हाम्रै सुत्रले जलविद्युत क्षेत्रको विकास संभव भयो: भुटान चेम्बरका महासचिवको अन्तर्वार्ता



बिजमाण्डू
२०७२ भदौ १७ गते ००:०० | Sep 3, 2015


हाम्रै सुत्रले जलविद्युत क्षेत्रको विकास संभव भयो: भुटान चेम्बरका महासचिवको अन्तर्वार्ता


भुटान जलविद्युत र पर्यटन क्षेत्रमा उदयीमान मुलुक हो । झन्डै ८ लाख जनसंख्या भएको भुटानमा अहिले १७ सय मेगावाट विजुली उत्पादन भइरहेको छ । भुटानले विदेशी लगानी भित्र्याएर सन् २०१८ सम्ममा ६ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य पूरा गर्दैछ । भुटानले जलविद्युतमा मारेको फड्कोलाई विश्वलेनै नियालिरहेको छ । भुटानले जलविद्युतमा मारेको फड्को, नेपाली व्यापारको अवसर र जलविद्युतको अनुभवको बारेमा बिजमाण्डूका विज्ञान अधिकारीले भुटान चेम्बर अफ कमर्शका महासचिव फुब छिरिङलाई सोधे जलविद्युतमा सफलताको मन्त्र के हो ? 
 
भुटान अन्तर्राष्ट्रिय ब्यापार मेलाको आयोजना गरिएको छ यसबाट नेपालले के फाइदा लिन सक्छ ?
 
लगानी र अवसरका लागि हेरिरहेका छौं । यो व्यवसायिक अवसर हो । यस्तो व्यापार मेलाले नेपालबाट निकासी गर्न सकिने वस्तुका पहिचान गर्न सहयोग पुग्छ । व्यापार मेलाले दुई देशको व्यापार अभिवृद्धि गर्ने माध्यम बन्न सक्छ । छैटौं मेलासम्म आइपुग्दा भुटान नेपालसँग व्यापार ‘सरप्लस’मा छ । तर हामी नेपालको वस्तु प्रवद्र्धन भएर घाटा घटोस भन्न चाहिरहेका छौं ।  
 
छैटौं मेलासम्म आइपुग्दा जुन उदेश्य लिएर मेला भएको थियो त्यो उद्देश्य प्राप्त भएको छ ? 
 
व्यापार मेला भनेको ‘शोकेश’ मात्रै हो । शोकेशपछि व्यापार प्रवर्द्धनका लागि बाटो खुल्छ । यही मेलामार्फत व्यापार बढाउन सकिन्छ । छैटौं मेलासम्म आइपुग्दा वस्तु प्रवर्द्धनका गर्ने उदेश्य प्राप्त भएको छ । सार्क मुलुकबीच क्षेत्रीय व्यापार प्रवद्र्धनका लागि यस्ता मेला महोत्सवले महत्वपूर्ण भूमिका खेलेको छ ।

Tata
Global Ime

सन् २००९ बाट सुरु भएको मेलाबाट हामीले पनि धेरै कुरा सिक्न पाएका छौं । अहिले भुटानमा नेपालका हस्तकलाका भुटानी जनताले समेत रुचाएका छन् । नेपालबाट ट्रान्सफरर्मर, बिजुलीको पोल, हस्तकलाका सामान आइरहेका छन् । मेलाबाटै एजुकेशन कन्सल्टेन्सी, निर्माण कम्पनीहरुले यहाँ आएर सडकको पुलको काम गरिरहेका छन् । 
 

नेपाल र भुटानबीच लामो समयदेखि द्विपक्षीय व्यापार सन्धीको कुरा उठेको थियो । तर अहिले सन्धीको बारेमा बहसनै सुनिदैँन किन ?
 
