कोभिडबाट उद्योगी र श्रमिकको सम्बन्ध बिग्रियो, पुरानै अवस्थामा फर्काउन सरोकारवालाको चिन्ता



२०७७ मंसिर २२ गते १५:३० | Dec 7, 2020


कोभिडबाट उद्योगी र श्रमिकको सम्बन्ध बिग्रियो, पुरानै अवस्थामा फर्काउन सरोकारवालाको चिन्ता


Tata
Global Ime

काठमाडौं। कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई माथि उठाउन उद्योग र श्रमिकहरुबीच समन्वयको आवश्यकता रहेको सरोकारवालाले बताएका छन्।

कोभिड-१९ का कारण रोजगारी र औद्योगिक क्षेत्रको सम्बन्धमा परेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले श्रमिक र रोजगारदाताबीच समन्वय गरेर अगाडि बढ्नुको विकल्प बताएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघका एशोसिएट उपाध्यक्ष रामचन्द्र संघईले रोजगारी गुमाएकालाई पुन: रोजगारीमा फर्काउन चुनौती भएको बताए।

पर्यटन, रेष्टुरेन्ट, साना तथा मझौला उद्योगलाई पुरानै अवस्थामा फर्काउन अझै २/३ वर्ष लाग्ने उनले बताए। ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष महेन्द्र यादवले श्रमिक र उद्योगबीचमा कोभिडका कारण समस्या आएको बताउँदै पुरानै अवस्थामा ल्याउन समन्वय आवश्यक रहेको बताए।

कोभिडका कारण उद्योगी र श्रमिक दुवैलाई समस्या परेको बताउँदै यो समस्या समाधान गर्नुको विकल्प नरहेको उनले बताए। अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष धनबहादुर बिकले देशको लागि उद्योग कलकारखाना चाहिएको हो भने श्रमिकको समस्या पहिला समाधान हुनुपर्ने बताए।

कोरोनाका कारण उद्योग व्यवसाय पुरानै लयमा सूचारु हुन नसक्दा करिब १५ लाख रोजगारी गुमेको अनुमान गरिएको छ। यस्तै वैदेशिक रोजगारीबाट डेढ लाख बढी युवाहरु स्वदेश फर्किएका छन्।