
काठमाडौं। स्ट्यान्डर्टर्ड चार्टर्ड बैंक नेपालले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक २ करोड ८७ लाख ५५ हजार रुपैयाँ पारिश्रमिक तथा भत्ता भुक्तानी गरेको छ।
बैंकले शुक्रबार डाकेको साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार, अन्य सुविधाबापत थप एक करोड १० लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ। यो गत वर्ष भुक्तानी गरेको रकम हो। बैंकले सञ्चालकहरुलाई भत्ता भनेर ६ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ। यो भत्ता स्वतन्त्र र साधारण सेयरधनीबाट निर्वाचित सञ्चालकले बुझेका हुन्।
बैंकले प्रमुख कार्यकारी अधिकृतलाई दिएको सुविधा कार्यकारी निर्देशक शिर्षकमा राखेको छ। बैंकमा कुल सेयरको २९.७९ प्रतिशत सेयर सर्वसाधारणको छ। बाँकी ७०.२१ प्रतिशत सेयर संस्थापक सेयरधनीको छ।
यसमध्ये पनि ४६.८१ प्रतिशत सेयर स्ट्यान्डर्ड चार्टर्ड ग्रिण्डलेज लिमिटेड अस्ट्रेलियाको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक युकेको २३.४ प्रतिशत सेयर छ।
प्रमुख कार्यकारी स्ट्यान्डर्ड चार्टर्ड ग्रुपले नियुक्त गर्ने भएकाले उनले यहाँ सञ्चालक समितिको पनि प्रतिनिधित्व गर्छन्। त्यसो हुँदा उनलाई कार्यकारी निर्देशक भनेर तोकिएको हुन्छ।
बैंकमा प्रियंका अग्रवाल, अभिनास अग्रवाल, कोमल अग्रवाल, शशी अग्रवाल र शंकरलाल अग्रवालको जनही ०.७ प्रतिशत सेयर छ। बैंकले गत वर्षको नाफाबाट ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमध्ये सात प्रतिशत बोनस सेयर हो। आजको साधारणसभाले यो पारित गर्ने छ। बैंकको कुल सम्पत्ति एक खर्ब १६ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी छ।
बैंकको अध्यक्षमा जितेन्द्र अरोरा छन् भने प्रमुख कार्यकारीको जिम्मेवारीमा अनिर्भन घोष दस्तिदार छन्। बैंकले एक अर्ब ९९ करोड रुपैयाँ खुद नाफा गरेको थियो।