भारतीय आइटी कम्पनी विप्रोले जुनियर कर्मचारीको तलब बढाउँदै, जनवरीबाट लागु हुने



२०७७ मंसिर २४ गते १३:०८ | Dec 9, 2020


भारतीय आइटी कम्पनी विप्रोले जुनियर कर्मचारीको तलब बढाउँदै, जनवरीबाट लागु हुने


Tata
Global Ime

काठमाडौं। भारतको प्रख्यात आइटी कम्पनी विप्रोले आगामी जनवरी २०२१ बाट जुनियर कर्मचारीहरुको तलब बढाउने निर्णय गरेको छ।

बेंग्लोरमा रहेको यो कम्पनीले राम्रो काम गर्ने बी-३ तहका कर्मचारीहरुको बढुवासमेत गर्ने जनाएको छ। कोरोना महामारीका कारण कम्पनीहरुले तलबदेखि कर्मचारी कटौती गरिरहेका बेला विप्रोले भने तलब वृद्धि र बढुवा प्रक्रिया अघि बढाएको छ। कम्पनीले कामको प्रकृति र जिम्मेवारी अनुसार आफ्ना कर्मचारीलाई पाँच श्रेणीमा राखेको छ। विप्रोमा एक लाख ८५ हजार जना कर्मचारी छन्, जसमध्ये बी-३ तहका सबैभन्दा बढी छन्। 

इमेलमार्फत् कर्मचारीहरुलाई सम्बोधन गर्दै विप्रो व्यवस्थापनले भनेको छ- 'कर्मचारीहरुले कोरोना संकटको यस कठिन समयमा पनि कम्पनीको बिजनेसलाई बढाइ सेवाको गुणस्तर कायम गरेकोमा बी-३ का साथै त्यसभन्दा तल्लो तहका सबै कर्मचारीहरुको तलब वृद्धि गर्ने प्रक्रिया सुरु गरेका छौं।'

कम्पनीका अनुसार सी-१ र त्यसभन्दा माथिल्ला तहका कर्मचारीहरुको तलब २०२१ जुनपछि वृद्धि गर्ने जनाएको छ। तर, विप्रोले आफ्ना कर्मचारीको तलब कति बढ्छ भनेर खुलाएको छैन। काममा राम्रो प्रदर्शन गरेका बी-३ तहका कर्मचारीहरुलाई कम्पनीले डिसेम्बरबाटै बढुवा गरिसकेको छ। कम्पनीले करिब सात हजार कर्मचारीको बढुवा गरेको जनाएको छ।

अरु आइटी कम्पनी जस्तै विप्रोले पनि चालु आर्थिक वर्षको सुरुवातमै तलब वृद्धि र बढुवा प्रक्रिया रोकेको थियो। कोरोना महामारी सुरु भएसँगै विप्रोले अप्रेजलको साइकिलमा रोक लगाउँदै पछि लागू गर्ने जनाएको थियो। सामान्यतया कम्पनीको तलब वृद्धि जुनमै हुने गरेकोमा एक वर्ष ढिला भएको जनाएको छ।