सरकारले ६६० जना नयाँ भन्सार एजेण्ट थप्दै, उत्तीर्ण भएमा कुल ७ लाख ७३ हजार खर्च लाग्ने



२०७७ चैत्र १६ गते १०:०७ | Mar 29, 2021


सरकारले ६६० जना नयाँ भन्सार एजेण्ट थप्दै, उत्तीर्ण भएमा कुल ७ लाख ७३ हजार खर्च लाग्ने


Tata
Global Ime

काठमाडौं। लामो समयदेखि भन्सार एजेन्ट नथपेको सरकारले नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ। भन्सार विभागले भन्सार एजेन्ट इजाजतपत्र लिन इच्छुकका लागि अनलाइन दरखास्त आह्वान गरेको छ।

सरकारले ६६० जना भन्सार एजेन्ट नियुक्त गर्ने भएको छ। भन्सार एजेन्ट बन्नका लागि आवेदन दिन २१ वर्ष उमेर पुगेको हुनु पर्छ।

कम्तिमा स्नातक उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी तीन महिनाको आधारभूत तालिम लिएको हुनु पर्छ। सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको हुनु पर्छ भने फौजदारी अभियोगमा अदालतबाट कसुर प्रमाणित नभएको हुनु पर्नेछ।

आवेदन दिनेहरुको लिखित र मौखिक दुवै परीक्षा हुने छ। परिक्षा केन्द्र काठमाडौंमै हुने छ। दरखास्त दिँदा ३ हजार रुपैयाँ लाग्ने छ। दरखास्त वैशाख ५ गतेभित्र दिइसक्नु पर्छ। त्यसपछि दोब्बर दस्तुर तिरेर १२ गतेसम्म दिन सकिन्छ।

लिखित र मौखिक पास भएपछि नतिजा प्रकाशित भएको ९० दिनभित्र लाइसेन्सबापत ७ हजार र धरौटीबापत सात लाख रुपैयाँ भन्सार विभागलाई बुझाउनु पर्छ।