
काठमाडौं। परफर्मेन्स खस्किएपछि युनिलिभर नेपालले प्रबन्ध निर्देशकको तलब सुविधामा भारी कटौती गरेको छ। कम्पनीले एक वर्षमा प्रबन्ध निर्देशकको तलब सुविधा एक करोड ७३ लाख रुपैयाँले घटाइदिएको हो।
पछिल्ला केही वर्षदेखि कम्पनीको पर्फर्मेन्स खस्किएर नाफामा गिरावट आएको छ भने लाभांश दर पनि घटिरहेको छ। कम्पनीको वित्तीय अवस्था खस्किन थाले पनि कर्मचारीको तलब सुविधा भने बढेको छ। अघिल्लो वर्ष कर्मचारीहरुले १७ करोड ९९ लाख ३६ हजार तलब सुविधा दिएको कम्पनीले गत वर्ष १८ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ। कम्पनीले २२७ कर्मचारीका लागि यो रकम भुक्तानी गरेको हो।
कम्पनीको वित्तीय अवस्था कमजोर बने पनि यसको सेयर मूल्य बढिरहेको थियो। तर, लाभांश प्रस्ताव एकदमै कम भएपछि मूल्य घट्न थालेको थियो। पछिल्लो तीन महिनामा कम्पनीको सेयर मूल्य १७४२० रुपैयाँबाट बढेर २०७०० रुपैयाँसम्म पुगेको थियो। अहिले भने मूल्य २० हजार रुपैयाँभन्दा कम छ।
कम्पनीले प्रबन्ध निर्देशक र तलका ब्यवस्थापक, अधिकृत र कर्मचारीका लागि निजी सवारीका साथै बीमा सुविधाको पनि ब्यवस्था गरेको छ। यसपाली सञ्चालकहरुले कुल २ लाख १६ हजार रुपैयाँ बैठक भत्ता बुझेका छन्।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोज मसान्तसम्मको) वित्तीय विवरण अनुसार युनिलिभरको नाफा ५१ प्रतिशतभन्दा बढीले झरेको छ। कम्पनीले तीन महिनामा १२ करोड एक लाख रुपैयाँ नाफा गरेको छ। जबकी अघिल्लो वर्षको असोजमा नाफा २४ करोड ६३ लाख रुपैयाँ थियो। त्यसअघिको वर्ष (पहिलो त्रैमासिक) मा ३३ करोड ४५ लाख रुपैयाँ नाफा थियो।
लाभांस
गत आर्थिक वर्ष कम्पनीको नाफा ३५ करोड ५४ लाख रुपैयाँमा खस्किएको छ। पछिल्लो तीन वर्षदेखि नै कम्पनीको पर्फर्मेन्स खस्किन थालेको उसको वित्तीय विवरणबाट देखिन्छ। यसपाली भने कम्पनीले कोभिडलाई दोष दिएको छ। तर, त्यस अघिबाटै कम्पनीको वित्तीय अवस्था खस्किन थालेको थियो।
पर्फर्मेन्स खस्किएपछि पछिल्लो समय कम्पनीले सेयरधनीलाई दिने लाभांशमा पनि उच्च गिरावट देखिन थालेको छ। चार वर्षअघि प्रति सेयर (अंकित मूल्य सय रुपैयाँमा) १२७० रुपैयाँका दरले लाभांश दिएको युनिलिभरले त्यसपछिको वर्ष ७०० र ७७० हुँदै गत वर्षको नाफाबाट जम्मा १०० रुपैयाँ मात्र वितरण गरेको छ।
खुद नाफाको ग्राफ
कम्पनीको कुल सेयरमध्ये ८० प्रतिशत हिन्दुस्तान युनिलिभरसँग छ। अर्को पाँच प्रतिशत सेयर सिवक्रिम होल्डिङ लिमिटेडसँग छ। बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणसँग छ।
९ करोड २० लाख रुपैयाँको चुक्ता पुँजी अर्थात ९ लाख २० हजार कित्ता सेयर। यसमध्ये एक लाख ३८ हजार १०५ कित्ता सेयर सर्वसाधारणसँग छ। सर्वसाधारणमा गएको सेयर पनि बीमा कम्पनी र सामूहिक लगानी कोष कम्पनीहरुले उठाएका छन्। कम्पनीको सेयर लाइफ इन्स्योरेन्स नेपाल, नेशनल लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ र एनएमबि ५० सँग छ।