
काठमाडौं। एनसेलले भोइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) सेवा सुरु गरेको छ। जसबाट एनसेलका ग्राहकहरुले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। एनसेलले ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यवसायिक सुरुआत गरेको छ।
दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो। जसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्छ। भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ। एनसेल प्रयोगकर्ताहरुले अब फोरजी नेटवर्कमा रहेर फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
एनसेलले भोल्टे सेवाको सफलतापूर्वक सफ्ट लन्च सम्पन्न गर्दै भदौ १६ गतेदेखि व्यवसायिक रुपमा भोल्टे सेवाको सुरुवात गरेको हो। हालको सुरुवाती चरणमा एनसेलका ग्राहकहरुले सामसङको ग्यालेक्सी ए५१, ग्यालेक्सी ए३३ र ग्यालेक्सी ए५३, भिभोको वाई५५, भी२३ र हुवावेको नोभा ३आई, वाई९ प्राइम २०१९ मा भोल्टे सेवा सुचारु गर्न सकिने कम्पनीले जनाएको छ।
एनसेलको फोरजी सिम अर्थात यूसिम भएका र माथि उल्लेख गरिएका मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरुले
*१७२०१# डायल गरि एनसेल भोल्टे सेवा सुचारु गर्न सक्छन्। यो सेवा सुचारु गरेसँगै एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टकटाइम बोनस स्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ। प्राप्त बोनस भोल्टे टकटाइम २८ दिनको लागि मान्य हुने बताइएको छ। उल्लेखित मोबाइल सेटहरु प्रयोग गर्ने ग्राहकले मोबाइलको सफ्टवेयरको पछिल्लो संस्करण भने आफ्नो मोबाइलमा इन्स्टल गरेको हुनुपर्ने कम्पनीले जनाएको छ।
एनसेलका ग्राहकहरुले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने र फोरजी नेटवर्कमा रहेको हुनुपर्ने कम्पनीले जनाएको छ।