
—
हामीले एडिबीसँग ५० मिलियन डलर कन्सेसनल लोन (सहुलियतपूर्ण ऋण)को प्रक्रिया पनि अन्तिम चरणमा पुर्याएका छौं । हामी त अगाडि बढ्न चाहिरहेका छौं । किन अगाडि बढ्न चाहेका छौं भने हामीसँग पैसा भयो भने त सरकारले बनाउने आयोजना पनि लगानी गर्न सक्छौं । विद्युत प्राधिकरण छ, अरु निजी कम्पनीहरु पनि छन् उनीहरुलाई पनि सहयोग गर्न सक्छौं । हामीसँग पैसा छ भन्ने स्थितीमा अरु आयोजनालाई पनि बल पुग्छ । एडिबीबाट आउने पैसा पनि हामी जलविद्युत आयोजनामा नै लगाउछौं ।
—
एउटा बाटो त हामीले खोलेका छौं । रेमिट हाइड्रोमार्फत हामी नयाँ बाटोमा अगाडि बढेका छौं । हामीले अर्को पनि तीनचार सय मेगावाटका आयोजनामा वित्तीय व्यवस्थापन गराउन सक्छौं भन्ने मैले विश्वास लिएको छु । हामी चालिस पचास हजार मेगावाटमा लगानी गर्न नसकौंला तर पाँचसय मेगावाट वा हजार मेगावाटका आयोजना बनाउन कतै टाढा नगइ आफैंले स्रोतको व्यवस्थापन गरेर बनाउन सक्छौं ।
—

स्थापनाको झण्डै ४ वर्षपछि नेपाल सरकारको बहुमत सेयर स्वामित्व रहेको जलविद्युत लगानी तथा विकास कम्पनीले २ अर्ब रुपैयाँको सेयर सर्वसाधारणका लागि जारी गर्दैछ । चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नै अहिलेसम्म जलविद्युत आयोजनामा खर्च गर्न नसकेको भनेर आलोचित यो कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो । सरकारको पाँच अर्ब, कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको एक/एक अर्ब रुपैयाँ गरी कम्पनीमा ८ अर्ब रुपैयाँ लगानी भएको थियो । कम्पनीले अहिलेसम्म ८ वटा आयोजनामा सवा ३ अर्ब रुपैयाँ लगानी गरेको छ । जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारलाई बिजमाण्डूका सविन मिश्रले सोधे, बैंकमा राखेको पैसाको ब्याजबाट अहिलेसम्म ५ प्रतिशत लाभांश दिइरहेको कम्पनीले सर्वसाधारण लगानीकर्तालाई कति प्रतिफल दिन सक्छ ?
जलविद्युत विकास कम्पनीमा सुरुमा सरकारले जति पैसा हालेको थियो त्यस अनुसारको तपाईहरुले जलविद्युत आयोजनाहरुमा लगानी गर्न सक्नुभएको छैन । एकातर्फ प्रतिबद्धता पनि कम भएका छन् भने प्रतिबद्धता भएका आयोजनामा पनि पैसा गएको छैन । यस्तो अवस्थामा तपाईंहरुले आइपिओ जारी गर्दै हुनुहुन्छ । तपाईंहरुलाई कुन आधारमा विश्वास गरेर जनताले पैसा लगानी गर्ने ?
