ग्राहकहरुको स्वीकृतिबिना कुनै पनि सेवा नवीकरण नगर्न टेलिकम कम्पनीहरुलाई एनटीएको निर्देशन



२०७९ भदौ २१ गते १३:१२ | Sep 6, 2022


ग्राहकहरुको स्वीकृतिबिना कुनै पनि सेवा नवीकरण नगर्न टेलिकम कम्पनीहरुलाई एनटीएको निर्देशन



काठमाडौं। दूरसञ्चार अपरेटरहरु नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले ग्राहकहरुको स्वीकृतिबेगर नै भ्यालु एडेड सर्भिस स्वत: नवीकरण गरेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले त्यसलाई रोक्न निर्देशन दिएको छ। प्राधिकरणले ग्राहकहरुको अनुमतिविना नै दूरसञ्चार कम्पनीहरुले विभिन्न सेवाहरु पैसा काटेर आफैं नवीकरण गरेपछि रोक्न ताकेता गरेको छ। 

Tata
Global Ime

‘तीनवटै दूरसञ्चार अपरेटरहरुले ग्राहकहरुले विभिन्न समयमा सब्स्क्राइब गरेको सेवाहरु उनीहरुको अनुमति नै नलिइ नवीकरण गरेको हामीलाई उजुरी आयो। हामीले पनि त्यस्ता घटना फेला पार्‍यौं। त्यसरी ग्राहकहरुको अनुमति बिनानै नवीकरण गर्न रोक्न पत्राचार गरेका हौं।,’ प्राधिकरणका एक अधिकारीले भने। 

‘सेवा प्रदायकहरुले सञ्चालन गरेका भ्यालु एडेड सर्भिस सेवाको अवधि सकिन लागेको जानकारी अवधि सकिनुअघि एसएमएस मार्फत् नि:शुल्क रुपमा पठाउनुपर्छ। सेवा नवीकरण गर्ने/नगर्ने सम्बन्धमा एसएमएसमार्फत ग्राहकको प्रतिक्रिया माग्नुपर्छ।, ' प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ, 'एसएमएस मार्फत नवीकरण गर्न अनुरोध गर्ने ग्राहकका लागि सेवा प्रदायकले सो सेवा नवीकरण गर्ने व्यवस्था गर्नुपर्छ। तर एसएमएस मार्फत नवीकरण नगर्ने जानकारी गराउने तथा कुनै प्रतिक्रिया नजनाउने ग्राहकहरुका लागि उक्त सेवा स्वत: नवीकरण नगर्न निर्देशन दिँदै आएका छौं।'

हाल सामाजिक सञ्जालहरुमा प्राधिकरणले दिएको निर्देशन विपरित स्वत: नवीकरण हुने गरी भ्यालु एडेड सेवा सञ्चालन गरेको जानकारी आएको भन्दै प्राधिकरणले त्यसको कार्य तुरुन्तै रोक्न निर्देशन दिएको छ। 

जानकारीबिना नै कुनै सेवा प्रदायकले सेवा नवीकरण गरे तुरुन्तै प्राधिकरणलाई जानकारी दिन समेत सूचित गरेको छ।