
काठमाडौं। नबिल बैंकले एकै पटक ८९ जना कर्मचारीहरुको माग गरेको छ। खुला प्रतिस्पर्धाबाट बैंकले कर्मचारी भर्ना गर्न लागेको हो।
बैंकले म्यानेजमेन्ट ट्रेनीमा १५ जना कर्मचारी माग गरेको छ। ट्रेनी असिस्टेन्ट भनेर ७४ जना माग गरेको छ। यसमध्ये ४ जना सूचनाप्रविधि (आइटी) तिर हो भने बाँकी ७० जना नियमित बैंकिङतिर हो।
माग गरिएका कर्मचारी सात वटै प्रदेशका लागि हुन्। म्यानेजमेन्ट ट्रेनीलाई एक वर्षपछि अधिकृत तहमा पदस्थापन गरिने छ। यसका लागि स्नातकोत्तर तहको शैक्षिक योग्यता हुनु अनिवार्य छ। खासगरी व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स, इन्जिनियरिङ आदि जेमा भए पनि स्नातकोत्तर गरेको हुनु पर्छ।
७० जना माग गरिएको ट्रेनि असिस्टेन्टमा आवेदन दिन स्नातक अनिवार्य छ। यसका लागि कुन विषय भनेर तोकिएको छैन। उमेर हद भने २५ वर्ष नाघेको हुनु हुँदैन।
चार जना माग गरिएको ट्रेनि असिस्टेन्टमा आवेदन दिन स्नातक हुनै पर्छ। यसमा भने विषय तोकिएको छ। आइटी/इन्जिनियरिङ पढेको हुनु पर्नेछ। अर्को ७ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ।
यता दुई निर्जीवन बीमा कम्पनीहरुले डेपुटी प्रमुख कार्यकारी अधिकृत माग गरेका छन्। एउटाले कम्पनीको नाम खुलाएको छ भने अर्कोले खुलाएको छैन। लुम्बिनी जनरल इन्स्योरेन्स र अर्को एक नाम नखुलाइएको कम्पनीले डेपुटी प्रमुख कार्यकारी माग गरेको हो।