डिम्याट सेयर कारोबार गराउने कम्पनी १९२ नाघ्दैनन्, सिडिएससीका सिइओ गुप्ताको अन्तर्वार्ता



बिजमाण्डू
२०७२ पुष २६ गते ००:०० | Jan 10, 2016


डिम्याट सेयर कारोबार गराउने कम्पनी १९२ नाघ्दैनन्, सिडिएससीका सिइओ गुप्ताको अन्तर्वार्ता


Tata
Global Ime

सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा नयाँ प्रमुख कार्यकारी आएका छन्- देवप्रकास गुप्ता । कम्प्युटर इन्जिनियर गुप्ताले पुँजी बजारमाथि एमफिल सकाइसकेका छन्, अब विद्यावारिधि गर्दैछन् । गुप्ता प्राविधिक रुपमा सिडिएस तयार रहेको भन्दै माघ १ बाट सबै सुचिकृत कम्पनीको डिम्याट सेयर मात्र कारोवार गराउन जुटेका छन् । बिजमाण्डूका सविन मिश्रले उनलाई सोध्यौं एउटा प्रमाणपत्र डिम्याट गरिदेउ भनेको पाँच महिनासम्म काम नभएको रेकर्ड छ नि ?
 

माघ १ गतेदेखि सेयर कारोबार पूर्ण रुपमा डिम्याट मात्रै कारोबार हुँदैछ । तर तपाईं अझै पनि कम्पनीहरुसँग डिम्याटको सम्झौता गर्दै हुनुहुन्छ । केही त अझै पाइपलाइनमा छन् । कामको तालमेल कहाँ मिलेन ?
पूर्ण रुपमा लागू गर्ने बिषयमा सुरुमा हामी कसैलाई पनि विश्वास थिएन । मलाई भन्न हुन्छ कि हुँदैन थाहा छैन- तर कन्फिडेन्स लेभल अलिकति कम भएकै हो त्यस बेला । नयाँ सफ्टवेयर थियो । प्राविधिक कुरा पनि धेरै जनाले बुझिसकेका थिएनन् । जुनसुकै बेला सफ्टवेयरकै समस्‍या पनि आउन सक्थ्यो । त्यस्ता केशहरु धेरै थिए । म प्रतिस्पर्धाबाट छानिएर यहाँ आएँ । सुरुमा मलाई काम नै प्राविधिक समस्या जे छन्, तिनीहरुको समाधान गर्ने दिइयो । प्राविधिक काम सकिएपछि धेरै समस्या त आफैं समाधान भएर जान्छन् । प्राविधिक रुपमा आइ एम कन्फिडेन्स भनेर मैले बताएपछि उहाँहरुले सबै डिम्याटमा जाने भन्नुभयो ।
 
म जुनबेला आएँ त्यतिबेला कन्फिडेन्स थिएन । मैले नै द्रुत गतिमा काम अगाडि बढाएँ । सबै कम्पनीहरुलाई नोटिस निकालेर अनिवार्य डिम्याट गर्ने भनेँ । हामीले अनिवार्य डिम्याट भनेर सूचना निकाल्नुअघि पनि ३७ वटा कम्‍पनी डिम्‍याटमा गइसकेका थिए । मेरो लक्ष्य के थियो भने हरेक दुई दिनमा एउटा कम्पनीको डिम्याट सम्झौता गर्ने । मेरो लक्ष्य पुरा हुँदै पनि थियो । मैले २७ अक्टोबरमा यहाँ काम थालें । यो ७५ दिनमा मैले ६६ वटा कम्पनीसँग डिम्याट सम्झौता गरिसकेको छु । त्यसमा फेरि ११ वटा थपिँदै छन् । यसमा मैले नै धेरै काम अगाडि बढाएँ ।
 

सुरुमा कारोबार हुनेमध्ये ६९ प्रतिशत डिम्याट भएको थियो । मैले बाँकी ३० प्रतिशत कुन कुन हुन् भनेर पहिले त्यसलाई छुट्याएँ । त्यसमा चिलिमे, अरुण हाइड्रो जस्ता कम्पनी थिए । उहाँहरुलाई मैले नै के समस्या छ भन्नुस म सहयोग गर्छु भनें । उहाँहरुको प्राविधिक समस्या हो कि, वित्तीय समस्या हो कि । जे भएपनि म समाधान गर्छु भनेर मैले भनें । त्यसपछि मैले चिलिमेलाई कन्भिन्स गर्न सफल भएँ । चिलिमे आउनासाथ  ठुलो भोल्युम फेरि बढ्न गयो । विहीबारसम्मको रेकर्ड हेर्नुहुन्छ भने ९९.९२ प्रतिशत डिम्याट भइसकेको छ ।
 
यति परिमाणमा डिम्याट भइसकेको भन्नु भएको छ, तर अझै पनि लगानीकर्ता सचेत त भइसकेका छैनन् नि ?
अहिले पहिलेको जस्तो अवस्था अलि छैन । लगानीकर्ताहरु पनि सचेत भइसकेका छन् । हामीले भर्खर पोखरामा पनि लगानीकर्ता सचेतना कार्यक्रम गर्‍यौं । मेरो लक्ष्य पाँचै विकास क्षेत्रमा यस्ता कार्यक्रम गरौं भन्ने थियो । तर पेट्रोलको अलिकति समस्या देखियो । यस्ता कार्यक्रम गर्न पनि त पूर्वाधार तयार हुनुपर्‍यो । डिपी तयार हुनुपर्‍यो, ब्रोकर तयार हुनुपर्‍यो । कहिँ डिपी छ ब्रोकर छैन । त्यसैले हामीले पाँचै वटा डिपीहरु एनआइबिएल, ग्लोबल, एनएमबी, एनआइसी र सिद्धार्थ जसले राम्रो गरिरहेका छन्, यिनीहरुसँग मिलेर काम अगाडि बढायौं । एनआइबिएलसँग १६ हजार ग्राहक छन्, यस्तै ग्लोबल र सिद्धार्थसँग पनि १४/१५ हजार ग्राहक छन्, यिनीहरुलाई लिएर काम गर्दा राम्रै होला भन्ने पनि लाग्यो । यिनीहरुले लगानीकर्ताको ५० प्रतिशत कभर गर्छन् । हामीले उनीहरु सबैलाई सँगै लैजाउँ भन्ने थियो । तर हामीले एनआइबिएलबाट सुरुवात गर्‍यौं ।
 
डिपीहरुलाई सबैभन्दा ठुलो समस्या सिग्नेचर भेरिफिकेसनमा रह्यो । उनीहरुले सफ्टवेयर अर्कै चलाउँछन् । त्यसपछि हामीले सिग्नेचर भेरिफिकेसन हाम्रै सिस्टममा इन्ट्री गरिदियौं । त्यसो भएपछि उनीहरुले एउटा स्क्रिनमा हाम्रो हेर्छन्, एउटामा उनीहरुको हेर्छन् । त्यसो भएपछि सिग्नेचर त म्याच भयो । सर्टिफिकेट यहाँ पठाउनु पर्ने, यताउता गर्नु पर्ने त भएन ।
 
यसको मतलब तपाईंको सफ्टवेयर पोखरामा रहेको एनआइबिएलमा हेर्न सकिन्छ र एनआइबिएलमा कसैले खाता खोलेको छ भने पोखराबाटै काम हुने भयो ?
हो । अब के भयो भने उसले अरु कम्पनीको नगरेपनि आफ्नो कम्पनीको आरटिए जो जो छन्, उनीहरुको त काम गर्नु पर्‍यो नि । एनआइबिएलको सेयर होल्डर ६७ हजार छन् । कम्तिमा उनीहरुको त काम हुन्छ । यसमा कन्फिडेन्स बढउने कुरा नै मुख्य थियो । त्यसमा म आफैं गएर उनीहरुलाई तालिम दिएँ । काम अगाडि बढाएँ ।
 

