ठूला होटलले कर्मचारीलाई धमाधम अवकाश दिँदै, पर्यटन क्षेत्र बाउन्सब्याक हुन धेरै समय लाग्ने



२०७७ पुष ६ गते १३:५० | Dec 21, 2020


ठूला होटलले कर्मचारीलाई धमाधम अवकाश दिँदै, पर्यटन क्षेत्र बाउन्सब्याक हुन धेरै समय लाग्ने


Tata
Global Ime

काठमाडौं। कोभिड-१९को महामारीका कारण सबैभन्दा बढी प्रभावित ठूला होटल अझै पनि संचालनमा आएका छैनन्। कतिपय होटल पाँच वर्षसम्म पूर्ण रुपमा संचालनमा आउन नसक्ने भन्दै धमाधम कर्मचारीलाई सुविधासहित अवकाश दिन थालिरहेका छन्।

काठमाडौंका पाँच तारे होटल केही आशिंक रूपमा मात्रै संचालनमा छन्। काठमाडौंका अन्नपूर्ण र हायात पूर्ण रूपमा बन्द छन् भने अरु होटल आशिंक रूपमा मात्रै संचालनमा छन्। होटल बन्द भएपछि व्यवसायी र श्रमिकबीच पारिश्रमिकका बारेमा फेरि लफडा सुरु भएको छ।

यो लफडा अन्त्य गर्न होटल संघ नेपाल (हान) र आधिकारिक कर्मचारी ट्रेड युनियनका पदाधिकारीबीच दुई चरणको छलफल भइसकेको छ। होटल संघका महासचिव साजन शाक्य पर्यटक नआएकाले २०२१सम्म आधारभूत तलब समेत दिन नसक्ने बताउँछन्।

'हामीले दुई चरणको छलफल गरिसकेका छौं। प्राय: होटलले अब सन् २०२१ देखि आधारभूत तलब दिन नसक्ने बताउनुभएको छ। अबको एक वर्ष विदेशी पर्यटक आउने सम्भावना पनि न्यून छ। अब कर्मचारी पारिश्रमिक व्यवस्थापन नै हाम्रो लागि ठूलो चुनौती हो। होटल खुला भए पनि आम्दानी छैन,' उनले बिजमाण्डूसँग भने।

डिसेम्बर महिनाभित्रै संघ र आधिकारिक कर्मचारी युनियनसँगको समन्वयमा पारिश्रमिक व्यवस्थापनको टुंगो लाग्ने उनले जानकारी दिए। घरै बसिरहेका श्रमिकलाई आधारभूत तलब र सबै कर्मचारीलाई महिनैपिच्छे आलोपालो काममा लगाउन आवश्यक रहेको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर संघका अध्यक्ष माधव पाण्डेले बताए।

'यो अवस्थामा आलोपालो जनशक्ति परिचालन गर्न आवश्यक छ। एक महिनाको अन्तरालमा सबै जनशक्तिलाई आलोपालो काममा परिचालन गर्न सुझाव दिएका छौं। घरै बसेका जनशक्तिलाई दैनिक खर्चका लागि केही रकम दिनुपर्छ भन्ने हाम्रो माग हो,' उनले भने।

पाँच महिना संघ र युनियनबीच भएको बैठकले आधारभूत तलब मात्रै दिइने निर्णय गरेको थियो। त्यतिखेरको सम्झौता अनुसार चैतदेखि पुससम्म आधारभूत तलब दिएका थिए। यो सहमति अनुसार पाँच तारे होटलका कर्मचारीले १० हजार रुपैयाँ पाउँदै आएका थिए। लामो समयको रस्साकस्सीपछि संघ र क्रियाशील तीन ट्रेड युनियनहरूबीच सहमति जुटेको थियो।

सहमति अनुसार एकतारे र पर्यटकीय स्तर होटलमा कार्यरत कर्मचारीलाई आपसी समझदारीमा मासिक पारिश्रामिक दिइएको थियो। यसैगरी दुई तारे, तीन तारे, चार तारे र डिलक्स पाँच तारे होटलमा कार्यरत कर्मचारीलाई क्रमशःचार हजार तीन सय रुपैयाँ, पाँच हजार रुपैयाँ, आठ हजार रुपैयाँ देखि आठ हजार र १० हजार रुपैयाँ आधारभुत पारिश्रामिक दिइने सहमति भएको थियो।

सहमति अनुसार स्वेच्छिक अवकाश, उमेरका आधारमा अवकाश पाउने कर्मचारीले लकडाउन अगाडि खाइपाइको सुविधा लिन सक्ने प्रावधान रहेको थियो। होटल संघसँग आबद्ध होटलमा यतिखेर ३५ हजार जनशक्ति छन् भने मुलुकभरका होटलमा करिब नौ लाख जनशक्तिले रोजगारी पाएका छन्।