नेपाल इन्फ्रास्टक्चर बैंकले सुरु गर्‍यो प्रमुख कार्यकारीको खोजी, तलब सुविधा सवा करोड हाराहारी



२०७७ पुष १४ गते ०९:५६ | Dec 29, 2020


Tata
Global Ime

काठमाडौं। अनिल ज्ञवाली कार्यकाल पूरा गरेर बाहिरिएपछि मुलुकको पहिलो पूर्वाधार बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ।

बैंकले जनवरी ८ सम्म आवश्यक न्यूनतम योग्यता पूरा हुनेहरुलाई प्रमुख कार्यकारीका लागि आवेदन दिन आह्वान गरेको हो। ज्ञवाली अघिल्लो साता दुई वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए। अहिले कामु प्रमुख कार्यकारीको जिम्मेवारीमा भुपेन्द्र पाण्डे छन्।

प्रमुख कार्यकारीमा आवेदन दिन इच्छुकले ६० वर्ष उमेर ननाघेको, ब्यवस्थापन/ बैंकिङ/ अर्थशास्त्र/ तथ्यांक/ वाणिज्य/ लेखालगायतका विषयमा स्नातकोत्तर उत्तीर्ण हुनु पर्छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कम्तिमा १० वर्ष माथिल्लो तहमा बसेर काम गरेको अनुभव हुनु पर्नेछ। खासगरी वित्तीय सेवा, पुँजी बजार, परियोजना फाइनान्सिङ, पूर्वाधार विकास तथा प्रवर्द्धन, नीति तथा नियमन क्षेत्रमा बसेर काम गरेको हुनु पर्नेछ।

यसअघिका प्रमुख कार्यकारी ज्ञवालीले वार्षिक एक करोड ३२ लाख रुपैयाँ तलब सुविधा बुझेका थिए। नयाँ प्रमुख कार्यकारी अधिकृतको तलब पनि यही हाराहारीमा हुनेछ।

बैंकले २० अर्बको 'निफ्रा डेब्ड फण्ड' स्थापना गर्ने र विदेशी वित्तीय बजारबाट ग्रीन बण्ड जारी गर्ने तयारी गरिरहेको छ। यो बन्ड ५ अर्बको हुने छ। बैंकले आफ्नो अगुवाइ/सह-अगुवाइमा जलविद्युत, सिमेन्ट क्लिंकराइजेसन एवं सौर्य ऊर्जासमेत गरी ५ वटा परियोजनाहरुमा ६ अर्ब कर्जा स्वीकृत गरिसकेको छ।

बैंकले ८ अर्ब रुपैयाँको साधारण सेयर जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ। साधारण सेयर जारीपछि सञ्चालक समितिमा ३ जना नयाँ सदस्य थपिने छन्। यसपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ।