
काठमाडौं। भारतमा प्यासेन्जर गाडीहरुको पछाडिको सिट बेल्टमा पनि रिमाइन्डर अनिवार्य बनाउने भएको छ। केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीले सवारी साधनहरूमा पछाडिको सिट बेल्टहरूको लागि जरिवाना संरचनाको विवरण दिने मस्यौदा छिट्टै जारी गरिने बताएका छन्।
केन्द्रीय मन्त्री गडकरीले उनको मन्त्रालयले पछाडिको सीटमा बस्ने यात्रुहरूको लागि सीट बेल्ट रिमाइन्डर अलार्म प्रणाली अनिवार्य बनाउन खोजिएको बताएका छन्। पछाडिको सिटमा बस्नेहरूले बेल्ट नलगाएको फेला परेमा जरिवाना तिर्नुपर्ने संरचनाको विवरणसहित अबको तीन दिनमा एक मस्यौदा जारी गरिने जानकारी उनले दिएका छन्।
हालै सडक दुर्घटनामा परेर टाटा सन्स र टाटा मोटर्सका पूर्व अध्यक्ष साइरस मिस्त्रीको मृत्यु भएको थियो। मिस्त्री गाडीको पछाडि सिटमा बसेका थिए। मृत्यु हुनमा पछाडिको सिट बेल्ट प्रयोग नगरिएको हुनसक्ने संकेत गडकरीले गरेका छन्।
सडक सुरक्षा र अटोमोटिभ विज्ञहरूले प्यासेन्जर सवारी साधनहरूमा पछाडि बस्ने सिट बेल्टहरू प्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आएका छन्। 'सिट बेल्ट रिमाइन्डर अलार्म हाल अगाडिका यात्रुहरूका लागि अनिवार्य गरिएको छ। तर अब यो पछाडिको सिटमा बस्नेहरूलाई पनि अनिवार्य गरिनेछ,' उनले भने।
सडक सुरक्षाको पछिल्लो तथ्यांकअनुसार भारतमा दुर्घटना र ज्यान गुमाउनेको संख्या दुवै वृद्धि भएको छ। भारतमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १६.८३ प्रतिशतले बढेको छ।