काठमाडौं। नेपाली राइड सेयरिङ बजारमा नयाँ कम्पनी थपिएको छ। विभिन्न सुविधासहित ‘एटेन्ड’ नामक एपले डिसेम्बर १ बाट आफ्नो सेवा सुरु गरेको छ। काठमाडौं उपत्यकामा मात्रै सीमित रहँदै आएका राइड सेयरिङ सेवा मोफसलमा समेत विस्तार गर्ने लक्ष्यसहित एटेन्ड सुरु गरिएको कम्पनीले जनाएको छ।
राइड सेयरिङमा निकै चर्को साथ उठेको बीमाको विषयलाई एटेन्डले भने सुरुआतमै कार्यान्वयन गरेको छ। एटेन्डबाट राइड सेयरिङ सेवा लिने हरेक यात्रु र चालकको बीमा गरिने जनाइएको छ। कुनै दुर्घटना भएमा घाइतेलाई तीन लाख र मृत्यु भएमा पाँच लाख रुपैयाँसम्मको बीमा गरिने कम्पनीका निर्देशक भीमकान्त भण्डारीले बताए।
राइड सेयरिङमा मात्रै सीमित नभएर एटेन्डमा एम्बुलेन्स, शववाहन, टुर प्याकेजका साथै होम हेल्थ सेवा समावेश गरिएको उनले जानकारी दिए। 'प्रयोगकर्ताहरुले एटेन्ड एपबाट आवश्यक परेको समयमा एम्बुलेन्स, शववाहन, स्वास्थ्य सेवा लिन सक्छन्। उक्त सेवाका लागि कम्पनीले चौबिसै घण्टा कल सेन्टर सञ्चालन गरिरहेको छ,' भण्डारीले बिजमाण्डूसँग भने।
यसबाहेक एपबाटै घुमफिर वा एयर एम्बुलेन्स सेवाका लागि हेलिकप्टरसमेत बुक गर्न सकिने पनि जनाइएको छ ।
एम्बुलेन्स र शववाहनबाहेक अन्य सवारी साधनका राइडरबाट एटेन्डले १० प्रतिशत मात्रै कमिसन लिने भण्डारीले जानकारी दिए। सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले हरेक एम्बुलेन्स र शववाहनमा जीपीएस जडान गर्ने जनाएको छ। काठमाडौं उपत्यकाभित्र एम्बुलेन्स वा शववाहनका लागि उपभोक्ताहरुले न्यूनतम एक हजार रुपैयाँ र प्रति किलोमिटर ३५ रुपैयाँ तिर्नुपर्ने भण्डारीले बताए। कम्पनीमा ६० जनाभन्दा बढीले रोजगारी पाइरहेको बताइएको छ।
एटेन्डमार्फत् प्रयोगकर्ताहरुले स्वास्थ्य सेवा समेत पाउन सक्ने छन्। आवश्यक परेका औषधि, डाक्टर/नर्स, अक्सिजन सिलिन्डर एटेन्डमार्फत् घरमै मगाउन सक्नेगरी एपलाई इ-कमर्स प्लाटफर्मका रूपमा विकास गर्दै लैजाने योजना रहेको भण्डारीले जानकारी दिए।
यस्तै, कम्पनीले प्याकेज सुविधाको अवधारणालाई समेत अघि सारेको जनाएको छ। जसमा अग्रिम बुकिङ सेवाका साथै चालकसहित वा चालक बिनाको गाडी लैजानेदेखि इन्धनसहित वा आफैंले इन्धन भर्न पाउने विकल्प रहेको जनाएको छ। सेवा लिन चाहने उपभोक्ताहरुले एक वर्षको समयावधिसम्म अग्रिम बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।
सेवा उपयोग गरेपछि प्रयोगकर्ताहरुले नगदबाहेक जुनसुकै बैंकको एटिएमबाट पैसा तिर्न सक्ने जनाएको छ। यस्तै, यात्रुको सुरक्षालाई ध्यान दिँदै कम्पनीले एपमा 'इमर्जेन्सी बटम' राखेको छ। यात्रुले असुरक्षित महसुस गरेमा तुरुन्तै उक्त बटम थिचेर जानकारी गराउन सक्ने भण्डारीले बताए। एप लन्च भएकै दिन करिब नौ हजार प्रयोगकर्ता र दुई सय हाराहारी सवारीसाधन एटेन्डमा जोडिएको कम्पनीले जनाएको छ। एटेन्डको मोबाइल एप आइओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ।