त्यसो हो भने अब काठमाडौंभन्दा बाहिर पनि केही सुविधा बढेको हो ? किनभने, त्यसका लागि त सेवा दिन डिपी तयार हुनुपर्‍यो, डिपीको पूर्वाधार पनि हुनुपर्‍यो नि ?
अलिकति मात्रै होइन । जे सुविधा काठमाडौंमा हुन्छ त्यही सुविधा अब बाहिर पनि हुन्छ । हामी अहिले ४४ वटा जिल्लाबाट सुविधा दिन सक्छौं । ती जिल्लाका ६७ ठाउँमा डिपीको सेवा पुगेको छ । कारोबार पनि त गर्न पाउने नै भयो ।
 
तपाईंले विश्वस्त भएर भनिरहनु भएको छ । तर हामीले देखेका छौं, सिडिएससीकै दुईपटक उदघाटन गर्ने, वाणिज्य बैंकहरु बल्ल डिम्याटमा जाने भयो । किन त्यस्तो भएछ ?
पहिलेको कुरामा मलाई खासै कमेन्ट गर्न मन छैन, किन भएन ?, के कारणले भएन भनेर । जे भयो भयो हामी अगाडि बढ्ने मान्छे हौं । केही गर्न सकिन्छ भनेरै आएको हुँ । नत्र त्यत्रो राम्रो तलब छोडेर सरकारी जागिरमा किन आउँथे ? सरकारी क्षेत्रमै केही योगदान गर्न मन लागेर आएको । मलाई यो क्षेत्रमा पनि किन काम गर्न मन थियो भने मेरो ब्याकग्राउण्ड कम्प्युटर साइन्स इन्जिनिएरिङ हो । त्यसपछि एमबिए फाइनान्स मेजर लिएर गरें । एमफिल क्यापिटल मार्केटमा गरें । पिएचडी पनि यसमै गर्दैछु । अब यति धेरै गरिसकें भने यसमै केही योगदान गरौं भनेर इन्ट्रेष्ट लिएर आएको हो, जागिर खान आएको होइन । मैले त सामान्य लगानीकर्तालाई कस्तो खालको समस्या हुन्छ, त्यो त समाधान गरिदिनु पर्‍यो नि । दिनदिनै समस्या छ होला । मानि लिउँ मेरै आफन्तलाई केही समस्या पो छ कि, यो पनि त बुझिदिनु पर्‍यो नि मैले त ।
 
त्यसैले पहिलेकोमा प्राविधिक कुरा पनि भएकाले पनि सरोकारवालाबीच कन्फिडेन्स लेभल थिएन । मलाई चाँही भन्नुहुन्छ भने ज्ञान पनि भएकाले काम गर्न सजिलो भएको छ । कम्प्युटरको पनि राम्रो ज्ञान र क्यापिटल मार्केटबारे पनि राम्रो ज्ञान भएकाले मलाई काम गर्न सजिलो भएको छ ।
 
एउटा प्रमाणपत्र डिम्याट गरिदेउ भनेको पाँच महिनासम्म काम नभएको रेकर्ड छ । सजिलो बनाउने कसरी भन्दा पनि हामी नयाँ कुरामा जान खोज्दा टारिरहेका हुन्छौं । समस्या त अझै छ नि ?
हामीसँग जति काम थियो, त्यो अहिले घटिरहेको छ भने डिम्याटर सेयरको संख्या बढिरहेको छ । म आउँदा प्रति मिनेट एकसय ३० कित्ता सेयर डिम्याट हुन्थ्यो । म आएको दिन १७ करोड कित्ता सेयर डिम्याट हुन बाँकी थियो । आजका मितिमा चार करोड कित्ता सेयर बाँकी छ । आजको रिपोर्ट आउँदा त्यो चार करोड भन्दा तल नै हुन्छ । १३ करोड कित्ता सेयर मैले ७० दिनमा डिम्याट गर्न लगाएको छु । मेरो स्पिड भन्नुहुन्छ भने प्रति मिनेट ३७ सय कित्तासम्म पुगेको छ । हामी दैनक हाम्रो कामको गति बढाइरहेका छौं ।
 
