काठमाडौं। चालु आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुमा मोटर बीमाको व्यवसाय घटेको छ। निर्जीवन बीमामा मोटर बीमाको व्यवसायको हिस्सा सबैभन्दा बढी हुन्थ्यो।
बीमा समितिका अनुसार मोटर बीमा व्यवसाय २२.९५ प्रतिशतमा सीमित भएको छ। यसअघि यसको हिस्सा ४५ प्रतिशत हुन्थ्यो। मोटर बीमामा १ लाख २७ हजार १ सय ३ वटा बीमालेखबाट १९ निर्जीवन बीमा कम्पनीले १ अर्ब २ करोड ७० लाख रुपैयाँ रुपैयाँ बीमा शुल्क कमाएका छन्। यस बीमालेखमा वाग्मती प्रदेशमा सबैभन्दा बढी ५६ करोड रुपैयाँ संकलन गरेको छ।
बीमा कम्पनीहरुको आधाभन्दा बढी व्यवसाय मोटर बीमाले धान्दै आएको थियो। तर अहिले भने मोटर बीमालाई पछि पार्दै इन्जिनियरिङ र सम्पत्ति बीमा अघि भएको छ।
चालु आर्थिक वर्षमा मोटर बीमाबाहेक अन्य बीमालेखहरुमा सुधार देखिएको समितिले जनाएको छ। साउनमा इन्जिनियरिङ बीमाबाट १ अर्ब २७ करोड ५६ लाख रुपैयाँ शुल्क आर्जन गरेको छ।
गत वर्ष बाँकी रहेको इन्जिनियरिङको काम सकिँदा व्यवसाय राम्रो भएको हो। सम्पत्ति बीमाबाट मात्र १ अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ।
त्यसैगरी १६ हजार १ सय ३१ वटा विविध बीमालेखबाट ४५ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ। वाग्मती प्रदेशमा मात्र ३८ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कुल बीमा शुल्कमा यसको हिस्सा १०.२५ प्रतिशत छ।
त्यस्तै विविध बीमाको हिस्सा पनि सामुन्द्रिक हवाई कृषि तथा बाली लघु बीमाभन्दा धेरै छ। विविध बीमाले साउन महिनामा ४५ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। सामुन्द्रिक बीमाले ३२ करोड ९९ लाख रुपैयाँ, कृषि तथा बाली २१ करोड ११ लाख, लघु बीमा ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
किन आयो मोटर बीमा व्यवसायमा गिरावट ?
सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि १५० सीसीभन्दा माथिका बाइक तथा स्कुटर र प्यासेन्जर भेहिकल आयातमा प्रतिबन्ध लगाएको छ। यो बाहेक तरलता अभावले समेत सवारी साधनको बिक्री कम छ।
यही कारणले मोटर बीमाको व्यापार खस्किएको हो। सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले गाडी आयातमा प्रतिबन्ध लगाइएका कारण त्यसको बीमाको व्यापार प्रभावित भएको बताए।
उनका अनुसार पुराना गाडीधनीले समेत नवीकरण नगर्दा बीमामा प्रभाव परेको छ। नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले सवारी साधनको आयात प्रतिबन्ध नखुलेसम्म मोटर बीमाको व्यापार नसुध्रिने बताउँछन्।
यस्तै आइएमई जनरल इन्स्योरेन्सका डेपुटी सीइओ शरण रेग्मी तरलता अभाव र आयात प्रतिबन्धको असर बीमा व्यवसायमा परेको बताए।
कुन प्रदेशमा कति बीमा शुल्क संकलन
बीमा समितिका अनुसार १९ निर्जीवन व्यवसाय गर्ने बीमा कम्पनीले ८ प्रकारका बीमालेखहरुबाट ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यसमध्ये इन्जिनियरिङ तथा ठेक्का बीमा शुल्क सबैभन्दा धेरै छ। जसमा कुल व्यवसायको २८.५० प्रतिशत हिस्सा रहेको समितिले जनाएको छ। सात प्रदेशबाट २ हजार ३१ वटा बीमालेखबाट १ अर्ब २७ करोड रुपैयाँको शुल्क कमाएको हो।
जसमा सबैभन्दा धेरै बीमा शुल्क वाग्मती प्रदेशमा कमाएको हो। जुन १ अर्ब १५ करोड रुपैयाँ वाग्मती प्रदेशको मात्र छ। त्यस्तै सम्पत्ति बीमाअन्तर्गत सात प्रदेशमा १९ कम्पनीले ४३ हजार ५ सय ३८ वटा बीमालेखबाट १ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ। निर्जीवन बीमा व्यवसायमा सम्पत्ति बीमाको हिस्सा २३.७२ प्रतिशत छ।
यस बीमालेखमा पनि वाग्मती प्रदेशको हिस्सा धेरै छ। वाग्मतीमा ६५ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ।
कृषि तथा बालीमा १६ हजार ६ सय ४६ वटा बीमालेखबाट २१ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। बीमा व्यवसायमा यसको हिस्सा ४ प्रतिशत मात्र छ। पछिल्लो समय कृषि बीमा प्रति कम्पनी र समितिको ध्यानाकर्षण भएपनि उल्लेख्य मात्रामा बीमालेख वृद्धि भएको छैन।
समितिका अनुसार ६ वटा हवाई बीमालेखबाट १० करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा हवाई बीमा वाग्मती प्रदेशमा मात्र भएको छ।
निर्जीवन बीमा व्यवसायमा सबैभन्दा कम बीमा शुल्क संकलन लघु बीमामा भएको छ। सात प्रदेशमा २९ सय ९ वटामा बीमा लेखबाट ६३ लाख रुपैयाँको बीमालेख संकलन भएको समितिले जनाएको छ। गत वर्ष बीमा समिति र बीमा कम्पनीहरुले विभिन्न जिल्लाहरुमा अन्तरक्रिया कार्यक्रम गरे पनि लघु बीमा बढ्न सकेको छैन। निर्जीवन बीमा व्यवसायमा यसको हिस्सा ०.१४ प्रतिशत ओगटेको छ।
निर्जीवन बीमा व्यवसायहरुले आर्जन गरेका बीमाशुल्क
स्रोत : बीमा समिति


