
काठमाडौं। नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले एक वर्षमा एक करोड ४१ लाख रुपैयाँ तलब बुझेका छन्। अघिल्लो वर्ष पनि तलब यति नै थियो।
उनले बुझेको तलबमा नाफाबाट पाउने बोनस, उपदान, सञ्चय कोष तथा औषधि उपचारका साथै वार्षिक तथा बीमा बिदा पाउने आर्थिक सुविधा जोडिएको छैन। त्यसैले ढुंगानाले पाउने वार्षिक आम्दानी अझ बढी हुन्छ। यद्यपि उनले पाउने आम्दानीमा ३६ प्रतिशत आयकर सरकारलाई बुझाउँछन्।
बैंकले प्रबन्धक तहका कर्मचारीलाई तलब ४ करोड ७० लाख ९४ हजार रुपैयाँ दिन्छ। यसबाहेक भत्ता स्वरुप ९ करोड १५ लाख रुपैयाँ दिन्छ। बैंकको कुल कर्मचारी खर्च भने एक अर्ब २ करोड ४४ लाख रुपैयाँ छ। यसबाहेक ५५ करोड ८६ लाख रुपैयाँ कुल कार्यालय सञ्चालन खर्च छ।
बैंकले आगामी पुस २६ गते डाकेको वार्षिक साधारणसभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदन अनुसार, सञ्चालक समिति नयाँ सञ्चालक/अध्यक्षको चयनलाई अनुमोदन गर्ने पनि एजेण्डा छ।
२०७४ मंसिर ३ गते भएको साधारणसभाबाट निर्वाचित भएका जलाल अहमदको स्थानमा उनको बाँकी कार्यकालका लागि आइएफआइसी बैंकका प्रतिनिधि एआरएम नजमुस शकिबलाई सञ्चालक/अध्यक्ष नियुक्त गरेको निर्णयलाई साधारणसभाले अनुमोदन गर्ने छ।
बैंकले गत वर्षको नाफाबाट प्रस्ताव गरेको २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयरको प्रस्तावलाई पनि अनुमोदन गर्ने छ। बैंकले आफ्ना सञ्चालक समिति सदस्यहरु कोभिड-१९ संक्रमणबाट ग्रसित भइ अस्पताल भर्ना हुने अवस्थामा अस्पतालको बिल अनुसार बढीमा २ लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराउने प्रस्ताव पनि अनुमोदन गर्न साधारणसभामा लैजाँदैछ।
बैंकले चालु वर्ष शाखा बिस्तारलाई प्राथमिकतामा राखेको छ भने संस्थागत निक्षेपको मात्रालाई घटाउने भएको छ। ब्रोकर कम्पनी खोल्नुका साथै कोर बैंकिङ सिस्टमलाई परिवर्तन गरी फिनास्ट्रा सफ्टवेयर प्रयोगमा ल्याउने भएको छ।
बैंकले गत वर्ष ४४ करोड ९१ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको यस्तो नाफा ५ करोड ८९ लाख रुपैयाँ छ। पछिल्लो ८ वर्षयता बैंकले निरन्तर लाभांश दिइरहेको छ। त्यसमध्ये सबैभन्दा कम लाभांश यसपाली घोषणा गरेको हो। बैंकले ३३ प्रतिशतसम्म लाभांश वितरण गरेको इतिहास छ। बैंकले तीन वर्षअघि ८० प्रतिशत हकप्रद सेयर वितरण गरेको थियो।