जुन समस्या डिपी, आरटिए वा लगानीकर्तामै पनि थियो त्यसलाई हटाउन मैले काम गरें । लगानीकर्ताकै कुरा गर्ने हो भने उहाँहरुले सेयर भर्दा एउटा हस्ताक्षर गर्नु भएको थियो, अहिले अर्को गर्नु भएको होला । त्यस्तोलाई जसले सेयर जम्मा गर्नुभएको छ, त्यसले नै लगानीकर्तालाई फोन गरेर बोलाउने र समस्या समाधान गर्ने । जसरी हुन्छ पेन्डिङबाट हटाउने । लगानीकर्ताले गल्ती पनि थाहा पाउँछन् । उसले पनि बुझ्नु पर्‍यो । मैले दिनदिनै त्यसको मोनिटरिङ गर्छु । म दिनदिनै त्यसको ग्राफ निकालेर हेर्छू । कुन डिपीले कति काम गरेको र उसको कति सेयर किन पेन्डिङमा बस्यो भन्ने पनि म थाहा पाउँछु । सिग्नेचर भेरिफाइ नभएको होकि, आरटिएले इन्ट्री नगरेको हो कि, डिपीले नगरेको हो कि, त्यो सबै कुरा थाहा पाउँछु । पेन्डिङ हुनुमा केही कमजोरी लगानीकर्ताको पनि छ । मुख्य दोष आरटिएको पनि देखिन्छ । त्यो कन्फिडेन्स बढाउन नै म सफल भएँ ।
 

सिस्टममा समस्या छ भने मैले राति १२ बजेसम्म पनि फोन गर्नुस भनेको छु । यहाँ पहिला त्यस्तो चलन थिएन । मोवाइल फोन लुकाउने चलन थियो । मैले त्यो कुरा हटाएको छु । नयाँ सिस्टम भएकाले समस्या आइरहन्छ । मैले डिपार्टमेन्ट छुट्याइदेको छु । कसले के काम गर्ने हो सबैलाई छुट्याइदिएको पनि छु । मेरो स्टाफलाई तपाईंले विहान ८ बजेदेखि राति ८ बजेसम्म कल गर्नुस भनेको छु । त्यो हिसाबले नै काम गरिरहेका छौं ।
 
अब हामी यो भन्न सक्छौं कि माघ १ गतेदेखि सबै कम्पनीको सेयर डिम्याट मात्रै हुन्छ ?
कम्पनी ६ वटा डिम्याट सम्झौता गर्न बाँकी रहलान् । तर उनीहरुको एकसय ८० दिनको कारोबारको ग्राफ हेर्नुहुन्छ भने कारोबार नै भएको छैन । ती कम्पनीहरु आफैंमा पनि कन्फ्युजमा छन् । मर्जरमा जाने हो कि, कसैले एक्वाएर गर्ने हो कि भन्नेमा पनि छन् । डिम्याटमा आउन इलिजिबल कम्‍पनी भनेको एकसय ९२ हो । कतिपय कारबाहीमा छन्, कोही खारेजीमा गएका छन् । कुनै कालोसूचीमा छन्, कुनै मर्जरमा छन् । नेप्सेको साइटमा २३२ वटा कम्पनी देखिएपनि एकसय ९२ वटा मात्रै हो डिम्याटमा आउने खालका कम्पनी छन् । हाम्रो विनियमावली अलि कडा नै छ । एकसय ९२ मध्ये विहीबारसम्म पूर्ण रुपमा १३८ वटाको डिम्याट कारोबार भइसकेको छ । हाम्रो स्पिड बढेको छ ।
 
सामान्य लगानीकर्ता जसले धेरै ठूलो ज्ञान राख्दैनन्, उनीहरुलाई एउटा कम्पनीका लागि एउटा खाता खोल्नु पर्छ भन्ने सोच्दछन् । एउटा खाता खोलेपछि सबै सेयर त्यसैमा कारोबार हुन्छ भन्नेमा उनीहरु कन्फ्युज छन् । त्यो दायित्व तपाईंहरुको पनि हो नि उनीहरुलाई चेतना दिने कुरामा त ?
हामीले यो डिम्याट सकिएपछि लगानीकर्तालाई सचेतना गराउने विषयमा कार्यक्रम गर्दैछौं । हामीले बुकलेटहरु पनि छापेका छौं । यसलाई हामी ब्यापक बनाउछौं ।
 