तपाईंको प्रश्नलाई म सुरुमा अलि मिलाउन चाहन्छु । यो कम्पनी भनेको पूर्वाधारको क्षेत्रमा काम गरिरहेको कम्पनी हो । पूर्वाधारमा लगानी भन्ने बित्तिकै अलिकती दीर्घकालीन लगानी हुन्छ नै । हामी जलविद्युतको क्षेत्रमा काम गरिरहेका छौं । जलविद्युतमा पनि जुन आयोजनाको विद्युत खरीद सम्झौता भइसक्छ, अरु इक्विटीको व्यवस्था भइसक्छ, अब यो आयोजना अगाडि बढ्छ भन्ने भइसकेपछि हामी फाइनान्सियल क्लोजर तिर अगाडि बढ्छौं । त्यस सन्दर्भमा पनि हामीले विगत साढे २ वर्षमा १८ वटा जलविद्युत आयोजनामा लगानीका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानीको प्रस्ताव पाएका छौं । यसले पनि के प्रमाणित गरेको छ भने नेपालमा जलविद्युतको विकासका लागि यो कम्पनीको कति आवस्यक छ र यसले के काम गर्न सक्छ भन्ने कुरा सबैले बुझिसकेका छन् । स्थापनाको छोटो समय भएपनि हामीले अहिलेसम्म ८ वटा जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन गरिसकेका छौं । यसमा पनि बैंक र वित्तीय संस्था भन्दा हाम्रो पोर्टफोलियो सबैभन्दा ठुलो नै हुनुपर्छ । संभवत यती धेरै लगानी अरुले गरेका छैनन् ।
पछिल्लो साढे २ वर्षयताको कुरा गर्नुहुन्छ भने हामी २० मेगावाटदेखि ८२ मेगावाटसम्मका आयोजनाको वित्तीय व्यवस्थापन गर्न सफल भइसकेका छौं । यी मध्ये कतिपय आयोजनाहरु त अबको दुई वर्षभित्रमा आइसक्छन् । यसबाहेक पनि सातवटा जलविद्युत आयोजनामा लगानीका लागि हामीले अहिले अध्ययन गरिरहेका छौं । मुलुकले ऊर्जाको संकट भोगिरहेको अवस्थामा अहिलेको जुन परिस्थिती निर्माण भएको छ, त्यसले पनि जलविद्युतमा नै लगानी गर्नुपर्छ र विकास गर्नुपर्छ भन्ने कुरा आम सर्वसाधारणलाई पनि छर्लंग भइसकेको छ । भनेपछि हामीले जलविद्युतको आधार तयार गर्नुपर्ने छ र त्यसतर्फ हामी विगत डेढ वर्षदेखि हिँडिसकेका पनि छौं । यसैका लागि हामीले तामाकोशी जस्ता ठुला आयोजना बनाउने होस वा अरु स्टोरेज प्रोजेक्ट बनाउने कुरा होस त्यसको वित्तीय व्यवस्थापन यही कम्पनीले गर्नुपर्छ भनेर हामीले प्रस्ताव दिइरहेका छौं ।
हामी अलिकति सफलता पनि पाएका छौं । नेपालमा जुन ६/७ सय अर्ब रेमिटेन्स आउँछ त्यसलाई व्यवस्थित गर्नुपर्छ भन्ने कुरा त आइरहेको थियो तर हामीले अझै त्यसमा फड्को मारेका छौं । हामीले रेमिट हाइड्रो कम्पनी स्थापना गरेर जलविद्युत उत्पादको काममा अगाडि बढिसकेका छौं र प्रक्रियामा पनि गएका छौं । त्यसका लागि पनि हामीलाई १९/२० अर्ब रुपैयाँ आवस्यक पर्छ ।
तपाईंले भन्नुभएको कुरा सत्य के हो भने हामीसँग लगानी गर्न पैसा छ । तर जव पूर्वाधारमा लगानीको कुरा आउँछ त्यसमा इक्विटी र डेकको कुरा आउँछ । इक्विटीको पहिला व्यवस्था हुनुपर्छ अनि मात्रै डेकको फ्लो सुरु हुन्छ । डेकको फ्लो अलिकति पछाडिमात्रै सुरु हुन्छ । त्यो हिसाबले लगानी गर्ने रकम थुप्रिएको देखिएको होला । म एउटा कुरा के निवेदन गर्न चाहन्छु भने हाम्रो फन्डमार्फत पनि हामीले विजनेश क्रिएट गर्न खोजेका छौं तर त्यो धेरै नै अपर्याप्त छ ।
पूर्वधारमा लगानीको कुरा गर्ने हो भने तपाईंहरु जलविद्युतमा मात्रै केन्द्रित हो । तपाईंले लगानी गरेका आयोजना पनि राम्रोसँग अगाडि बढेका छैनन् । हाम्रो देशमा जलविद्युत आयोजना निर्माण सम्पन्न हुन ५ वर्ष भन्दा धेरै लागेका छन् । अर्कोतर्फ तपाईंको दुई वर्षको प्रतिफल हेर्ने हो भने ५ प्रतिशत मात्रै छ । यस्तो अवस्थामा राम्रो प्रतिफलका लागि त यो कम्पनीमा लगानी गर्नुको के अर्थ ?
