
काठमाडौं। नेपाल एसबीआइ बैंकले प्रमुख कार्यकारीका लागि एक वर्षमा एक करोड ७४ लाख ५९ हजार रुपैयाँ खर्चिएको छ। यद्यपि प्रमुख कार्यकारीसहित भारतबाट आएका कर्मचारीलाई स्टेट बैंक अफ इण्डियाले तलब दिन्छ।
यो भुक्तानी घरभाडा, अन्य भत्ता तथा सुविधाबापत दिइएको हो। यो सुविधा अनुकुल भटनागरले बुझेका हुन्। अहिले प्रमुख कार्यकारीमा दीपककुमार दे छन्। भटनागर भारत फिर्ता भइसकेका छन्।
बैंकले अन्य पदाधिकारीहरुलाई तलबभत्ता र अन्य सुविधाबापत एक वर्षमा ३ करोड १७ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ। बैंकले पुस २८ गते डाकेको वार्षिक साधारणसभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार, गत वर्ष कर्मचारीमा एक अर्ब ५४ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ।
बैंकले चालु वर्ष ६ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। यसबाहेक बैंकले ३.४७ प्रतिशत नगद लाभांश दिने छ। साधारणसभाले यो प्रस्ताव अनुमोदन गर्ने छ। नगद लाभांशबापत ३१ करोड ११ लाख रुपैयाँ बाहिरिने छ। बोनस सेयरका लागि बैंकको नाफाबाट ७३ करोड ७३ लाख रुपैयाँ पुँजीकरण हुने छ।
बैंकले साधारणसभामा मर्जर तथा प्राप्तिको एजेण्डा पनि राखेको छ। उपयुक्त पार्टनर भेटिए मर्जर तथा प्राप्तिमा जाने अख्तियारी साधारणसभाबाट सञ्चालक समितिमा दिने प्रस्ताव राखिएको छ।
बैंकको १० वर्षे इतिहासमा यसपाली घोषणा गरिएको लाभांश सबैभन्दा कम हो। गत वर्ष १६.८४ प्रतिशत दिएको थियो। बैंकले गत वर्ष ९८ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।