उदाहरणका लागि हेर्ने हो भने, कृषि विकास बैंकका आइपिओ भरेकाहरुले पनि अझै सेयर लगेका छैनन् । त्यसले त सिस्टममा पनि असर त गर्ला नि ? पेन्डिङ त बाँकी नै रहन्छ नि !
अहिले हामी ४४ जिल्लामा पुगेका छौं । अहिले प्रतिदिन दुई हजारवटा डिम्याट खाता खुलिरहेका छन् । हामी यसलाई ब्यापक बनाउँदै अगाडि बढाउछौं ।
 
अझ अहिले कस्तोसम्म देखिएको छ भने डिम्याट भइसकेका कम्पनीले बोनस सेयर दिँदा डिम्याटमा दिनुपर्ने, तर उनीहरु पनि सेयर लिन आउ भनिरहेका छन् । यस्तो किन हुन्छ ?
सिद्धार्थ, एभरेष्टमा अलि त्यस्तो छ । ती बैंकका पुराना पुराना सेयर होल्डर छन् । उनीहरुले पाँच वर्षदेखिको लाभांश पनि लगेका छैनन् । उनीहरुको लाभांश लगानीकर्ता संरक्षण कोषमा थन्किएको छ । कम्पनी रजिष्टार कार्यालयले त्यो सूचना निकाल्नै पर्ने व्यवस्था गरेको छ । खातामा जम्मा भएको छ भन्न पाइदैन, तपाईंको लाभांश लिन आउनुस भन्नै पर्छ । त्यसकारण केही समस्‍या भएको हो । हामीले छलफल हुँदा पनि भनेका छौं, जसको खाता छ उनीहरुलाई खातामा हालिदिनु र बाँकीलाई मात्रै त्यसरी बोलाउनु भनेको हो । पुराना लगानीकर्ता धेरै भएका कम्पनीहरु सबैको कुरा त्यही हो ।
 
लगानीकर्तालाई पनि के कुरा थाहा छ भने जसले डिम्याट खाता खोलेको छ, उसले सेयर लिन गइरहनु पर्दैन । कम्पनीलाई पनि त्यती थाहा छ र हामीलाई पनि थाहा छ । उहाँहरुले एउटा फाइल सेटअप गर्नु भयो भने काम भइहाल्छ ।
 
भनेपछि यो सूचना प्रक्रिया पुरा गर्न मात्रै निकालिएको हो ?
प्रक्रयाका लागि पनि र जोसँग डिम्याट खाता छैन उसका लागि निकालिएको हो । अब त लगानीकर्ताहरुले पनि डिम्याट खाता छैन भनेर सुख पाउने अवस्था छैन ।
 
अझै पनि यस्तो प्राविधिक कुरा लगानीकर्तालाई त सिकाइएको छैन नि ?
गत चार वर्षमा ७० वटा यस्ता कार्यक्रम भएका छन् । तर ती कार्यक्रमले पनि पुगेको छैन । मैले सबैभन्दा बलियो मेकानिजम के देखेको छु भने जहाँ जहाँ डिपी, ब्रोकर छन्, उनीहरुलाई पनि मैले सिकाएको छु । तपाईंहरुले लगानीकर्तालाई यो कुरा भन्नुस है भनेर पाँचवटा बुँदा दिएको छु । ब्रोकरले के गर्दो रहेछ भनेर म पनि गएँ । उनीहरुले पनि त्यसैगरी सिकाएको रहेछ । त्यो खुशीको कुरा हो । त्यसपछि मैले फेरि पनि ब्रोकरहरुसँग कुरा गरें । एउटा मान्छेको दुई/तीनवटा खाता हुने उसले कहाँ गएर काम गर्ने जस्तो अवस्था देखियो । मैले फेरि उहाँहरुलाई भनें तपाईंहरुले एउटा खाता मेन्टेन गर्नुस ।
 