मान्छेहरुको प्रस्पेक्टिभ अनेक किसिमका हुन्छन् । हामी भनेको मैले अघि पनि भनें मूलत पूर्वाधारकै क्षेत्रमा लगानी गर्न स्थापना भएको वित्तीय संस्था हो । पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको प्रतिफल भनेको मध्यकालीनदेखि दीर्घकालसम्म पाउने खालको हुन्छ र यो स्थिर पनि हुन्छ । 'शर्ट टर्म रिटर्न' यसको नेचर नै होइन । हाम्रो पनि मुख्य विशेषता त्यही नै हो । त्यसैले आजको भोलि नै ह्याण्डसम डिबिडेन्ड को संभावना त रहँदै रहँदैन । हेर्ने के हो भन्दा खेरी यो कम्पनीको विजनेशको स्कोप छ ? आजको दिनको कुरा गर्नु हुन्छ भने नेपालमा सबैभन्दा धेरै संभावना जलविद्युत क्षेत्रकै छ । यती धेरै संभावना अरु क्षेत्रको छैन, यसको महत्व पनि त्यती नै छ । अब हामी कति आयातित इन्धनको भर परेर बस्ने ? भनेपछि यसको भविष्य उज्वल छ । यो क्षेत्रको विकल्प नै छैन । यो कम्पनीले लिड गर्ने संभावना पनि प्रसस्त छ । त्यसका लागि हामीले प्रयास पनि गरिरहेका छौं । कतिपय हिसाबमा हामी सफल पनि भएका छौं । त्यसकारण यसमा गर्ने लगानी भनेको दीर्घकालीन हो र लामो समयका लागि लगानी गर्ने र प्रतिफल पनि त्यस्तै चाहनेका लागि यो कम्पनी उपयुक्त हो ।
यो कम्पनीमा सरकारको अधिकांश लगानी सरकारको छ । हामीले सरकारी संस्थानको नियती देखेका छौं, भोगेका छौं । यसमा लगानी गर्ने सर्वसाधारणले पनि अरु संस्थानकै जस्तो नियती भोग्नु त पर्दैन ?
यसको यही नै उत्तर दिने अवस्था पनि छैन । हरेक संस्था नियमित प्रक्रियामा चल्छन् । त्यतिबेला व्यवस्थापन कस्तो आउँछ, उसले कस्तो निर्णय गर्छ, त्यसमा पनि भर पर्छ । हाम्रो देशमा जति संस्थानहरु छन् तिनीहरु पनि एकैपटक धरासायी भएका त होइनन् नि । सबै संस्थानले एक एक पटक सुनौलो दिन पनि देखेका नै थिए । त्यो सुनौलो दिन हुँदा हुँदै पनि व्यवस्थापनका कारण ती संस्थाहरु ओरालो नै लागे । त्यसैले भविष्यमा कस्तो व्यवस्थापन आउँछ, के निर्णय गर्छ भन्ने कुरा त भविष्यलाई नै छोडिदिन्छू ।
तर अहिलेको सन्दर्भको जुन कुरा छ, यो कम्पनीले व्यवसायिक रुपमा आफ्नो कार्यसम्पादन गरिरहेको छ र भोलिका दिन पनि त्यसैगरी काम गरोस भन्ने मेरो पनि चाहना छ । हामीकहाँ नेपाली सरकारका स्थायी कर्मचारीको दरबन्दीको व्यवस्था छैन । चारपाँच जनाबाहेक सबै कर्मचारी कार्यसम्पादन मूल्यांकनकै आधारमा करारमा छन् । हामीले पद्धतिमा काम गरेका छौं । व्यक्तिगत हिसाबमा गयौं भने गडबडी हुन्छ । तर हामीले पद्धति विकास गरेर काम गरेका छौं जसका कारण हामीले कम जोखिममा काम गर्न सकेका छौं । त्यो कुराले पनि हामीलाई व्यवसायिक बनाएको छ । त्यसकारण म के भन्न चाहन्छु भने अहिलेको सन्दर्भमा आफ्नो उद्देश्य प्राप्ती गर्न यो कम्पनीले दृढतापूर्वक काम गरिरहेको छ ।
अहिले मुलुको अर्थतन्त्र थलिएको अवस्थामा छ । भूकम्पको असर एकातिर देखियो भने अहिले नाकाबन्दी भोगिरहेका छौं । मानिसको लगानी प्राथमिकता परिवर्तन भएको छ । सर्वसाधारणमा सेयर जारी गर्ने उपयुक्त समय यो भएन कि ?
