिकट खुल्ने अघिल्लो दिननै टिकट काट्ने स्थान नयाँ बसपार्क, गौशाला,चावहिल, पूरानो बसपार्क, कोटेश्वर, कलंकी, सुन्धारा लगायतका स्थानमा मध्यरातनै यात्रु लाइनमा बस्नुपर्ने बाध्यता विगतमा थियो।
अब भने त्यो झन्झट हटेको छ। बस सेवा डट कम तथा अन्य रुट अनुसारका बस टिकेटिङ एपहरुमार्फत बसको टिकट काट्न सकिन्छ। अनलाइन टिकेटिङ बस सेवा डट कमले सुरुवात गरेको थियो। पाँच वर्षअघि नै बससेवाले अनलाईन बस टिकेटिङ सेवा सुरु गरेको बससेवाका संस्थापक पीआर खनालले बताए।
अघिल्लो वर्ष टिकट काउन्टरमा लाइन कम भएको थियो। दाङमा राप्ती यातायात प्रालि, बुटवलमा पश्चिम नेपाल बस व्यवसायी, पूर्वमा मकालु, मेट्रो, पोखराका लागि जगदम्बा यातायात, साझा यातायात लगायत मुलुकका मुख्य गन्तव्यका लागि टिकट काट्न सकिने खनालको भनाइ छ।
बससेवा तथा अन्य अनलाइन एपहरुमा साझा यातायात, धौलागिरी यातायात, शुभ जगदम्बा ट्राभल्स, स्वयम्भु मन्जुश्री, पोखरा जगदम्बा, मनकामना दर्शन, माउन्ट मकालु यातायात लगायतका डेढ सयभन्दा धेरै बस कम्पनी आबद्ध रहेको उनले बताए। सकभर यो भन्दा धेरै रुटहरु कभर गर्नेगरी योजना बनाइएको खनाल बताउँछन्। 'यी सबैलाई अनलाइनमा आवद्ध गराउने काम भइरहेको छ,' उनले बिजमाण्डूसँग भने।
यसभन्दा अघि दैनिक ३ हजारको संख्यामा टिकट काट्न सकिन्थो। त्यसमध्ये सामान्य दिनमा पनि १२ सयको हाराहारीमा टिकट अनलाईनमार्फत काटिने गरेको खनालले बताए। उनका अनुसार अघिल्लो दसैंमा एकै दिन ३२ सय जानले अनलाइनमार्फत बसको टिकट काटेका र यसपाली अनलाइन टिकेटिङ सिस्टमको क्षमता वृद्धि गरिएको छ। 'यस पाली १२ हजार जनासम्मको लागि क्षमता वृद्धि गरिएको छ,' उनले भने।
खनालले यो दसैंमा अनलाइन टिकेटिङको लागि कुनै समस्या नरहेको बताउँदै अनलाइनबाट टिकेटिङ गर्नेहरुका लागि कलंकीको ढुंगे अड्डामा प्रतिक्षालयको समेत व्यवस्था गरिएको बताए। सो प्रतिक्षालयको ७० जनासम्म अट्ने क्षमता रहेको छ। 'दसैंमा घर जाने प्यासेन्जरहरु त्यहाँ गएर गाडीको प्रतिक्षा गर्न सक्ने छन्,' उनले भने, 'यसो हुँदा उनीहरुले सडकमा धुलो खाएर गाडीलाई पर्खिनु पर्दैन।'
दशैमा प्रायजसो सबै निकायहरुले ५० वटा स्थानमा यात्रु सहायता कक्ष संचालन गरेका हुन्छन्।
खनालका अनुसार सबै भन्दा ठुलो समस्या पश्चिम रुटहरु र पहाडी रुट जस्तै पाल्पा, अर्घाखाँचीमा सामान्य समय ४/५ वटा गाडी संचालन भइरहेका हुन्थे भने दसैंको बेलामा धेरै गाडी संचालन हुन्छन्।
खनालका अनुसार यो वर्ष दलालको पनि समस्या नरहेको बताए। 'खाली सिट भयो भने मात्र त्यस्ता दलालहरु चहलपहल गर्न सक्छन्,' उनले भने, 'काउन्टर बाट त्यो समस्या छैन र हुँदैन।'
दशैको लागि भनेर कुनै अफरहरु ल्याउने योजना नरहेको खनालले बताए।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजयबहादुर स्वाँर पनि अनलाइन टिकेटिङलाई अझै सुधार गरिने बताउँछन्। पश्चिम नेपाल, पोखरा बस सेवा लगायत १०/१२ वटा रुटअनुसार आफ्नै अनलाइन टिकेटिङ एपहरु संचालन भइरहेको स्वाँरले बताए।
यी व्यक्तिगत रुपमा संचालन भएका बस टिकेटिङ एपहरुलाई एउटै प्ल्याटफर्ममा ल्याउने तयारी समेत गरिएको स्वाँरले बताए।
असोज पहिलो हप्ताबाट बुकिङ खोल्ने तयारी
असोज पहिलो हप्ताबाट बसको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ। यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र महासंघको समन्वयमा अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गरिएको स्वाँरले बताए।
'सकेसम्म पहिलो हप्ता बसको टिकट खोल्ने हाम्रो योजना हो,' उनले भने, 'अहिलेको मुख्य समस्या भनेकै सडकको हो। कतैको सडक पनि अहिलेको अवस्थामा राम्रो छैन। अनलाइन टिकेटिङको राम्रो व्यवस्था गर्न छलफल भएका छन्।'