त्यसपछि म डिपीकोमा पनि गएँ । एउटा लगानीकर्ताले २२ वटासम्म खाता बोकेको भेटें । मैले उहाँलाई पनि सम्झाएँ र डिपीलाई पनि भनेको छु लगानीकर्तालाई सरल हुनेगरी काम गर्नुस । अर्को महत्वपूर्ण भनेको मिडिया हो । अचेल सबैले फेसबुकबाट पनि धेरै हेरिरहेका छन् । सञ्चारमाध्यमसँग सहकार्य गरेर हामी अगाडि बढ्छौं ।
 
डिम्याट खाता खोल्ने बेलामा नै लगानीकर्तालाई धेरै कुरा बुझाउनु पर्छ । मैले यसै सन्दर्भमा सबैसँग छलफल पनि गर्दैछु । तपाईंहरु जस्तो मिडियाले पनि साथ दिनुपर्छ । हामी सबैलाई एउटै ठाउँमा राखेर काम गछौं । जनचेतनाको कुरा नै त्यहाँ प्रमुख रहन्छ ।
 
कोही मान्छे अझै पनि काठमाडौं आएर सेयर किनेर गाउँमा बसेका छन् । हाम्रासामू त्यसका उदाहरण पनि छन् । यस्तो सेयरमा अझै समस्या छ । ती कसरी समाधान हुन्छ ?
मैले यही कुरा बुझेर नै काठमाडौं बाहिरबाट कारोबार गराएको छु । अहिलेसम्म सेयरको कारोबार गर्ने भनेको पोखरा थियो । अरु त थिएन नि । अहिले त अन्य स्थानबाट पनि हामीलाई टर्मिनल चाहियो भनेका छन् । ४४ जिल्लामा पुगिसकेका छौं । बाँकी ३१ जिल्लामा पनि जुलाईभित्रमा पुग्छौं र गाउँका लगानीकर्तालाई भन्छौं कि यसरी यसरी लगानी गर्ने हो भनेरल। हामी सबै कुरा सिकाउने छौं । एकै पटकमा सबैकुरा कायापलट पक्कै हुँदैन । तर हामी गर्छौं नै । हामी लगानीकर्तालाई सेयरमा लगानी गर्न आमन्त्रण गर्छौं । रेमिट्यान्सबाट आएको रकम जुन छ नि त्यसलाई पनि पुँजी बजारमा आकर्षित गर्छौं । त्यो सँगै अहिलेका समस्या समाधान हुन्छ ।
 
तर पनि पुँजी बजार त काठमाडौंको पनि रिङरोडभित्रै छ भन्छन् नि ?
त्यसलाई हामी पक्कै पनि चिर्नेछौं । अहिले तराईको अवस्था ठिक छैन । हामी वीरगञ्ज र विराटनगर जाने योजना छौं । तैपनि अबको दुई हप्तामा हामी नारायणगढ, बुटवल र धनगढीमा गएर कार्यक्रम गर्नेछौं । हामीले पोखरामा अनलाइन ट्रेडिङ गरेर पनि देखाएका छौं । किनभने लगानीकर्तालाई विश्वास त दिलाउनु पर्‍यो नि । अब हामी लगानीकर्तालाई सेयर कारोबार गर्न काठमाडौं नै गइराख्नु पर्दैन भन्ने कुरा सिकाउछौं ।
 
यसो हो भने अब बाहिरबाट कारोबार गर्न कुनै समस्या छैन ?
अहिलेलाई नै बाहिरबाट कारोबार गर्न कुनै समस्या छैन भन्न म सक्दिन । चालु आर्थिक वर्षभित्रमा कारोबार सजिलो हुन्छ भन्ने ग्यारेन्टी म दिन्छु । आजको भोलि नै भन्न त सक्दिन । तर जुलाई भित्रमा काठमाडौं बाहिरबाट पनि कारोबार हुन्छ ।