यसमा म के भन्छु भने दुईवटा कुरालाई हामीले बेग्लाबेग्लै रुपमा हेर्नुपर्छ जस्तो मलाई लाग्छ । भूकम्प गइसकेपछि हामी केही समयसम्म त्रासको अवस्थामा नै रह्यौं । तर हामी नै त्यही नेपाली हो जो दुई महिनापछि सबै कुरा बिर्सिएर सामान्य जीवनमा फर्किएका छौं । हाम्रो बजारहरु पनि सामान्य अवस्थामा उन्मुख भयो । अहिलेको स्थिती अलिकति फरक स्थिती हो । एउटा राष्ट्रको राजनीतिक जीवनमा यो पनि लामो समयसम्म रहिरहन्छ भन्ने मलाई लाग्दैन । भनेपछि अब हामी अहिलेको असामान्य अवस्थाले केही नैरास्यता रहे पनि दीर्घकालीन लगानी गर्ने कुरामा यसलाई मात्रै हेरेर निर्णय गर्नुहुन्छ जस्तो मलाई लाग्दैन ।
अर्को कुरा यो टाइमिङ मिलेन कि भन्ने कुरा छ, हामीलाई पनि धेरै फ्लेक्जिबिलिटी छैन । किन छैन भन्दा हामीले जतिबेला हामीले सेयर जारी स्वीकृति पायौं त्यसको निश्चित समयमा हामीले आइपिओ निकालिसक्नु पर्छ । नभए हामी फेरि पछाडि जान्छौं । हामीले विजनेशको आवस्यकताले पनि हामीलाई यहाँसम्म ल्याएको छ । तर अब समय भनौं वा नियती हामी यो अवस्थामा आइपुगेका छौं । तर मलाई लाग्छ जनमानसमा यो कम्पनीप्रति विश्वास रहेको छ ।
अहिले तपाईंहरुको ८ अर्ब पुँजी छ । छिट्टै २ अर्ब रुपैयाँ थपिँदै छ । ठुला आयोजनामा लगानी गर्ने हो भने तपाईंहरुसँग भएको पैसाले नै पुग्दैन । पछि ठुला आयोजना बनाउने दिनमा तपाईंहरुले कसरी काम गर्नुहुन्छ ?
पुँजी भनेको त 'सिड मनी' मात्रै हो । यो पुँजी मात्रै हामी चलाएर बस्ने भन्ने त सोच नै होइन । हामीले ठुला जलविद्युत आयोजनामा हामीले हाम्रो भूमिका देखिराखेका छौं र क्रिएट गर्ने कोशिष पनि गरिरहेका छौं । तपाईंले भनेको अघिको कुरा फेरि आउन सक्छ, आठ अर्ब खर्च भएको छैन बाँकी किन चाहियो । तर हामी त नयाँ बाटो देखिरहेका छौं । हामीले एडिबीसँग ५० मिलियन डलर कन्सेसनल लोन (सहुलियतपूर्ण ऋण)को प्रक्रिया पनि अन्तिम चरणमा पुर्याएका छौं । हामी त अगाडि बढ्न चाहिरहेका छौं । किन अगाडि बढ्न चाहेका छौं भने हामीसँग पैसा भयो भने त सरकारले बनाउने आयोजना पनि लगानी गर्न सक्छौं । विद्युत प्राधिकरण छ, अरु निजी कम्पनीहरु पनि छन् उनीहरुलाई पनि सहयोग गर्न सक्छौं । हामीसँग पैसा छ भन्ने स्थितीमा अरु आयोजनालाई पनि बल पुग्छ । एडिबीबाट आउने पैसा पनि हामी जलविद्युत आयोजनामा नै लगाउछौं ।
अहिले जसरी विद्युतको माग भइरहेको छ, मानिसहरु विद्युतीय सामग्रीमा जसरी अग्रसर भएका छन् त्यसले के देखाउँछ भने हामीले पनि १ हजार मेगावाट जतिका आयोजनामा इनिसिएसन लिए हुन्छ । र त्यसको लागि वित्तीय व्यवस्थापन आन्तरिक स्रोतबाट नै गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।
तर माथिल्लो तामाकोशीमा नै आन्तरिक स्रोतबाट वित्तीय व्यवस्थापन गराउन सुरुमा भएका समस्या पनि त हामीले देखेका थियौं नि ?
