लक्ष्मी बैंकको प्रमुख कार्यकारीको तलब भत्ता एक करोड नौ लाख, उच्च अधिकारीको ५ करोड ७५ लाख



२०७७ पुष २४ गते ११:३५ | Jan 8, 2021


लक्ष्मी बैंकको प्रमुख कार्यकारीको तलब भत्ता एक करोड नौ लाख, उच्च अधिकारीको ५ करोड ७५ लाख


Tata
Global Ime

काठमाडौं। लक्ष्मी बैंक लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा कुल पारिश्रमिक र भत्ताबापत एक करोड नौ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ। 

अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारीलाई एक करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको थियो। 

त्यसबेलाको लामो समय प्रमुख कार्यकारीका रूपमा सुदेश खालिङले काम गरेका थिए। त्यही वर्ष खालिङको कार्यकाल सकिएपछि प्रमुख कार्यकारीमा अजयविक्रम शाह नियुक्त भएका थिए। 

बैंकले पुस २८ गते डाकेको साधारणसभामा प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार, अन्य उच्च पदाधिकारीहरुलाई ५ करोड ७५ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको छ। 

वार्षिक प्रतिवेदन अनुसार, यो तलब सुविधा बाहेक बैंकका कर्मचारीहरुलाई कर्मचारी सेवा विनियमावली र कर्मचारी सेवा र सर्त अनुसार अन्य सुविधाहरु पनि उपलब्ध हुन्छ। 

बैंकको कार्यकारी समितिमा प्रमुख कार्यकारी अधिकृतसहित १२ जना सदस्य छन्। बैंकले गत वर्ष कर्मचारीमा कुल एक अर्ब २३ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। कार्यालय सञ्चालनमा ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ। 

बैंकले गत वर्षको नाफाबाट साढे २ प्रतिशतका दरले नगद लाभांश र ९ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। साधारणसभामा लाभांशको प्रस्ताव बैंकले प्रस्तुत गर्दैछ। बैंकले मर्जरको एजेण्डा पनि साधारणसभामा लैजाँदैछ।

बैंकले गत वर्ष एक अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको सेयर पुँजी ९ अर्ब ८१ करोड छ भने नेटवर्थ १३ अर्ब ९७ लाख रुपैयाँ छ।