कृषि विकास बैंकका प्रमुख कार्यकारीको वार्षिक तलब सुविधा ३९ लाख रुपैयाँ, मासिक अढाइ लाख तलब



२०७७ माघ ४ गते ११:२५ | Jan 17, 2021


Tata
Global Ime

काठमाडौं। कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई मासिक २ लाख ५० हजारका दरले तलब भत्ता भुक्तानी गरेको छ। यसबाहेक दसैं खर्चबापत थप २ लाख ५० हजार रुपैयाँ पनि भुक्तानी गरेको छ।

अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय छन्। सञ्चालक समितिले उनलाई औषधि उपचारबापत ५० दिनको तलब थप दिएको छ भने मासिक टेलफोन, मोबाइल शुल्कबापत २५ हजार पनि उपलब्ध गराउने गरेको छ। यो विवरण बैंकले पुस २९ गते साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।

बैंकले उनलाई सञ्चय कोषबापत एक महिनाको तलब सुविधा दिने छ। उनले तलब, दसैंभत्ता, औषधि उपचार खर्च र सञ्चय कोषबापत एक वर्षमा ३९ लाख १६ हजार रुपैयाँ बुझेका छन्। 

बैंकको गत वर्षको कुल कर्मचारी खर्च ३ अर्ब २ करोड ५४ लाख रुपैयाँ छ। अघिल्लो वर्ष खर्च २ अर्ब ९२ करोड थियो। अन्य सञ्चालन खर्च पनि ८७ करोड ६३ लाखबाट ९४ करोड २१ लाख पुगेको छ।

बैंकको साधारणसभाले १५ प्रतिशत बोनस सेयर पारित गरेको छ। ०.७८ प्रतिशत नगद लाभांश पारित गरेको छ । ननकन्भर्टिभल (अविमोच्य असञ्चिति) अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश पारित गरेको छ।