अर्को अवस्था के पनि छ भने हामी यति परनिर्भर भइसकेछौं कि सात दिन पनि टिक्न नसक्ने रहेछौं । हाम्रो घरमा चुलो बल्न कठिनाइ भइसक्यो । यो अवस्थामा हामीले राम्रो व्यवस्थापन गरेर आफैं आयोजना बनाउने कि अझै परनिर्भर बन्ने भन्ने पनि त हो नि । तामाकोशीमा पनि सुरुमा व्यवस्थापनले त्यो चुनौति लियो र आयोजना बन्ने अवस्थामा पनि पुगिसक्यो । त्यसकारण हामी पनि त्यस्तै चुनौति लिएर काम गर्न तयार छौं । एउटा बाटो त हामीले खोलेका छौं । रेमिट हाइड्रोमार्फत हामी नयाँ बाटोमा अगाडि बढेका छौं । हामीले अर्को पनि तीनचार सय मेगावाटका आयोजनामा वित्तीय व्यवस्थापन गराउन सक्छौं भन्ने मैले विश्वास लिएको छु । हामी चालिस पचास हजार मेगावाटमा लगानी गर्न नसकौंला तर पाँचसय मेगावाट वा हजार मेगावाटका आयोजना बनाउन कतै टाढा नगइ आफैंले स्रोतको व्यवस्थापन गरेर बनाउन सक्छौं ।
तर तपाईंहरुको कार्य प्रगति सुस्त छ । मानिसहरुले बैंकमा पैसा राखेर ब्याज लिने भन्दा अर्को काम छैन भनेर पनि आलोचना गर्छन् । जनताको पैसा उठाइसकेपछि त दायित्व थपिन्छन् । त्यो अवस्थामा कसरी काम गर्नुहुन्छ ? बजार खोज्न तपाईंहरुको पनि कमजोरी भएको हो ?
यस्तो भन्न मिल्ला र ? मिल्छ जस्तो मलाई लाग्दैन । बजार त हामीले खोजिरहेका छौं । हाम्रो सक्रियता हेर्नुस् । हामीले दुई अढाई वर्षमा १५ वटा आयोजना निर्माणमा हात हालेका छौं । आजको दिनमा कुनै पनि वित्तीय संस्थाभन्दा हामी अगाडि छौं । त्यो पनि सरकारले लगानी गरेको कम्पनी । जनभावनाको कुरा गर्नुहुन्छ भने सरकारी कम्पनी सुस्त हुन्छ भन्ने छ त्यो हेर्दा त हामीले धेरै काम गरेका छौं । हामी अझै ठुला आयोजनाका लागि काम गर्न खोज्दै छौं ।
हामी हाम्रा स्रोतको उच्चतम प्रतिफल आउनेगरी व्यवस्थापन गर्न लागिपरेका छौं । आजको भोलि काम हुने भन्ने त होइन । तर हामी अधिकतम प्रयोग हुने गरी काम गर्छौं । अर्कोतर्फ हामीसँग भएको पैसा खर्च गर्ने वातावरण पनि बनाउनु पर्यो । वातावरण त हाम्रो आउटपुटले नै बताइसकेको छ ।
आइपिओ आएपछि कम्पनीले नयाँ काम के के गर्ने छ ?
पहिलो काम त हाम्रो जलविद्युतमा लगानीकर्तालाई सहयोग गर्नु नै । त्यो हामीले पहिल्यैदेखि गर्दै आएका थियौं र अब गर्छौं पनि । अर्को कुरा राष्ट्रले जलविद्युत विकासमा के कस्ता नीति लिन्छ त्यसमा सहयोग गर्ने नै हो । हामीले त्यस्ता आयोजनाको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने नै हाम्रो काम हुन्छ । हामी नयाँ मार्केट खोज्न पनि लागि पर्छौं ।
हाम्रो अवस्थाले देखाइसकेको छ, जलविद्युत विकास नगरी मुलुक अगाडि बढ्दैन । हामीले जलविद्युत विकासमा कतै आफैंले पनि असहयोग त गरेका छैनौं ? जलविद्युत आयोजना, प्रसारण लाइनमा सात आठ वर्षदेखि अवरोध भइरहेका छन् । अब आम नेपालीले पनि यो कुरा बुझिसकेका छन् । जलविद्युत नारा मात्रै होइन कि काम गरेरै देखाउन पनि हामीले काम गर्नुपर्ने छ । मुलुकमा जलविद्युतमा विकास गर्ने आधारहरु तयार गर्नु पर्छ ।