नेपाल र भुटानबीच द्विपक्षीय व्यापार सन्धी पाइपलाइनमा छ । यो सन्धी भएमा दुई देशको व्यापार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ । दुई देशबीच सहुलियतपूर्ण व्यापारको बाटो खुल्छ । धेरै अघि दुई देशबीच यो सन्धीको बारेमा छलफल र वार्ता अघि बढाउने सहमति भएको थियो । भुटानले बंगलादेशसँग द्विपक्षीय सम्झौता गरिसकेको छ । यो सम्झौतालाई दुई देशले छिटै अघि बढाउने अपेक्षा हामीले गरेका छौं । यो सम्झौतालाई अघि बढाउन भुटान र नेपालका व्यवसायीले पहलसमेत गरिरहेका छन् । 
 
नेपाल र भुटानबीच व्यापार अभिवृद्धिका लागि के कस्ता अवरोधहरु रहेका छन् ?
 
नेपाल र भुटानवीच वस्तु व्यापारका लागि यातायात सञ्जालनै सबैभन्दा ठूलो अवरोध हो । यो सार्क मुलुककै समस्या हो । सार्क मुलुकबीच सडक अवरोध हटाउन यातायात सम्झौंता भइसकेको छ । यो सम्झौतापछि यातायातका साधन निर्वाध रुपमा आउजाउ गर्न सजिलो भएर व्यापार अभिवृद्धिमा सहयोग पुग्नेछ । 
 
भुटान जलविद्युत उत्पादनमा सफल मुुलुक मानिन्छ । जलविद्युत निर्माणमा भुटानको मन्त्र के हो ?
 
भुटान जलविद्युतमा सफल हुनुमा तीनवटा कारण छन् । पहिलो भनेका जलविद्युतको मोडल तयार गर्‍यौं । मोडल तयार गरेपछि निर्माण समय र कार्यान्वयनलाई प्राथमिकतामा राख्यौं । यो तीनवटा मन्त्रका कारण जलविद्युतमा सफल भएका हौ । अहिले भुटानमा १५ सय मेगावाट विद्युत उत्पादन भइरहेका छ ।

नेपालमा ८५ हजार मेगावाट जलविद्युत उत्पादनको सम्भावना छ तर ८ सय उत्पादन भइरहेको छ । हामीसँग ३० हजार मेगावाट जलविद्युत उत्पादनको क्षमता छ हामीले १७ सय मेगावाट उत्पादन गरिसकेका छौ । हामीले सन् २०१८ सम्ममा ६ हजार ५ सय मेगावाट उत्पादन गर्नेछौं । अहिले तीन वटा जलविद्युत आयोजना निर्माणधीन अवस्थामा छ । 
 

भुटानमा कस्ता नेपाली वस्तुको निकासीको सम्भावना छ ?
 
भुटान आयातित अर्थतन्त्र भएको मुलुक हो । ९५ प्रतिशत वस्तु विदेशबाट आयात हुन्छ । भुटानमा वस्तु मात्रै होइन सेवा पनि आयात हुन्छ । नेपालका केही निर्माण कम्पनीले यहाँ सडक र पुल निर्माण गरिरहेका छन् । नेपालका एजुकेशन कन्सल्टेन्सीलेसमेत यहाँ सहकार्यमा काम गरिरहेका छन् । यो अपार सम्भावना भएको मुलुक हो । नेपालका लागि यहाँ अपार अवसरहरु छन् । त्यो अवसरलाई नेपालले ‘क्यास’ गर्न सक्छ ।

भुटानबाट अहिले जिप्सन, कोल, सिमेन्टलगायतका वस्तु निकासी हुन्छ । हामी नेपालसँग व्यापारमा सरप्लस छौ । भुटानबाट ४० करोड रुपैयाँ बराबरको सामान नेपाल निकासी हुन्छ । नेपालबाट ट्रान्सफरर्मर, बिजुलीको पोल, हस्तकला, गहनाका सामान लगायतका १२ करोड रुपैयाँ बराबरको आयात हुने गरेको छ ।