काठमाडौं। केएल दुगड समूहको तेल उत्पादन गर्ने कम्पनी स्वस्तिक तेल इन्डस्ट्रिज प्रालिले १० महिनामै ११ अर्ब ७७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ। भटमास, पामोलिन र सूर्यमुखी तेलका साथै वनस्पती घ्यू प्रशोधन गरी बिक्री गर्ने कम्पनीले २०२१ मा ११ अर्ब १० करोड रुपैयाँको व्यापार गरेको थियो। २०२० मा कम्पनीले आठ अर्ब दुई करोड रुपैयाँको कारोबार गरेको थियो।
कम्पनीसँग वनस्पती घ्यू उत्पादन गर्न जडित क्षमता वार्षिक एक लाख ३५ हजार टन छ भने भटमासको तेलका लागि वार्षिक १० हजार टन छ। बिराटनगरमा प्लान्ट रहेको कम्पनीले स्वस्तिक, धारा, सनफ्लो, संगम र बिगुल ब्राण्डमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ। कम्पनीले मोहन धारा र नौरिस ब्राण्डका खानेतेल भारत निर्यात गरिरहेको छ। २०२१ मा कुल बिक्रीको ४१ प्रतिशत हिस्सा भारत निर्यातबाट कमाएको थियो।
२०२१/२२ को १० महिनामा यो ४२ प्रतिशत रहँदै कम्पनीले चार अर्ब ९७ करोड ७० लाख रुपैयाँ कमाएको टिङ एजेन्सी इन्फोमेरिक्स रेटिङ्स नेपालले जनाएको छ। कम्पनीको अध्यक्ष विकास दुगड छन्।
कम्पनीले १० अर्ब ४६ करोड ८० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि इन्फोमेरिक्सबाट रेटिङ पाएको छ। एक अर्ब १८ करोड ९७ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि कम्पनीले आइआरएन ट्रिपल बी र नौ अर्ब २७ करोड ८२ लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि आइआरएन ए थ्री प्लस रेटिङ पाएको छ।


